खेरसनबाट सेना फिर्ता गर्ने रुसको निर्णय, युक्रेनमा रुसले ठूलो हार बेहोरेको पश्चिमा देशको दाबी

युद्ध सुरु भएदेखि खेरसनमा निकै बलियो अवस्थामा रहँदै सहर नै कब्जा गरेको रुसले एकाएक सेनालाई फिर्ता हुन आदेश दिनुलाई निकै महत्वका साथ हेरिएको छ ।

नेपालभ्युज

खेरसनबाट सेना फिर्ता गर्ने रुसको निर्णय, युक्रेनमा रुसले ठूलो हार बेहोरेको पश्चिमा देशको दाबी
फाइल फोटो

कीभ ।  युक्रेनले जवाफी कारबाहि बढाएपछि रुसले र दक्षिणी युक्रेनको खेरसन सहरबाट आफ्ना सेनालाई फिर्ता हुन् आदेश दिएको छ। युद्ध सुरु भएदेखि खेरसनमा निकै बलियो अवस्थामा रहँदै सहर नै कब्जा गरेको रुसले एकाएक सेनालाई फिर्ता हुन आदेश दिनुलाई निकै महत्वका साथ हेरिएको छ ।

“कारण जे भएपनि सेना फिर्ता गर्न सुरु गर्नुहोस्,” रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनमा रुसी कमाण्डर सर्गेई सुरोभिकिनसँगको टेलिभिजन बैठकमा भनेका छन्। कमाण्डरले खेरसन सहरबाट सेना फिर्ता लिने र डिनिप्रो नदीको पूर्वी किनारमा प्रतिरक्षा स्थापना गर्ने प्रस्ताव गरेका थिए।

खेरसन सहर रूसले आफ्नो विशेष सैन्य अपरेशनको समयमा कब्जा गरेको पहिलो सहरी केन्द्र थियो । यस्तै फेब्रुअरी २४ मा आक्रमण सुरु भएदेखि अहिलेसम्म रुस नियन्त्रित एक मात्र क्षेत्रीय राजधानी थियो।

पश्चिमा देश र सञ्चारमाध्यमले सेना फिर्ता गर्ने कदमलाई रुसको ठूलो हार र धक्काको रुपमा वर्णन गरेका छन् । युक्रेनका अधिकारीहरूले भने थुप्रै सहरमा रुसी सेना दयनीय अवस्थामा पुगेको तर खेरसनमा उनिहरुले फिर्ता हुने बहाना गरेर अर्को नाटक रचेको हुन सक्ने शंका गरेका छन् । यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी सेना हट्नु भनेको मस्कोको युद्धको मैदानमा वास्तविक समस्याहरू रहेको प्रमाण भएको बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले एउटा निर्णय गरेर काम अर्कै गर्ने भएकाले उसको निर्णयलाई धेरै वास्ता नगरी आफ्नो लक्ष्यमा अघि बढ्न सेनालाई निर्देशन दिएका छन् ।  “शत्रुले हामीलाई उपहार दिँदैन, ‘सद्भावना पनि दिँदैन । हामीले गुमाएका सबै भूमि फिर्ता गर्नुपर्छ,” जेलेन्स्कीले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved