मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, भोलि १० बजेदेखी मतगणना

नेपालभ्युज

मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, भोलि १० बजेदेखी मतगणना

हेटौँडा। आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन मकवानपुरमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान कार्य साँझ ५ बजेसम्म भएको थियो।

मकवानपुरमा ५९ प्रतिशत मात्रै मत खसेको छ । जिल्लामा दुई वटा प्रतिनिधि सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाता रहेका छन्।

जसमा एक लाख ७८ हजार २८२ जनाले मतदान गरेका छन् । ९२ हजार ८७७, पुरुष ८५ हजार ४ सय जना र अन्य ५ जना गरी एक लाख ७८ हजार २८२ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताएका छन्।

जिल्लामा ३ सय ६४ वटा मतदान केन्द्रबाट आज मतदान भएको हो। मकवानपुरको क्षेत्र १ मा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका थिए।

त्यस्तै, क्षेत्र २ मा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ। मकवानपुरमा स्थानीय तहको चुनावमा जस्तो मतदाताहरूमा उत्साह भने देखिएको छैन।

गएको स्थानीय तहको चुनावमा भन्दा कम मात्र मत खसेको मतदान अधिकृतहरूले बताएका छन्। स्थानीय तहको चुनावमा मकवानपुरमा ६५ प्रतिशत मत खसेको थियो। २०७४ को निर्वाचनमा समेत मकवानपुरबाट ६५ प्रतिशत खसेको थियो।

मकवानपुरमा मतगणना भने सोमबार बिहान १० बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत निरौलाले बताएका छन्। राती अबेरसम्म जिल्लाका मतपेटिकाहरू संकलन भइरहेको छ। सोमबार सर्वदलीय बैठक बसी मतगणना सुरु गरिने उनले बताए।

मतगणना हेटौँडा –२ स्थित सिद्धार्थ माविमा हुने भएको छ। सिद्धार्थ माविमा रहेको मतगणना स्थलमा तार जाली र सिसि क्यामरा जडान गरिएको छ।

त्यस्तै मकवानपुर प्रहरीले नेकपा बहुमतका मकवानपुर इन्चार्ज ४१ वर्षीय रवि खड्कासहित ७ जनालाई पक्राउ गरेको छ।
निर्वाचन विरोधी गतिविधि गर्न खोजेको आरोपमा हेटौँडा–१० बसपार्कबाट खड्का सहित ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved