प्रधानमन्त्री कप : सुदूरपश्चिमको पहिलो जित

नेपालभ्युज

प्रधानमन्त्री कप : सुदूरपश्चिमको पहिलो जित

काठमाडौं। नारायण जोशीको चार विकेटप्रेरित सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध पाँच विकेटको जित निकालेको छ। समूह चरणको अन्तिम खेलसम्म जितविहीन रहेको सुदूरपश्चिमको यो पहिलो जित हो।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले ३८.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय ५० रनको योगफल तयार गरेको थियो। दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २९.४ ओभरमा पाँच विकेट गुमाएर एक सय ५५ रनसहित लक्ष्य पूरा गर्‍यो।

सुदूरपश्चिमका लागि ओपनर गजेन्द्र बोहराले ५१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४१ रनको योगदान गरे। त्यस्तै सुदूरपश्चिमका लागि ३३ बल सामना गरेका शेर मल्लले तीन चौका र तीन छक्कासहित अविजित ३४ रनको योगदान गरे।

कप्तान राजु रिजाल २९ बलमा चार चौका र एक छक्कासहित अविजित २४ रनको योगदान गरे। बलिङतर्फ कर्णालीका लागि रविन्द्र शाहीले सर्वाधिक तीन तथा दिवान पुनले दुई विकेट लिएका थिए।

त्यसअघि ब्याटिङ गरेको कर्णालीका लागि ९६ बलको सामना गरेका अर्नुन घर्तिले चार चौका र पाँच छक्कासहित ७० रनको अर्धशतकीय इनिङ खेलेका थिए। सुवाष ऐरले २४ तथा हिमान्सु शाहीले १२ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ सुदूरपश्चिमका लागि नारायणले ५.१ ओभरमा १६ रन खर्चेर सर्वाधिक चार विकेट लिए। त्यस्तै हेमन्त धामीले तीन, गजेन्द्रले दुई तथा मिलन बोहराले एक विकेट लिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved