मनसुनजन्य गतिविधिले सिन्धुपाल्चोकमा समस्या

मनसुनजन्य गतिविधिले सिन्धुपाल्चोकमा समस्या
सांकेतिक तस्बिर

सिन्धुपाल्चोक । बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ । चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई झनै समस्या भएको छ ।

गत साल आएको मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिका–१ र २ का नागरिकले धेरै सास्ती खेप्नु परेको छ । बाढीका कारण यातायातका साधन अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षालगायत सेवासुविधाबाट वञ्चित हुनुपरेको छ ।

हेलम्बु मेलम्ची बाढीले सडक, यातायात, विद्युत्, विद्यालय संरचनामा क्षति पुग्दा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ । बाढीसँगै ग्रामीण भेगहरुमा विभिन्न स्थानमा पहिरो जाँदा विद्यार्थीलगायत स्थानीयवासीहरुमा त्रास सिर्जना भएको हेलम्बु–१ गोल्मादेवी माध्यमिक विद्यालयका ध्रुव सुनारले बताए । उनले धेरै साथीहरु होस्टल बसेर पढेको बताए। बिरामी हुँदा समस्या हुने गरेको उनको भनाइ थियो । यस भेगमा विद्यालय जान आउन समस्या रहेको स्थानीयवासी बताउँछन् ।

बाढीपछि गाउँपालिका कार्यालय हुँदै हेलम्बु–१ जाने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । तर बर्खाको समयमा वैकल्पिक सडक पनि हिलाम्मे हुँदा यातायातका साधन आवतजावत गर्न सकेका छैनन् । यसले व्यापारी, बिरामी तथा अन्य नागरिकहरुले सास्ती खेप्न परेको हेलम्बु–१ की कर्मो लमिनीले बताईन् ।

नागरिकका समस्या समाधान गर्न स्थानीय तहले पनि स्रोतसाधनले भ्याएसम्म काम गरिरहेका छन् । पुरानै सडक सञ्चालनदेखि अन्य बिग्रेका संरचना पुनर्निर्माणलगायतका काम धमाधम भइरहेको बताउनुहुन्छ वडाध्यक्ष दावा ग्याल्जेन शेर्पा । हिजो खोलामा हालेको फड्के बेलुकीको बाढीले लगेको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पानी कम भए लगत्तै बाटो मर्मत गरिने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved