एमालेका पूर्व स्वास्थ्यमन्त्रीको क्षेत्रमा यस्तो छ चुनावी प्रतिस्पर्धा

कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा आलोचित भएका नेता ढकाल र विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने शर्माको बिचमा अभिनेत्री रेखा थापा पनि मिसिएपछि प्रतिस्पर्धा चाखलाग्दो बनेको छ । 

नेपालभ्युज

एमालेका पूर्व स्वास्थ्यमन्त्रीको क्षेत्रमा यस्तो छ चुनावी प्रतिस्पर्धा

काठमाडौंः नेकपा एमालेका १ सय ४१ उम्मेदवारमध्ये तीनजना पूर्व स्वास्थ्यमन्त्री र एकजना पूर्व राज्यमन्त्री छन् । भानुभक्त ढकाल, शेरबहादुर तामाङ, खगराज अधिकारी र पद्मा अर्याल । एमालेबाट स्वास्थ्यमन्त्री बनिसकेकाहरुको प्रतिस्पर्धा मुख्यतया कांग्रेसकै उम्मेदवारसँग देखिएको छ ।

भानुभक्त ढकाल

पूर्व स्वास्थ्यमन्त्री एवं नेकपा एमालेका नेता भानुभक्त ढकाल मोरङ क्षेत्र नम्बर ३ बाट उठेका छन् । उनीसँग स्वास्थ्य व्यवसायी समेत रहेका नेपाली कांग्रेसका नेता सुनिल शर्मा चुनावी मैदानमा छन् ।

यस्तै राप्रपाबाट अभिनेतृ रेखा थापा पनि प्रतिस्पर्धामा छिन् । कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद प्रकरणमा आलोचित भएका नेता ढकाल र विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने शर्माको बिचमा अभिनेत्री रेखा थापा पनि मिसिएपछि प्रतिस्पर्धा चाखलाग्दो बनेको छ ।

स्वास्थ्य मन्त्री हुँदा मेडिकल सामग्री खरिदमा अनियमितता भएको भन्दै ढकाललाई संसदको सार्वजनिक लेखा समितिले कारबाही गर्न सिफारिस समेत गरेको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसमा कुनै छानबिन अघि बढाएन ।

यता शर्माको भने काठमाडौं मेडिकल कलेज, नोवेल मेडिकल कलेज लगायतका संंस्थामा लगानी छ । ढकालले २०७४ को निर्वाचनमा शर्मालाई नै हराएका थिए ।

स्थानीय चुनावमा मोरङ ३ मा एमालेले ३७ हजार ४१०, कांग्रेसले ३६ हजार ९१६, माओवादी केन्द्रले ७३ हजार ७३, राप्रपाले २ हजार १२१, नेकपा एकीकृत समाजवादीले १ हजार ८५५ र जसपाले ४ सय ६३ मत पाएका थिए । यो निर्वाचन क्षेत्रमा राप्रपाको मत कम भए पनि रेखालाई बलियो उम्मेदवार मानिएको छ ।

शेरबहादुर तामाङ

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा यसपटक नेपाली कांग्रेस र नेकपा एमालेको बीचमा कडा प्रतिस्पर्धा छ । पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ र नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतबीच यहाँ भिडन्त हुँदैछ । एमाले विभाजनको समयमा माधव नेपालतिर जाँदै फेरि एमालेमा फर्किँदै कार्यालय सचिवसम्म भएर अध्यक्ष केपी शर्मा ओली निकट भएका तामाङ ह्याट्रिक गर्ने दाउमा छन् ।

तर यसमा कांग्रेसका बस्नेत उनका लागि फलामको च्युरा जस्तै बनेका छन् । बस्नेतको क्षेत्र सिन्धुपाल्चोक १ भए पनि उक्त क्षेत्र उनले सत्ता गठबन्धनको भागबन्डाका कारण छोड्नु परेपछि २ मा सरेका थिए । ०४८ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका उनले ०५१ मा टिकट नै पाएनन्। ०५६ मा टिकट पाएका बस्नेत बोहरालाई नै हराएर सांसद बने। ०६४ मा टिकट त पाए, तर चुनाव जित्न सकेनन्।

०७० मा टिकट पाएर चुनाव जितेका बस्नेत मन्त्रीसमेत भए। २०७४ मा भने उनले चुनाव हारेका थिए ।

यता नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका तामाङ २०७० मा सिन्धुपाल्चोक ३ र ०७४ मा क्षेत्र घटेपछि क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । यसअघि ०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका दावा तामाङसँग ९८ मतले पराजित भएका थिए ।

क्षेत्र नम्बर २ मा स्थानीय तहको परिणाम हेर्दा एमाले पहिलो दल हो । तर सत्ता गठबन्धनका कारण कांग्रेसका उम्मेदवार बलियो देखिन्छन् । स्थानीय चुनावमा एमालेका वडाध्यक्षले पाएको कुल मत ३१ हजार ७७६ छ । नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरुले २९ हजार ३०२ मत पाएका छन्। त्यस्तै नेकपा माओवादी केन्द्रले १६ हजार ७९, राप्रपाले ५ हजार ९३२ र नेकपा एकीकृत समाजवादीका वडाध्यक्षले १ हजार ६६३ मत पाएका थिए।

सत्ता गठबन्धनको मत जोड्दा ४७ हजार ४४ हुन्छ । कतिपय क्षेत्रमा एमालेसँग तालमेल गरेको राप्रपाले यहाँ भने उम्मेदवारी दिएको छ । त्यसैले यसटक तामाङलाई सहज नहुने विष्लेषण गरिएको छ ।

खगराज अधिकारी

कास्की क्षेत्र नम्बर १ को ’क’ बाट उठ्दै छन्, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी। नेकपा एमालेका नेता अधिकारी यसअघि प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। २०७४ सालको चुनावमा कास्की १ बाट चुनावी मैदानमा उत्रेका अधिकारीले कांग्रेसका यज्ञ बहादुर थापालाई  हराएका थिए। यसपटक भने मुख्यमन्त्री बन्ने भन्दै प्रदेश सभामा उम्मेदवारी दिएका छन् ।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका एमाले उप–महासचिव पृथ्वीसुब्बा गुरुङलाई पार्टीले संघमा टिकट दिएको छ । अधिकारीलाई मुख्यमन्त्री बनाउने भन्दै प्रदेशमा लगिएको छ ।

पद्मा अर्याल

पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्यालले स्याङजा २ बाट उम्मेदवारी दिएकी छिन्। यो क्षेत्रमा कांग्रेस उपसभापति धनराज गुरुङ उनका प्रतिस्पर्धी छन् । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता एवम् बहालवाला उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गरी अर्याल चर्चित बनेकी थिइन ।

गुरुङ २०६४ र २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका थिए । त्यसयता प्रत्यक्षबाट चुनाव लड्ने अवसर मिलेको थिएन। एमालेको सचिवको जिम्मेवारीमा रहेकी पद्मा र कांग्रेसको उपसभापतिको जिम्मेवारीमा रहेका धनराजमा कसले बाजी मार्ला सर्वत्र चासो छ । दुवै हेभिवेट उम्मेदवार भएका कारण पनि प्रतिस्पर्धा पेचिलो भएको छ ।

नेपाली कांग्रेसले स्याङ्जालाई आफ्नो किल्ला मान्ने गरेको थियो । तर, २०७४ को निर्वाचनमा कांग्रेस नराम्रोसँग पराजित भयो । प्रतिनिधिसभाका दुवै क्षेत्रमा एमाले विजयी भयो । तर, पाँच वर्षको पछिल्लो अवधिमा स्याङ्जाको राजनीतिक समीकरणमा निकै फेरबदल आएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन हेर्दा एमालेभन्दा कांग्रेस बलियो देखिन्छ । स्थानीय तहको चुनावमा स्याङ्जा–२ भित्र पर्ने ४५ वडामध्ये कांग्रेसले २५ वडा जितेको छ भने एमाले २० वडामा सीमित भएको छ । कांग्रेसले ३६ हजार ८ सय ६ मत पाउँदा एमालेले ३४ हजार ८ सय ९ मत पाएको छ ।

सत्ता गठबन्धनका कारण माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत कांग्रेस उम्मेदवारलाई प्राप्त हुनेछ । अघिल्लो पटक वाम गठबन्धनका कारण सहज रुपमा जितेकी पद्मालाई यसपटक भने चुनाव जित्न अनेकौं चुनौती छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved