तीज नारी स्वतन्त्रता र सशक्तिकरणसँग जोडिएको छ : अध्यक्ष झा

तीज नारी स्वतन्त्रता र सशक्तिकरणसँग जोडिएको छ : अध्यक्ष झा

काठमाडौं ।  राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हिन्दू नारीहरूको महान चाड तीज महिला स्वतन्त्रता र सशक्तिकरणसँग जोडिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले आइतबार आयोजना गरेको ‘तीज र पत्रकारिता विषयक’ अन्तक्र्रियामा उनले परम्परा र संस्कृतिसँग जोडिएको तीजको राष्ट्रिय पर्वको रुपमा महत्व बढ्दै गएको बताए । अध्यक्ष झाले भने, ‘तीज हिन्दू महिला र भूगोलमा मात्रै सीमित रहेन यसले अन्य समुदायलाई पनि आकर्षण गर्न सक्ने भएको छ । फरक भूगोलका महिलाले पनि ब्यापक रुपमा तीज मनाउन थालेका छन् । यसले सबैको राष्ट्रिय पर्वको रुप लिएको छ । पछिल्लो समय छठ र तीज राष्ट्रिय पर्वको रुपमा स्थापित भएको छ ।’
उनले तीज पर्वलाई नारी स्वतन्त्रताको अभियानलाई जोड्न सकेको खण्डमा यसले देश समाज परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘तीज महिला स्वतन्त्रताको प्रतीक पनि हो । साच्चिकै तीजको आदर्शलाई स्वीकार गर्नसक्ने हो भने तीजले लोकतन्त्रलाई स्थापित गर्छ किनभने लोकतन्त्रले ‘सामूहिक तथा व्यक्तिगत अधिकार’लाई जोड दिन्छ । यो व्यक्तिलाई बलियो बनाउने पर्व पनि हो जुन लोकतन्त्रको अपरिहार्य पक्ष मानिन्छ’, उनले भने ।

अध्यक्ष झाले तीजलाई पत्रकारितासँग जोड्दै समाचारका विभिन्न पक्षसँग जोडिएका विषयवस्तुबारे समाचार सामग्री सम्प्रेषण गर्न पनि निर्देशन दिए । पछिल्ला वर्षमा तीजलगायत पर्वले समाजमा फरक खालका सन्देश दिइरहेको उल्लेख गर्दै उनले तीजलाई भड्काउलो नबनाई नारी सशक्तिकरणसँग जोडेर लैजानसके यसको महत्व अझ बढ्ने बताए ।

महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँले तीजलाई परम्परागत रुपमा मात्रै नभएर महिला सशक्तिकरण, क्षमता अभिवृद्धिका साथै उनीहरूको सार्वजनिक उपस्थित पनि बलियो सहभागिता बढाउन जरुरी भएको उल्लेख गरे ।

बासु रिमाल यात्री स्मृति पुरस्कार दत्त र तिमल्सिनालाई

कार्यक्रममा रासस कर्मचारी सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ द्वय धीरेन्द्रकुमार दत्त र केदारप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ । सङ्घले प्रदान गरेको उक्त सम्मान राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले हस्तान्तरण गरे। विगत २४ वर्षदेखि रासस सेवामा कार्यरत दत्त राससको प्राविधिक शाखा प्रमुख हुनुहुन्छ भने २७ वर्षदेखि राससमा कार्यरत तिमिल्सिना सङ्घका वरिष्ठ उपाध्यक्ष हुन् ।

उनिहरूलाई नगद र प्रशंसापत्रसहित सम्मान गरिएको हो । त्यसैगरी राससमा ३६ वर्षदेखि निरन्तर कार्यरत मैना थापालाई दोसल्लासहित कदर–पत्रद्वारा सम्मान गरिएको छ । सम्मानित थापा सङ्घमा लामो समयदेखि सक्रिय रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved