प्रिय कथा

राप

मेरो टाउको भनन घुम्यो। साँढे दुई वर्षसम्म भेडा हेरेर कमाएको सबै पैसा पनि चिलिम पारी। र, मेरो मुखबाट एक्कासि निस्कियो, ‘थुक्क पातकी ! लोग्ने मान्छेको भाग्य र स्त्रीको चरित्र भगवान्ले पनि थाहा पाउँदैन भन्थे वास्तविक रहेछ।’ त्यसपछि मैले के गरेँ, कसो गरेँ केही थाहा पाइनँ। बिहान सविनाको लोग्नेले चियाको गिलास दिँदा पो त्यही घरको कोठामा रहेछु।

राप

(रचनागर्भ– वैदेशिक रोजगारीले नेपाली अर्थतन्त्र र आर्थिक जीवनमा सकारात्मक प्रभाव पारे पनि पारिवारिक बेमेल र वैवाहिक सम्बन्ध भत्कने क्रम बढिरहेको छ। गाउँका दूरदराजबाट भएभरको खेतबारी बन्धकी राखेर वा बिक्री गरेर युवाहरू विदेश जान्छन्। घरमा बिहे गरेर भित्र्याएका श्रीमती लोग्नेले ताता घाममा पसिना बगाई कमाएर पठाएको पैसाले मोजमस्ती गरी परपुरुषसँग बिहे गर्ने र विदेशबाट फर्कँदा सम्पत्ति र श्रीमती दुवै गुमाउनुपर्ने वर्तमान सामाजिक समस्यालाई कथ्य बनाइ लेखिएको कथा हो। जुन परिवेश र वातावरण आफू जन्मिएको गाउँठाउँको भए पनि कथाको कथ्य वर्तमान समयको रोजगारीको लागि विदेश गएर फर्किएका केही व्यक्तिहरूको वैवाहिक जीवन उजाड भएको विषयसँग मेल खाने गरी लेखिएको हो।)
००

भुमेस्थानको चौताराको सिँढीमा बसेर म दुधकोसीतिर हेरिरहेको थिएँ। चौतारोमुनि हातिबारका झ्याम्टा लहरै थिए। त्यसमुनि तल कहाँ हो कहाँ दुधकोसी सललल बगिरहेको देखिन्थ्यो। नदीको वारिपारि सेतै गडतीर र केहीमाथि हरियो जङ्गल थियो।

रजिना टकटक चप्पल बजार्दै आई। वरको चौतारो छेउमा उभिएर उसले पारितिर हेरी। धुल्पुरे र सल्लेमा घाम टन्टलापुर लागेका थिए। ऊ हातमा किताब बोकेर उभिएकी उभियै भई। सायद उसले मसँग बोल्न खोजेकी थिई र अलि डराएजसरी भनी, ‘के हेर्दैछौ अजय उँधो फर्किएर ?’ उसले मलाई झस्काउन खोजी तर ऊ आएको मैले पहिले नै थाहा पाइसकेको थिएँ। म अलि लज्जालु थिएँ। केटी देख्ने बित्तिकै म लाजले भुतुक्क हुन्थेँ।

एक दिन म सिंहदेवीस्थान नजिकैबाट विद्यालय जाँदै थिएँ। रजिना र उसका साथीहरू वरको चौतारोको सिँढीमा बसेका रहेछन्। उनीहरू छिल्लिएर खै के के कुरा गरिरहेका थिए। मलाई देखेर गिल्ला गरेका होलान् भन्ने सोचेर म वरपीपल फेदको देवीथानलाई घुमेर विद्यालयतिर झरेँ। म अलि तल पुग्नै लाग्दा रजिनाले हाँसेर बोलाई, ‘अजय, किन तिमी त्यताबाट गएको ? हामी अगाडिबाटै गएको भए पनि तिमीलाई खाँदैन थियौँ त ?’ केटीहरू गलल्ल हाँसे।

‘के सारो डराको हो यो अजय ! बिहे गरेको भए छोराछोरी जन्मन्थे। लजाएर तर्कीतर्की हिँड्छ बजिया’ अरूभन्दा अलि जेठी नै होली घुँडामुनि पुगेको फ्रक तानेर देवकी बोली।

‘हैन देवकी के गरेकी है ? साह्रै मन परायौ कि कसो अजयलाई ?’ सुन्नीमाले छिल्लिँदै भनी। ‘के गर्नु त मोरी हो सत्र वर्ष काटिसकिएछ। कोही केटा आँखा लगाउँदैनन्।’ देवकी खित्का छोडेर हाँसी।

रजिना मौन थिई। उसले मलाई काभ्रोको फेदबाट ओरालो झर्दासम्मै हेर्दै थिई। देवकीले मलाई जिस्काएकोमा रजिनाको अनुहार अलि ओझेल परेको पहाडझैँ भएको थियो। उसले देवकीलाई जिस्काएर भनी, ‘के हो दिदी, अजयलाई मन पराएउकीे कि कसो ? तिमीभन्दा त ऊ सानै उमेरको होला है। धेर आँखा नलगाऊ।’

‘होइन के हो मोरी ? मैले मन पराउँदा तँलाई के पिर पर्‍याे ? कि क्यै छ ?’ देवकी जिस्कँदै डिलको चिप्लेटी ढुङ्गाबाट आफ्नो झोला बोकेर अरूलाई हिँड्न इसारा गरी।

‘मन पराएर मात्र हुन्छ र दिदी ? हामीभन्दा तल्लै क्लासमा छ ऊ। तर उसको आनीबानी त राम्रै लाग्छ हौ दिदी।’ रजिना अलिकति मुस्कुराई र झोला बोकेर साथीसँगै स्कुल लागी।

 

उसले देवकीलाई जिस्काएर भनी, ‘के हो दिदी, अजयलाई मन पराएउकीे कि कसो ? तिमीभन्दा त ऊ सानै उमेरको होला है। धेर आँखा नलगाऊ।’

 

सिंहदेवीस्थान चौतारो ठुलो नभए पनि वर र पीपलको ठुलै रुख छ। तर अचेल त मन्दिर पनि बनिसक्यो क्यार ! बडेमानका वरपीपलको रुख वरिपरिका हाँगा परपर पुगेका र बारीका आधा गरा सधैँ सेपले ढाकेको हुन्छ। त्यहाँ वरको फेद जरैजराले ढाकेको र पत्रैपत्रका प्वाल र खोपा छन्। हामी स्कुल जाँदा वा फर्कँदा कहिलेकाहीँ फेदका जरा छेउमा स्थापना गरेका थान र लहरै गाडेका त्रिशूलमा फूल चुँडेर चढाउँथ्यौँ। पैसा त हामीसँग कहाँ हुनु र चढाउने ? बाटोमा भेटेका फूल र चुँडेका पात चढाएर दुई हात जोड्नु नै हाम्रो सिंहदेवीको आस्था प्रकट गर्नु थियो।

मभन्दा रजिना एक क्लास सिनियर थिई। उसको पढाइ ठीकै थियो। ऊ गाउँकी धनी बाउकी छोरी हो। आफू त गरिब किसानको छोरो परियो। अर्काकै बनिबुतो गरेर खानुपर्छ। उसको त सम्पत्ति के कम ? खेतीपाती अरूलाई नै अधियामा कमाउन दिएको छ। उनका एक जना दाजु तराईतिर कता हो सुब्बाको जागिर खान्छन् रे। एउटा दाजु गाउँकै मास्टर। ऊ बाउकी एक्ली छोरी।

टेस्ट आउनै लागेको थियो। म नौ कक्षामा पढ्थेँ। ऊ दस कक्षामा पढ्थी। एक दिन सिंहदेवीस्थानभन्दा अलिमाथि बाटो छेउमा रहेको बेलको रुख नजिक उक्लनै लाग्दा ऊ शीतल पिएर एक्लै बसिरहेकी रहिछ। सायद भोलि उसको म्याथको परीक्षा हुनुपर्छ। म म्याथमा अब्बल र कक्षाको प्रथम विद्यार्थी भएकाले दस कक्षाका धेरै हिसाब सिकिसकेको थिएँ। मेरो पढाइप्रतिको अब्बलता उसलाई पुरै थाहा थियो। स्कुलमा हुने प्रत्येक प्रतियोगितामा मैले पुरस्कार नजितेको दिन कहिल्यै हुँदैनथ्यो। त्यही भएर ऊ मप्रति पूर्ण जानकारी थिई।

म त्यहाँ पुग्ने बित्तिकै लाजै नभई मेरा आँखामा आँखा जुधाएर भनी, ‘अजय, आउन यहाँ बस। एकछिनपछि सँगसँगै जाउँला हुन्न ?’

म लजाएर उसलाई हेरेँ, ऊ त नलजाई मलाई नै घुरेर हेरिरहेकी थिई। ‘के हेरेकी रजिना खाउँला झैँ गरेर ?’ मैले झस्काएँ।

‘के हेर्नै नहुने तिमीलाई ?’ खित्का छोडेर हाँस्दै भनी। ‘मन परेर हेरेको नि तिमीलाई ?’

‘यस्ता कुरा नगर है रजिना ? पढ्नतिर मन लगाऊ ?’ मैले हिँड्दै भनेँ। उसले मेरो हात च्याप्प समाएर भनी, ‘मलाई एउटा हिसाब सिकाइ देउन अजय। मेरो भोलि परीक्षा छ। तिमीलाई आउँछ।’

उसले मेरो हात समाउँदा मलाई करेन्ट लागेझैँ भएको थियो। मेरो हात आजसम्म कुनै केटीले समाएका थिएनन्। एकमनले त हात फुत्काएर हिँडौँ कि भन्ने लाग्यो। तर एकमनले सोचेँ, मैले आफूभन्दा सिनियरलाई सिकाउनु पनि त क्षमताको प्रदर्शन हो। त्यही भएर हात तानेर भने, ‘भै गो नि त ! सिकाउँला सिकाउँला।’

उसलाई मैले हिसाब सिकाइदिएँ। कलम दिँदा र कपी पल्टाउँदा धेरै पटक मेरो हात उसले छोई। मैले तीनओटा हिसाब सिकाइदिएपछि कापी, कलम झोलामा हालेर झोलाको पछाडिपट्टि सिउरेको डटपेन मलाई दिँदै भनी, ‘राम्रो पढ है अजय। एक दिन ठुलै मान्छे बन्नुपर्छ।’ त्यसो भन्दाभन्दै आफ्नो झोला भिरी र मेरो झोला भुईँबाट टिपेर मलाई दिँदै हिँड्ने संकेत गरी।

स्कुल जाने र आउने क्रम त चलिनै रहेको थियो। उसले टेस्ट परीक्षा दिई र पास पनि भई। एस. एल. सी. मा भने ऊ कम्पार्टमा परी।

पौषको अन्तिम दिन थियो त्यो। प्रत्येक माघे सङ्क्रान्तीका दिन रभुवामा ठुलै बजार लाग्थ्यो। हामी बिहानै रभुवा बजार भरेर साँझ फर्कन सकिने थियो। माघे सङ्क्रान्तीकोे अघिल्लो दिन रजिनाले मलाई भनी, ‘पल्लो घरका काका र पुछार घरकी भाउजू पनि माघे सङ्क्रान्ति बजार जाने रे। मलाई पनि जा भन्नुभएको छ बाबाले। तिमी पनि जाउँ है अजय ?’ उसले मलाई पनि जान अनुरोध गरी। मैले उसको अनुरोध नमान्ने कुरै भएन। त्यसमाथि रजिना र म एस. एल. सी. पढ्दादेखि नै नजिक भएका थियौँ। अष्टमीका दिन सिरिसे डाँडामा रोटेपिङ खेल्न गएको दिन त उसले मेरो हात समाएरै भनेकी थिई, ‘अजय, मेरो मनमा तिम्रो माया कसरी भरियो भरियो ? के गरी पोखिन नदिने होला ? केही न केही आइडिया निकाल यार !’

‘तिमी जस्ती धनीकी छोरीले मजस्तो कङ्गालसँग माया गरेर कुटाइ खानु सिवाय के होला र रजिना ? यो मायालाई न तिम्रो परिवारले मान्छ न मेरो। मेरो मनमा पनि तिमी कसरीकसरी बसिसक्यौ सक्यौ।’ मैले हावाले हल्लिएको रजिनाको कपाल छुँदै भनेको थिएँ तर उसले तुरुन्त प्रतिक्रिया जनाई, ‘तिमी जत्तिको अब्बल केटो को छ यो गाउँ र हामै स्कुलमा ? तिम्रो त्यो क्षमताले आफूलाई जहाँ पनि उभ्याउन सक्छ।’ सायद हाम्रो जोडी बाँधियो भने धनी र गरिबको असमानताबिच जिन्दगी चलाउन सकिन्छ भन्ने लागेर त्यसो भनेकी हुनुपर्छ।

यो मात्र हाम्रो भेट थिएन। हामीले पटकपटक भेटेर सँगै बाँच्ने र मर्ने कसम खाएका थियौँ।

 

हामी बिहानै रभुवा बजार गयौँ। रभुवा पारि धुसेनी वरि डाँडाको वरपीपल चौतारोमा बिसाउँदा उसले मलाई गम्ल्याङ्ग अँगालो हालेर भनी, ‘अजय अब म तिमीविना बाँच्नै नसक्ने भएँ। बचाउने कुनै आइडिया निकाल न।’

‘तिमी धनी बाउकी छोरी हौ। म अर्काको बनी गरेर खाने तन्दुराम ! के हाम्रो बिहे होला भन्ने तिमीले सोचेकी छ्यौ ? मैले त एक प्रतिशत पनि सोचको छुइनँ।’

उसले मलाई अँगालोबाट हटाई र आँखा तरेर भनी, ‘हुतिहारा ! यत्रो क्षमता भएर पनि किन डराएको ? माया भन्ने कुराले धनी र गरिब केही भन्दो रहेनछ। गरिब पनि भोलि धनी हुनसक्छ। गाउँमै त बुवाआमाले कहाँ बिहे गर्न दिनुहुन्छ र ? तर भागेर कतै टाढा जानुपर्छ र सुन्दर संसार बसाउनुपर्छ।’

असारको दिन एस.एल.सी.को रिजल्ट आयो। रजिना कम्पार्टबाट पास भई। म प्रथम श्रेणीमा उत्तीर्ण भएँ। त्यो खुसीले मेरो आत्मबल उच्च बढेको थियो। म प्रथम श्रेणीमा पास भएको थाहा पाएर रजिनाका बाबुआमा र दाजुले समेत मलाई बधाई दिएका थिए। मेरा आमाबाबुले त बधाई दिएर कति खुसी भएभए म कसरी व्यक्त गरौँ।

 

भदौको दिन हुनुपर्छ, रजिनाले मलाई सुटुक्क भनी, ‘मेरो बिहे यही मंसिरमा गरिदिने रे। टारको केटो हेर्न आएको थियो। ऊ धरानमा आई. ए. पढ्दै छ रे। घरपरिवार खान्दान। बाबुको एक्लो छोरो। मंसिरमै कुरा छिनेर बिहे गरिदिने भन्ने कुरा भएको छ। अब के गर्ने होला ? त्यसबिचमा केही आइडिया निकाल है अजय ?’ उसले मलाई सहयोग गर्न र सोच्न भनेकी थिई।

 

भदौको दिन हुनुपर्छ, रजिनाले मलाई सुटुक्क भनी, ‘मेरो बिहे यही मंसिरमा गरिदिने रे। टारको केटो हेर्न आएको थियो। ऊ धरानमा आई. ए. पढ्दै छ रे। घरपरिवार खान्दान। बाबुको एक्लो छोरो। मंसिरमै कुरा छिनेर बिहे गरिदिने भन्ने कुरा भएको छ। अब के गर्ने होला ? त्यसबिचमा केही आइडिया निकाल है अजय ?’ उसले मलाई सहयोग गर्न र सोच्न भनेकी थिई।

उसको बिहे हुने कुरो सुन्ने बित्तिकै मेरो अनुहार असारमा पानी पर्न लागेको आकाशझैँ अँध्यारो भयो। म केही नबोली टोलाएर बसिरहेको देखेर उसले मलाई दाहिने हातले हल्लाएर भनी, ‘बोल न अजय, किन केही नबोलेको ? मेरो भित्री मन कति दुखेको दुखेकै छ। किन चुप लागेको ?’

बिहेको कुराले मेरो होस्हवास उड्यो। फेरि मायामात्र गरेर के गर्नु ? हाम्रो बिहेलाई समाजले पनि स्वीकार्नु पर्यो‍ नि ? ऊ सम्पन्न परिवारकी छोरी। गाउँमा बाबुको प्रशस्त जग्गा, जमिन थियो। घरमा आवश्यक नोकर, चाकरसमेत थिए। मेरो भने जग्गा, जमिन नभएर अर्कैकहाँ बनी गरेर छाक टार्नुपर्ने। बाबु अर्काको हली बसेका थिए। मैले कति पटक बेँसीबाट जुनेली रातमा धान र पराल धनीको घरसम्म पुर्‍याइदिएर त्यही पैसाबाट स्कुलको फिस तिरेको थिएँ। कति पटक काठ धुल्पुरेबाट दुधकोसी किनार सिलौरी लाँदा काँधमा बसेका खत अझै मेटिएका थिएनन्। यी सब अवस्था सम्झेर मैले उसलाई भनेँ, ‘बिहे गर न त रजिना, बाबुआमाले केटा खोजिदिएका छन् भने। मलाई किन सोध्नुपर्‍यो र ? तिमीहरू धनीका छेउमा हामी गरिब भुसुनालाई।’

बिहे गर न त भन्ने वाक्य मेरो मुखबाट निस्कँदा मेरो मुटुमा कति ठुलो शूल बिझेको थियो। कसरी देखाउन सक्थेँ र पीडा ? त्यतिखेर मेरा आँखाबाट आँसु छचल्किएर नाकको डाँडी छेउबाट कतिखेर हो कतिखेर झरेछन्।

‘कस्तो कुरा गरेको अजय तिमीले, धोकेबाज ! सारा समाज र परिवारसँग विद्रोह गरेर सब खुसी तिमीलाई सुम्पन चाहन्छु तर तिमी त्यस्ता कुरा गर्छौ। भैगो भैगो माया मार। तिमीले माया मारे पनि यो मुटुले तिम्रो माया कसरी मार्न सक्ला र ?’ देब्रे हातले छाती छोएर मेरो अनुहारतिर हेर्दै रजिना सुँक्कसुँक्क गर्न थाली। ऊ सुँक्कसुँक्क गर्दा मेरा आँखाबाट बगेका आँसु देखिछे र एकएक हातले मेरा आँखाका आँसु पुछिदिएर भनी, ‘तिमीसँग पनि त मेरो माया र छ नि ! तर मेरो मन दुखाउने कुरा चाहिँ नगर है अजय।’

‘यो मनले त कहाँ छुटाउन सक्छ र रजिना ? तर समाज यस्तै छ। मेरो ठाउँमा तिमी भए त्यही त भन्थ्यौ नि।’ मैले रजिनाका आँखाबाट झरेर बाँकी अडिएका आँसु पुछिदिएर गम्ल्याङ्ग अँगालो हालेँ।

‘यी सब कुरा छाडिदेउ अजय ! साहस गर। तिमी त लोग्ने मान्छे। मान्छेले चिताएपछि बिताउँछ। जे होला मेरो इन्गेजमेन्ट अगाडि नै भागौँ।’

रजिनाको इन्गेजमेन्ट मंसिर तीन गते गर्ने भन्ने टुङ्गो थियो। तर हामीसँगै बाँच्ने र सँगै मर्ने बाचा गर्दै मंसिर एक गते बिहानै भाग्यौ। तीन दिनमा हामी हेटौँडा आइपुग्यौँ।

दुई महिनापछि म एउटा निजी बोर्डिङ स्कुलमा पढाउन थालेँ। बोर्डिङ स्कुलले बाँच्ने तलब कहाँ दिन्छ र ? तर जे भए पनि काम गर्नै पर्‍यो। कम तलबले हामीलाई जिउन भने धेरै कठिन थियो।

तिजको समय महिलाहरू राम्राराम्रा लुगा लगाएर हिँड्थे। त्यो देख्दा मेरो मन कटक्क खान्थ्यो। रजिनालाई नयाँ साडी र चोलो किनिदिन पाए त्यो लाएर कति राम्री देखिन्थी ? हो म सधैँ त्यही सोच्थेँ।

एक दिन म बोर्डिङबाट पढाएर फर्कँदा थकित थिएँ। रजिना सधैँ मेरो राम्रो देखभाल गर्थी। तर त्यसदिन अलि ठुस्केकी देखेँ।

‘रजिना आज तिमीलाई सन्चो भएन कि क्या हो ? अनुहार त्यति खुसी देखिँदैन त ?’ मैले लुगा फुकाल्दै सोधेँ।

‘ऊ पल्लो कोठाँ बस्ने सविनाले कति नयाँनयाँ साडी र गहना लगाएर मन्दिर गई। मलाई पनि जाउँ भन्थी। तर आफ्नो लुगा नभएर गइनँ।’

‘जे जस्तो लुगा छ त्यही लगाएर गएकी भए भइहाल्थ्यो त। हामीसँग जे छ त्यही लगाउने हो। पैसा भए त तिमीलाई राम्रै लुगा हालिदिन्थेँ। तलबले कोठाभाडा र हातमुख जोर्नै पुग्दैन। ट्युसन पढाएकाले दुई छाक खान सकिएको छ।’ मैले सम्झाएँ।

‘मेरो केही गुनासो होइन अजय। जे छ त्यसैमा सन्तुष्टि छु। तिम्रो माया भए मलाई पुग्छ।’ ऊ मुसुक्क मुस्कुराई र उठेर अँगालो हाली।

छ महिनापछि मैले रजिनालाई भने, ‘मेरो स्कुलको गाडी चलाउने ड्राइभर साम्दे छ नि ऊ विदेश जान्छ रे। यहाँको कमाइले परिवार पाल्न गाह्रो भो। मलाई पनि विदेश जाउँ सर, यिनीहरूलाई हामीले कमाइदिएर हामी भिखारी भएर के बस्नु, भन्दै थियो। म पनि कतारतिर जाउँकी बुढी ?’ उसलाई मैले फकाउन खोजेँ।

उसले अलि लामो सास फेरेर भनी, ‘म एक्लै कसरी बस्नु यहाँ ? तिमी हिँडेपछि म एक्लै हुन्छु। जे जस्तो आम्दानी हुन्छ त्यसैले घरबार चलाउँदा हुन्छ।’ उसले नछुट्टिने भावना व्यक्त गरी।

 

‘यहाँ महिनाभरि घोटिँदा बीस हजार कमिन्छ। कतारमा पचास हजार कमिने रहेछ। त्यो पनि ओभरटाइम बाहेक। साम्देको भिनाजुले मान्छे विदेश पठाउँदो रहेछ। ऊ मेनपावरमा पनि काम गर्छ रे। अङ्ग्रेजी बोल्न जान्ने मान्छे छ भने साठी हजारभन्दा बढी तलब हुन्छ रे। त्यस्तो साथी हो भने लिएर आउनु तिमीसँगै पठाइदिउँला भनेको छ। आज साम्देको भिनाजुसँग फोन भएको थियो।’

‘पैसा कमिन्छ भने म के भनौँ त ?’ ऊ विदेश जाने सहमति दिँदै बोली, ‘दुई वर्षमै फकिहाल्नु होला। त्यो पैसाले कतै घडेरी किनेर घर बनाउनुपर्छ।’

म उसको सहमतिबाट हौसिँदै भनेँ, ‘ठिकै भन्यौ रजिना, कमाएको पैसाले घडेरी किनेर घर बनाउनुपर्छ। त्यसपछि त तिम्रो बाबुआमाले पनि हामीलाई के नस्वीर्कालान् त ?’

मैले उसलाई हातले तान्दै भनेँ, ‘म नआउन्जेल तिमी यहीँ बस। पल्लो कोठामा बस्ने सविना दिदी पनि सहयोगी नै छिन्। आपत विपत पर्दा सहयोग गरिहाल्छिन्। तिमी पनि त उसँग कति मिल्छ्यौ मिल्छ्यौ। म नआउन्जेलसम्म त हो नि सहयोग।’

तीन महिनापछि म कतार लागेँ। मलाई एअरपोर्टसम्म पुर्‍याउन आउँदा रजिना धेरै नै रोई। उसलाई सम्झाउन मलाई हम्मेहम्मे नै पर्‍यो। उसले मलाई फूलको माला लगाइदिएर बिदाइ गर्दै भनी, ‘मेरो राजा ! चाँडै आउनु होला है ! यो दुई वर्ष म कसरी दिन काटूँ। यो मुटुमा तिम्रो माया यति पोखिएको छ कि, तिमी नआई के गरी सँगालिएला ?’

मैले अँगालो हालेर उसका आँखाबाट बगेका आँसु पुछिदिँदै सम्झाएँ, ‘धेरै नरोऊ प्रिय ! म चाँडै फर्किहाल्छु। नफर्किने गरी गएको हो र ? आफ्नो स्वास्थ्यको ख्याल राख्नू।’ मैले मन भारी पारेर बिदा मागेँ। गेटबाट भित्र छिरेर सामान र अध्यागमनमा चेकजाँच गर्दा कतिखेर यी सब भए पत्तै पाइनँ। मात्र रजिनाका आँखाका आँसु र उसको अनुहार झल्झल्ती आइरहेको थियो। प्लेनमा झकाएपछि मात्र ती सबै घटना बिर्सिएछु।
०००

त्यहाँ भने अनुसार नै काम पाएकाले कमाइ राम्रै थियो। हाम्रो दिनै फोन सम्पर्क हुन्थ्यो। पैसा मैले महिना महिनामा पठाइरहेको थिएँ।

एक वर्षपछि ऊ फोनमा कम आउन थाली। यो क्रम झनै बढ्दै गयो। दुई वर्षपछि त वाइफाई सधैँ बन्द हुन थाल्यो। एक दिन फोन बल्ल उठाएकी हुँदा उसलाई सोधेँ, ‘अचेल कता जान्छ्यौ रजिना ? किन फोन उठाउँदिनौ ? वाइफाई सधैँ बन्द हुन्छ त ?’

‘बाहिर काम परेर गएकी नि !’ झर्केर बोली। ‘जेलजस्तै कुहिएर कोठैमा कति पाकिरहूँ। एक्लै समय काट्न कति गाह्रो हुन्छ। तिम्रो पो यसो मन बहलाउन काम गर्ने साथीहरू छन्।’

‘मैले त्यस्तो केही भनेको होइन रजिना, घुम्न नजाऊ पनि कहाँ भनेको छु र ? फोन जहिल्यै अफ हुन्छ। कल गर्न पनि छाड्यौ भनेको हुँ। नरिसाऊ, नरिसाऊ प्रिय’ मैले विदेशबाटै फकाएँ।

 

‘पैसा जम्मा पारेर जग्गा किन्यौ त रजिना ? जति ढिलो गर्‍याे उति नै जग्गाको मूल्य बढ्छ।’ मैले उसलाई पटकपटक भनिरहेँ।

ऊ भन्थी, ‘खोज्दैछु खोज्दैछु। भन्ने बित्तिकै कहाँ पाइन्छ ? धेरै करकर नगर।’

होइन अचेल रजिना किन यस्ती भई। उसको व्यवहार किन परिवर्तन ? पहिले त दिनै फोन गर्थी। म सोच्थेँ, ‘घर, माइतीको कारणले तनावमा होली। फेरि बाबुआमाले पनि फोन गरेर तनाव दिइरहेका होलान्’ भनी धेरै वास्ता गरेको थिइनँ।

कतारको पीडा त त्यहाँ जाने सबैलाई थाहै छ। पैँतालीस डिग्रीको तातो मरुभूमिमा भेडा चराउनुपर्छ। तलबमा त कुनै सिकायत छैन तर काम चर्को घामभन्दा चर्को छ। भनेको बेला पानीसमेत खान पाइँदैन भातको त कुरै छाडौँ। हावाले बालुवा उडाएर आँखाभरि पारिदिन्छ। मोबाइल चार्ज गर्नसमेत पाँच दिन कुर्नुपर्छ। पाँच दिनमा मरुभूमिबाट भेडा गोठमा लगेको बेला मात्र राम्रो गरी खाएर सुत्ने हो। नत्र अन्य रात उही गाडीमा हो काट्ने।

 

साँच्चै म कतारमा भेडा चराउन गएको पनि तीन वर्ष भएछ। दुई वर्ष भनेर गएको अर्को भेडा हेर्ने मान्छे नआई मालिकले फर्कनै दिएन। बल्लबल्ल अर्को मान्छे आएपछि म फर्कन पाएँ।

छ महिनादेखि रजिनाको फोन अफ थियो। वाइफाई यसबिचमा एक पटक पनि खुलेको थाहा पाइन। सयौँ पटक मैले फोन गरेँ तर स्विच अफ मोबाइल फोन कहाँ लाग्नु र ? नेटमा फोन गर्दा सधैँ कलिङमात्र देखाउँथ्यो।

मेरो मन बेचैन भयो। यति निष्ठुरी त थिइन रजिना। कि कसैले अपहरण गर्‍याे ? त्यो पनि होइन। बाबुआमा आएर उसलाई फर्काएर लगे र मोबाइल खोसे। अपर्झट परेर गई होला ऊ गाउँ। कि बिरामी परेर सम्पर्क गर्न सकिन या त उसको मोबाइल नै हराएको हुनसक्छ। यस्तै कुरा खेलाएर बाँकी दिन काटेको थिएँ कतारमा।

 

तीन वर्षपछि आज म देश फिर्दै थिएँ। बिहानको सात बजे एअरपोर्ट ओर्लिएपछि साँझ हेटौँडा पुगेँ। कोठामा पुगेर रजिनालाई मैले ल्याइदिएका उपहार दिँदा ऊ कति खुसी होली, म सोच्दै थिएँ। मैले काठमाडौँबाट किनेर ल्याइदिएको साडीचोलो लगाउँदा कति सुन्दर देखिएली ?

 

तीन वर्षपछि आज म देश फिर्दै थिएँ। बिहानको सात बजे एअरपोर्ट ओर्लिएपछि साँझ हेटौँडा पुगेँ। कोठामा पुगेर रजिनालाई मैले ल्याइदिएका उपहार दिँदा ऊ कति खुसी होली, म सोच्दै थिएँ। मैले काठमाडौँबाट किनेर ल्याइदिएको साडीचोलो लगाउँदा कति सुन्दर देखिएली ? त्यो सुन्दरतामा म अँगालो हालेर कति बेरसम्म धित मरुन्जेल माया पोखुँला भन्ने मेरो मनमा आएको आएकै थियो।

म कोठामा पुग्दा त अरू कोही मान्छे पो भाडामा बसेको रहेछ।

 

‘यहाँ बस्ने बहिनी कता सरिछन् दिदी ?’ अधबैँसे मंगोलिन महिला हुनुपर्छ, उनलाई सोधेँ। ‘यो कोठा त खाली नै थियो र हामी सरेका। हामीलाई केही थाहा भएन बाबु’ उनले भनिन्।

मेरो मनमा चिसो पस्यो। हैन यो मान्छे मलाई केही नभनी किन कोठा सरेकी हो ? यहाँ सरेकी छु भनेकी भए त म त्यहीँ जान्थेँ नि।

घरबेटीलाई सोध्न माथिल्लो तला चढेको ताला लगाएको रहेछ। त्यहाँबाट भुईँमा झरेर आँगनमा पुगेँ। पल्लोपट्टि सविनाको कोठामा पनि ताला लगाएको थियो। ‘अब के गर्ने’ म सोच्नै सकिरहेको थिइनँ। घरको पेटीमा थचक्क बसेर रुनै लागेको थिएँ। त्यत्ति नै खेर सविना आइपुगिन्।

‘नमस्कार दिदी’ तीन वर्षपछि भेटमा अभिवादन गरेँ।

‘नमस्कार, नमस्कार बाबु। विदेशबाट कहिले आउनु भो ?’ उनी म नजिक उभिएर सोधिन्। ‘भर्खरै आइपुग्दैछु। रजिना कता सरिछन् दिदी ?’ मैले उनलाई सोधेँ।

‘तपाईँलाई थाहा छैन ? थाहा पाउनु भो होला भन्ने थियो मलाई’ एकैसासमा भनिन्।

‘अँ हँ थाहा छैन।’ उनको अनुहार हेरेर मैले उत्तर दिएँ।

 

उनले फेरि मुख निन्याउरो पार्दै भनिन्, ‘के कोठा सरी भन्नु र बाबु ! हाइड्रोको गाडी चलाउने ड्राइभरसँग सल्केकी रहिछ। ऊ सधैँ यो कोठामा आउँथ्यो। कत्ति दिन यो कोठाबाट बाहिर निस्केका पनि होइनन्।’

‘तिम्रै सुखको लागि लोग्ने खाडीमा भेडा चराइरहेका छन्। तिमी चाहिँ के गरेकी रजिना ? भनेर मैले धेरैपटक सम्झाएकी हुँ।’

‘तपाईँलाई के खाँचो ? जेसुकै गरौँ। ऊ सधैँ त्यसो भन्थी। तीन महिनाअघि त्यो नाठोसँग हिँडिछे। साह्रै कुछेद रहिछ त्यो आइमाई। हेर, यस्तो सोझो लोग्नेलाई धोका दिएकी !’

उसका कुरा भुईँमा नझर्दै म छाँगोबाट खसेजस्तो भएँ। उसकै लागि कतारमा भेडा चराएँ। बाबुआमा, समाज त्यागेँ। तीन वर्षसम्म तातो घामको राप काटेँ। तर आज सब रित्तो पारी। सँगै मर्छु भन्थी मारेर गई।

 

मेरो टाउको भनन घुम्यो। साँढे दुई वर्षसम्म भेडा हेरेर कमाएको सबै पैसा पनि चिलिम पारी। र, मेरो मुखबाट एक्कासि निस्कियो, ‘थुक्क पातकी ! लोग्ने मान्छेको भाग्य र स्त्रीको चरित्र भगवान्ले पनि थाहा पाउँदैन भन्थे वास्तविक रहेछ।’ त्यसपछि मैले के गरेँ, कसो गरेँ केही थाहा पाइनँ। बिहान सविनाको लोग्नेले चियाको गिलास दिँदा पो त्यही घरको कोठामा रहेछु।

आज सोचिरहेछु, ‘मेरो हराभरा जिन्दगी रजिनाले मरुभूमि पारी। खुसी खोसेर गई। कतारमा भेडा चराएको सम्पत्ति सबै रित्याएर गई। कतारको मरुभूमिमा ताता घामको राप काट्नुभन्दा यो जीवनको मरुभूमिमा पीडाको राप काट्न गाह्रो रहेछ। हे भगवान् ! वैदेशिक रोजगारीले सिर्जना गरेको पारिवारिक बिछोडको घटना कहिले अन्त्य होला त यो देशमा ?’०


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved