काठमाडौं-७ मा नेसपाको चियापान, मानुषीलाई जिताउन गठबन्धनका शीर्ष नेताको आग्रह

नेपालभ्युज

काठमाडौं-७ मा नेसपाको चियापान, मानुषीलाई जिताउन गठबन्धनका शीर्ष नेताको आग्रह

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर ७ मा नेपाल समाजवादी पार्टीले शुक्रबार चियापान तथा शुभकामना कार्यक्रम गर्‍यो । शुक्रबार बिहान भएको कार्यक्रममा सत्ता गठबन्धनमा आवद्ध दलका नेता सहभागी भए । उनीहरुले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई  जिताउन आग्रहसमेत गरे ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य निर्वाचन नभएको बताए । उनले देशको संविधान मिच्नेलाई पाखा लगाउन कार्यकर्ता अहोरात्र खटिएर चुनावी ब्याटलमा गठबन्धनलाई जिताउनु पर्ने बताए ।

मंसिर ४ गते देशमा अराजकता निम्त्याउने, देशलाई निरंकुशताको भुमरीमा धकेल्ने शक्ति र अग्रगमनकारी बीचको लडाइँ भएको भन्दै उनले दुईवटा गठबन्धनबीच ब्याटल हुने र त्यो आफूहरूले जित्नुपर्ने बताए ।

यसैगरी, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताए । राजनीतिक स्थिरताविना विकास निर्माण पनि सम्भव नभएको उनले बताए ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताए ।

काठमाडौं-७ मा गठबन्धनबाट उम्मेदवार बनेकी मानुषी यमि भट्टराईले चुनाव जित्ने विश्वास व्यक्त गरिन् । नेपाल समाजवादी पार्टीको नेता समेत रहेकी मानुषीलाई भारि मतले जिताउन सबै दलका शिर्ष नेताले आग्रह गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved