सुचीलाई छब्बीस वर्षको जेल सजाय, यस्ता छन् आरोप

नेपालभ्युज

सुचीलाई छब्बीस वर्षको जेल सजाय, यस्ता छन् आरोप

ब्याङकक । सेना शासित म्यान्मारको एक अदालतले अपदस्थ नेत्री आङ सान सुचीलाई थप दुई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ । बुधबार सुनाइएको निर्णयअनुसार नेत्री सुचीलाई २६ वर्षको जेल सजाय तोकिएको छ ।

सतहत्तर वर्षीया सुचीलाई गत वर्षको फेब्रुअरी १ मा सेनाले हिरासतमा राखेको थियो। उनले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेकी छन् । सुचीमाथि लागुऔषध तस्करीको अभियोगमा दोषी ठहरिएका कुख्यात माउङ वेइकबाट पाँच लाख ५० हजार अमेरिकी डलर घुस लिएको आरोप लगाइएको थियो ।

सन् १९९१ को नोबेल शान्ति पुरस्कार विजेता सुचीविरुद्ध सेनाले लगाएका आरोपमा भ्रष्टाचारका मुद्दा सबैभन्दा बढी छन् । सुचीलाई भ्रष्टाचार विरोधी ऐन अन्तर्गत १२ वटा मुद्दा लगाइएको छ । जसमा प्रत्येकलाई १५ वर्षसम्मको जेल सजाय र जरिवाना हुनसक्छ ।

वैध रूपमा वाकी–टकीहरू आयात गरेर राखेको, कोरोनाभाइरसविरुद्धका प्रतिबन्ध उल्लङ्घन गरेको, देशको गोप्य ऐन उल्लङ्घन गरेको, देशद्रोह गरेको, चुनावमा ठगी गरेको तथा भ्रष्टाचारका पाँच आरोपमा दोषी ठहर्‍याएपछि २३ वर्षको जेल सजाय सुनाइएको थियो ।

सुचीका समर्थक र स्वतन्त्र विश्लेषकले ती आरोप राजनीतिक रूपमा प्रेरित रहेका र बदनाम गर्ने तथा सेनाको सत्ता कब्जालाई वैधानिक बनाउने प्रयास भएको बताएका छन् ।

सुचीविरुद्धका मुद्दाको सुनवाइ राजधानी नेपिटोको बाहिरी भागमा अवस्थित मुख्य कारागारको एउटा कोठामा भएको छ । उनलाई हिरासतमा लिइएदेखि सार्वजनिक रूपमा बोल्न वा भेटघाट गर्न दिइएको छैन । उनका वकिललाई पनि मुद्दाका बारेमा सार्वजनिक रूपमा बोल्न अनुमति दिइएको छैन । एपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved