प्रचण्डलाई चितवन नछोड्न पाँच दलको अपिल

नेपालभ्युज

प्रचण्डलाई चितवन नछोड्न पाँच दलको अपिल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आसन्न निर्वाचनमा चितवन नछोड्न चितवनका सत्ता गठबन्धनका पाँच राजनीतिक दलले अपिल गरेका छन्।

मंगलबार बसेको गठबन्धनको जिल्ला स्तरीय बैठकले प्रचण्डलाई चितवनबाटै चुनाव लड्न अपिल गरेको हो। बैठकले प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर ३ परिवर्तन गरी अन्य जिल्लाबाट उम्मेदवार बन्न लागेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैठकको निर्णयमा लेखिएको छ, ‘मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिरसमेत उहाँले निर्वाचन क्षेत्र परिवर्तन गर्नु असान्दर्भिक ठहर गर्दै मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन नगर्न र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गरिदिनु हुन अपिल गर्ने निर्णय गरिन्छ।’

डा. बाबुराम भट्टराईले यसपालि प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन नलड्ने घोषणा गरेलगत्तै प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्न लागेको चर्चा चुलिएको थियो। नेकपा माओवादी केन्द्रका जिल्ला नेताहरूले प्रचण्डलाई जिल्ला नछाड्न सामाजिक सञ्जालमार्फत आह्वान गरिरहेका छन्।

मंगलबार नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले प्रचण्डलाई चितवनबाटै उम्मेदवारी दर्ता गर्न अपिल गरेको हो।

बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा एकीकृत समाजवादीका कृष्णराज न्यौपाने ‘लब्ली’, राष्ट्रिय जनमोर्चाका विष्णु पौडेल र जसपाका प्रेमराज भुजेल सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved