संविधानमा प्रहार भएपछि गठबन्धन बन्यो : उपसभापति खड्का

नेपालभ्युज

संविधानमा प्रहार भएपछि गठबन्धन बन्यो : उपसभापति खड्का

सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधानमा बेला–बेला प्रहार भएका कारणले अहिले वाम लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । गृहजिल्ला सुर्खेत आइपुगेका उपसभापति खड्का सोमबार विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै जनताका लोकतान्त्रिक अधिकारहरूलाई स्थापित गर्न र अधिनायकवादी प्रवृत्तिका विरुद्ध संघर्ष गर्नका लागि गठबन्धन बनेको बताएका हुन् ।

खड्काले संविधानमाथि बेला–बेला भएको प्रहारबाट संविधानको रक्षा सत्ता गठबन्धनले मात्रै गर्न सक्ने बताए । ‘देशमा स्थिरता र नविन अभियानलाई स्थापित गर्न गठबन्धनको विजयी गराउनुपर्छ ।’ उनले भने, ‘विगतका कमी कमजोरीहरूलाई सुधार गर्ने अवसर प्रदान गर्दै पुनः एकपटक मुलुकको परिवर्तनकारी शक्तिलाई नेतृत्वदायी भूमिकामा पुर्‍याउन गठबन्धन गरिएको हो ।’

संविधानको रक्षा र स्थिरताका पक्षमा सडकदेखि सदनसम्म आवाज बुलन्द गर्ने साझा गठबन्धन बनाइएको उनको भनाइ थियो । सुर्खेत क्षेत्र नं १ का प्रतिनिधिसभाका उम्मेदवार रहेका उपसभापति खड्काले संविधानमाथिको पटक–पटक भएको हस्तक्षेपका विरुद्ध जनताका हक अधिकारहरूलाई संरक्षणका लागि संघर्ष गर्दै आएका दलहरूको साझा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताए ।

‘आगामी मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा संविधानको रक्षाका लागि, जनताका अधिकारहरू स्थापित गर्नका लागि मुलकुका हरेक खाले परिवर्तनकारी आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरूका तर्फबाट साझा वाम लोकतान्त्रिक गठबन्धन भएको हो ।’ उनले भने, ‘निरन्तर संविधानमाथि प्रहार गर्नेहरू पराजय हुनेछन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved