कैलाली ५

देउवाले जितेको र आरजुले हारेको क्षेत्रमा पन्तलाई कति सहज?

नेपालभ्युज

देउवाले जितेको र आरजुले हारेको क्षेत्रमा पन्तलाई कति सहज?

काठमाडौं। ०७० को दोस्रो संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ धनगढी (साविकको ६) मा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लडे। त्यो बेला उनी डडेल्धुरा र कैलाली दुई ठाउँबाट चुनाव लेडका थिए। दुवै क्षेत्रबाट चुनाव जिते।

पछि एक क्षेत्र छोड्नु पर्ने भएकाले देउवाले धनगढी छोडे। त्यहाँ उप-निर्वाचन भयो। उप-निर्वाचनमा कांग्रेसले पूर्व सञ्चार राज्यमन्त्री पुष्करनाथ ओझालाई टिकट दियो।

देउवासँग पराजित भएका एमालेका उम्मेदवार महेश्वर पाठक ओझासँग पनि पराजित भए। ०७० का दुवै निर्वाचन जितेको कांग्रेसले ०७४ मा भने यो क्षेत्र गुमाउनु पर्‍यो। ०७० मा यो क्षेत्रबाट कांग्रेसले देउवा पत्नी आरजुलाई टिकट दियो। देउवाका लागि आफ्नो क्षेत्र छोडे पनि आरजुका लागि भने छोड्न नसकिने भन्दै ओझा रुष्ट बने।

ओझाले आरजुलाई सहयोग नगर्दा उनी एमालेका नारदमुनि रानासँग पराजित भइन्। उनको पराजयमा ओझाको असहयोग नै प्रमुख कारण बन्यो। पार्टीका उम्मेदवारलाई असहयोग गरेकोभन्दै कांग्रेसले ओझालाई कारबाही पनि गर्‍यो। आरजुलाई ओझाको असहयोगको प्रत्यक्ष फाइदा उठाएका राना यो पटक पनि उम्मेदवार बनेका छन्।

कांग्रेसबाट टिकटको प्रमुख दाबेदार मध्येकी एक आरजु यो पटक पनि चुनाव जित्न मुस्किल पर्ने देखेर समानुपातिकमा बसेकी छिन्। ०७४ का रुष्ट ओझालाई मनाउन नसकेपछि आफूलाई जित्न त्यति सजिलो नदेखेपछि आरजु ब्याक हुँदा यहाँ कांग्रेसका डिल्लीराज पन्तले टिकट पाएका छन्।

पन्त गत ०७४ को निर्वाचनमा क्षेत्र नम्बर ५(ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए। तिनै रुष्ट ओझा यो पटक प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बनेका छन्। ओझाको स्वतन्त्र उम्मेदवारीले यो पटक पनि आफूलाई ०७४ को जस्तै फाइदा हुने आशमा एमालेका राना छन्। पन्त भने पाँच दलिय सत्ता गठबन्धनको साझा उम्मेदवार भएकाले आफूलाई जित्न कठिन नभएको बताउँछन्।

संघमा ओझा र प्रदेश ख मा कांग्रेसकै क्षितिज भण्डारी बागी उठेपछि पन्तलाई जित्न कठिन पर्ने आकलन केही नेताहरुको छ। धनगढी उपमहानगरमा १९ वडा रहेका छन्। गत स्थानीय तह निर्वाचनमा १९ वडामध्ये कांग्रेसले ११, एमालेले ६ र माओवादी केन्द्रले २ वडा जितेको छ। तर मेयरमा भने स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका थिए।

स्थानीय तहमा यस पटक सत्ता गठबन्धन र अधिकांश वडामा कांग्रेस विजयी भएकाले पन्त बलियो उम्मेदवार रहे पनि उनलाई कांग्रेसकै बागीहरूले चुनौती थपिदिएका छन्। ओझा र भण्डारीले कांग्रेसका भोट काटे त्यसको प्रत्यक्ष लाभ एमाले उम्मेदवार रानाले पाउने एकथरीको बुझाइ छ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा ९३ हजार मतदाता थिए। स्थानीय चुनावको मत परिणाम अनुसार नेपाली कांग्रेसले २२ हजार, नेकपा माओवादी केन्द्रले ८ हजार, नेकपा एकीकृत समाजवादी २ हजार तथा नागरिक उन्मुक्ति पार्टीले ७०० मत प्राप्त गरेका थिए। एमालेले १७ हजार मत पाएको थियो। अहिले मतदाताको संख्या एक लाख सात हजार पुगेको छ।

नेपाली कांग्रेस कैलालीका सचिव नृप सुनार गठबन्धनका दलहरूले इमान्दारिताकासाथ भोट हाल्यो भने स्वतन्त्र उम्मेदवारीले गठबन्धनका उम्मेदवारलाई कुनै असर नपर्ने बताउछन्। ‘कांग्रेसकै बागी भएकाले केही भोट काटिए पनि गठबन्धनको मत एमालेभन्दा झण्डै दोब्बर भएकाले चुनाव जित्न गाह्रो छैन,’ सुनारले भने,’गठबन्धनमा इमान्दारिता हुनुपर्‍यो।’

का‌ग्रेस कैलालीका एक नेताका अनुसार ०७४ मा आरजुले टिकट पाउँदा ओझा रुष्ट हुनु धेरैले स्वभाविक नै ठानेका थिए। ओझाले भन्ने गरेका थिए,’पार्टी सभापतिको हिसावले पनि देउवालाई टिकट छोड्न म तयार भएँ तर उहाँबाहेक अरु कसैलाई छोड्न सक्दैन।’ त्यसैले पनि आरजुले टिकट पाउँदा ओझाको असन्तुष्टि ठिकै हो। तर यो पटक आरजुले टिकट नपाएर पन्तले पाउँदा पनि ओझा रुष्ट हुनु भनेको उनमा आफूबाहेक अरु कसैलाई नस्वीकार्ने प्रवृति देखिएको ति नेताले बताए।

‘आरजुले पाउँदा असन्तुष्टि भए पनि पन्तले त झोलालाई नेविसंघको सदस्यता दिएका हुन्, उहाँलाई पनि स्वीकार्दैन भनेर स्वतन्त्र लड्नु मपाइँ प्रवृति हो,’ति नेताले भने,’यस कारणले पनि ओझालाई धेरैले साथ दिँदैन होलान्।’

पन्त कांग्रेस कैलालीका पुराना नेता हुन्। नेपाल विद्यार्थी संघ कैलालीका संस्थापक अध्यक्षसमेत रहेका पन्त आफू सबै कार्यकतासँग मिलनसार भएकाले चुनाव जित्नेमा ढुक्क छन्।

‘म जनप्रिय पार्टीको उम्मेदवार भएकाले पहिलो जित्ने आधार हो। अर्को कुरा, मेरो पारिवारिक र व्यक्तिगत पृष्ठभूमि पनि कांग्रेससँग निकै लामो छ। मैले विगत पाँच वर्ष प्रदेश सभा सदस्य हुँदा इमानदारीपूर्वक काम गरेको छु,’ उनले भने। पन्तका बुबा चेतराज पन्त पनि कांग्रेस कैलालीका संस्थापक सदस्य हुन्।

एमालेभित्र रानाप्रति असन्तुष्टि बढ्दो

एमालेमै रानाको माहोल विग्रिदै गएको अर्कोथरीको बुझाइ छ। रानाले पार्टीको जिल्ला अधिवेशनदेखि स्थानीय तह तथा प्रदेशसभाको टिकट वितरणमा एकलौटी गरेकाले उनलाई एमालेभित्रकै ठूलो समूहले विगतको जस्तो सहयोग नगर्ने एक एमालेका पुराना नेताले बताए।

‘रानाले पार्टीभित्र आफ्नो पक्षलाई मात्रै अवसर दिने, जितेर गएपछि आफ्नो समुदायबाहेक अरु मतदाताकोमा कहिलै नजाने गरेकाले ठूलो समूह उनीप्रति रुष्ट छ’, ति नेताले भने,’रानालाई जिताएर काम छैन।’

रानाले प्रदेशसभा सदस्यको टिकट वितरणमा पक्षपात गरेको भन्दै एमालेका नेता यज्ञ बास्तोलाले पार्टीनै परित्याग गरेका छन्। ९३ हजार थिए। क्षेत्र नम्बर ५ मा कांग्रेस २२ हजार माओवादी ८ हजार समाजवादी २ हजार मत। एमाले १७ हजार। ढकिया सात सय एक लाख सात हजार भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved