कैलाली-४मा दुई पूर्वमन्त्रीको भिडन्त : बलायर ढुक्क, भट्टलाई कांग्रेसका असन्तुष्टको आस

डोटी एकीकृत समाजवादीको भागमा परेपछि बलायर कैलाली–४ मा झरे । उनको आगमनले केलालीबाट टिकटका आकांक्षी रहेका कांग्रेसका कतिपय नेता असन्तुष्ट छन् । एमालेका भट्ट कांग्रेसको त्यही असन्तुष्टिको फाइदा उठाएर जित निकाल्ने दाउमा छन् ।

नेपालभ्युज

कैलाली-४मा दुई पूर्वमन्त्रीको भिडन्त : बलायर ढुक्क, भट्टलाई कांग्रेसका असन्तुष्टको आस

धनगढी । कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क देखिएका छन् । त्यसको कारण हो स्थानीय तहको निर्वाचनमा पाएको मत ।

आसन्न चुनावमा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट प्रत्याशी बनेका कांग्रेस सुदूरपश्चिम सभापति बलायरलाई एमालेका लेखराज भट्टले टक्कर दिइरहेका छन् ।

पूर्व मन्त्रीसमेत रहेका बलायर २०७४ को निर्वाचनमा डोटीबाट चुनाव लडेका थिए । उनी त्यहाँ वाम गठबन्धनका तर्फबाट उठेका एमालेका प्रत्याशी प्रेम आलेमगरसँग १६ सय मतान्तरले पराजित भएका थिए । यसपालि पनि उनी डोटीबाट लड्न चाहन्थे । तर, सत्ता गठबन्धनको भागबण्डामा डोटी एकीकृत समाजवादीले पायो ।

त्यसपछि बलायर कैलाली–४ मा झरे । उनको आगमनले केलालीबाट टिकटका आकांक्षी रहेका कांग्रेसका कतिपय नेता असन्तुष्ट छन् । तर बलायर भने आफू आउँदा कोही नेता/ कार्यकर्ता असन्तुष्ट नरहेको दाबी गर्छन् । कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रभावशाली नेता सुनीलकुमार भण्डारी, डा लक्ष्मीराज पाठक, टेकराज जोशी, प्रकाशबहादुर बम लगायतका नेता यो क्षेत्रबाट टिकटका आकाङक्षी थिए ।

बलायरलाई कैलाली–४ बाट टिकट दिएपछि कांग्रेसमा देखिएको असन्तुष्टिको फाइदा लिने दाउमा एमालेका प्रत्याशी भट्ट देखिन्छन् । जिल्लाको गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, चुरेगाउँपालिका र मोहन्याल गाउँपालिकाको एउटा वडा समेटिएको यो क्षेत्रमा एक लाख १० हजार चार सय ५३ मतदाता छन् ।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस बलियो छ । उसले करिब २३ हजार पाएको थियो । सत्ता गठबन्धनका अन्य दलको मत पनि यहाँ उल्लेख्य छ । माओवादी केन्द्रका वडाध्यक्षले नौ हजार तीन सय ४२, एकीकृत समाजवादीका वडा अध्यक्षले तीन हजार सात सय चार मत पाएका थिए ।

नेकपा एमालेका वडाध्यक्षले भने २० हजार ८० मत पाएका थिए । यसरी हेर्दा सत्ता गठबन्धनको मत झण्डै ३६ हजार छ । जुन एमालेको भन्दा १६ हजार बढी हो । तर, स्थानीय चुनावको मतको अब अर्थ नहुने एमालेका नेताहरूको तर्क छ । एमाले सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत र केन्द्रीय सचिवसमेत रहेका लेखराज भट्ट यो क्षेत्रबाट चौथोपटक चुनावी मैदानमा छन् ।

उनी यसअघि २०६४ को पहिलो संविधानसभा २०७० को दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । तर, दुई संविधानसभाको चुनावमा यो क्षेत्र नम्बर पाँच थियो । संविधान बनेपछि उनी २०७४ को चुनावमा यो क्षेत्र नम्बर ४ बन्यो । भट्टले यही क्षेत्रबाट लगातार तेस्रो जित निकाले । र मन्त्री पनि बने ।

सुदूरपश्चिम प्रदेशमा विगतमा माओवादीका प्रभावशाली नेता मानिएका भट्ट प्रदेशको इन्चार्जसमेत थिए । तर, उनी डेढ वर्षअघि एमालेमा प्रवेश गरे । उनले माओवादीबाट उम्मेदवार बनि २०७४ सालमा कांग्रेस नेता सुनीलकुमार भण्डारीलाई झण्डै ९ हजार मतान्तरले हराएका थिए ।

यो क्षेत्रका मुख्य मुद्दामा गेटा मेडिकल कलेज सञ्चालन, प्रदेश राजधानीका संरचना स्थापना, बाटोघाटो, खानेपानी, तटबन्धनलगायत छन् । अहिले दुवै उम्मेदवारले यसैलाई प्राथमिकतामा राखेको बताएका छन् ।

यो क्षेत्रबाट नागरिक उन्मुक्तिबाट कइँया चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउद, राप्रपाका जयबहादुर साउद लगायतका उम्मेदवार पनि छन् । तर, मुख्य प्रतिस्पर्धा भने बलायर र भट्टकै बीचमा हुने अनुमान गरिएको छ ।

स्थानीय तहको मतका आधारमा बलायर निकै अगाडि देखिन्छन् । तर, पार्टीभित्रको विवाद उनका लागि मुख्य चुनौती हो । तीन पटक सांसद चुनिएर पनि उक्त क्षेत्रमा खासै ध्यान नदिएको भट्टमाथि आरोप लाग्ने गरेको छ । त्यसको फाइदा भने बलायरले उठाउन सक्छन् ।

समग्रमा यो क्षेत्रबाट दुवै बलिया उम्मेदवार हुन् । स्थानीय तहकै अनुसार मत खस्यो भने बलायर सहजै विजयी हुनेछन्। कांग्रेसभित्रको असन्तुष्टि कत्तिको चर्कन्छ र त्यसको फाइदा एमालेले कति उठाउन सक्छ भन्नेले नै भट्टको भविष्य निर्धारण हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved