भारतीय राजनीति

भाजपा र आम आदमी पार्टीबीचको संघर्ष तिव्र, एक अर्कालाई सिध्याउने रणनीति

प्रधानमन्त्री मोदीले प्रतिसांसद २०–२० करोड दिएर आफ्नो दल तोड्न खोजेको आपको आरोप

भारतीय राजनीतिमा केन्द्रको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र दिल्ली, पञ्जाब प्रदेशको सत्तारुढ दल आम आदमी पार्टी (आप) बीचको राजनीतिक संघर्ष तीव्र हुँदै गएको छ । भाजपा र आपका नेताले यसलाई जीवन मरणको संघर्ष भन्न थालेका छन् । गुजरात चुनावसम्म पुग्दा यो घटनाक्रमले कस्तो मोड लिने हो, यसै भन्न सकिने अवस्था छैन ।

भाजपा र आम आदमी पार्टीबीचको संघर्ष तिव्र, एक अर्कालाई सिध्याउने रणनीति

भारतीय राजनीतिमा केन्द्रको सत्तारुढ दल भारतीय जनता पार्टी ( भाजपा) र दिल्ली, पञ्जाब प्रदेशको सत्तारुढ दल आम आदमी पार्टी (आप) बीचको राजनीतिक संघर्ष तीव्र हुँदै गएको छ । भाजपा र आपका नेताले यसलाई जीवन-मरणको संघर्ष भन्न थालेका छन् ।

आपले भाजपालाई केन्द्र सरकारको राजकीय शक्तिको दुरुपयोग गरी आफूविरुद्ध षड्यन्त्रको राजनीति सुरुवात गरेको आरोप लगाएको छ । भाजपाले आपलाई ‘नि:शुल्क रेवडी’ बाँड्ने राजनीति गरेर भारतीय राजनीतिलाई नै प्रदूषित गरेको भन्दै राजनीतिक जेहाद छेड्नुपर्ने बताइरहेको छ ।

केही महिना अघि प्रधानमन्त्री नरेन्द्र मोदीले अरविन्द केजरीवालको नि:शुल्क शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, महिलाका लागि नगर बसभाडाजस्ता सेवा नि:शुल्क गर्ने राजनीतिलाई ‘फ्रिको रेवडी’ भनेका थिए । ‘रेवडी’ एक प्रकारको भारतीय मिठाइ हो । पञ्जाबमा आपको जीतपछि भाजपासँगको संघर्ष तीव्र हुँदै गएको थियो । गत फेब्रुअरीमा भएको पञ्जाबको विधानसभा निर्वाचनमा आपले ११७ सिटमध्ये एक्लै दुइतिहाइ ९२ सीट जितेको थियो । भाजपा २ सीटमा मात्रै सीमित भएको थियो ।

पञ्जाबको जीतपछि आपले आफ्नो गतिविधिलाई गुजरात र हिमाञ्चल प्रदेशमा केन्द्रित गर्न थालेको छ । यी दुई राज्यमा यो वर्षको अन्त्यसम्ममा विधानसभाको चुनाव हुनुपर्नेछ । गुजरातमा २७ वर्षदेखि निरन्तर भाजपाको सरकार चल्दै आएको छ । केजरीवाल यस बीच बारम्बार गुजरात जाने गरेका छन । गुजरातमा आपको लोकप्रियता बढ्दो देखिन्छ । केजरीवालले त्यहाँ पहिलो चरणको प्रतिबद्धतापत्र र उम्मेद्वारको सूचीसमेत घोषणा गरिसकेका छन्।

गुजरातमा आपको बढ्दो प्रभावले भाजपा डराउन थालेको संकेत देखिएको छ । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहप्रदेश हो । केन्द्रको राजनीतिमा आउनुअघि मोदी गुजरातका मुख्यमन्त्री थिए। केजरीवालले गुजरात मोडेलको युग समाप्त भएको र अब गुजराती जनतालाई परिर्वतन र दिल्ली मोडेल चाहिएको बताउने गरेका छन्। यही राजनीतिक परिप्रेक्ष्यमा भाजपा र आपबीचको संघर्ष, दाउपेच र षड्यन्त्र चर्किएको हो ।

गत हप्ता दिल्लीका मुख्यमन्त्री केजरीवालले आपलाई बदनाम गर्न उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनीष सिसोदियालाई गिरफ्तार गर्न लागेको बताएका थिए । त्यसको केही दिनपछि नै सीबीआईले उपमुख्यमन्त्री सिसोदियाको निवासमा छापा मारेको थियो ।

केजरीवालको दिल्ली मोडलमा सार्वजनिक शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय उपलब्धि भएको भन्दै प्रशंसा बढेपछि भाजपा चिन्तित छ ।  केजरीवाललाई ‘वर्ल्ड सिटी समिट’ मा बोल्न सिंगापुर बोलाइएको थियो तर केन्द्र सरकारले यही कारणले जाने अनुमति दिएन । गत हप्ता मात्रै अमेरिकाको न्युयोर्क टाइम्सले दिल्लीको सार्वजनिक शिक्षाबारे फ्रन्टपेजमा कभरेज गरेको थियो । तर, दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैन अहिले भ्रष्टाचार मुद्दामा जेलमा छन भने शिक्षामन्त्री सिसोदियालाई फसाउने प्रयत्न भइरहेको आपको आरोप छ ।

सिसोदियाले प्रधानममन्त्री मोदीमाथि आफूलाई तनाव दिएर आप छोड्न बाध्य पार्ने षडयन्त्र गरेको तर, गर्दन गए पनि पार्टी, देश र जनतालाई धोका नदिने बताएका छन् । सीबीआईले सिसोदियामाथि मदिरा बिक्रीको लाइसेन्स दिँदा अनियमितता गरेको आरोप लगाएको छ । केजरीवालले भने सिबिआईको कदमको खुलेर विरोध गरेका छन् । उनले भाजपालाई ‘सावरकरका सन्तान’ र आफूहरूलाई ‘भगत सिंहका सन्तान’ भन्दै जेल बस्न आप कार्यकर्ता न डराउने प्रतिक्रिया दिएका छन् । उनले झुटा मुद्दामा फसाउने षडयन्त्र नगर्न भाजपा र नरेन्द्र मोदीलाई चुनौती दिएका थिए ।

केजरीवालको विरोध र चुनौतीका बाबजुद सीबीआईले सोसोदियाको निवासमा छापा मारेको थियो । यसैबीच, सिसोदियाले प्रधानमन्त्रीलाई प्रति सांसद २०–२० करोड दिएर आपका दिल्ली विधानसभा सदस्यलाई किन्ने र सरकार ढाल्ने  षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

हालै महाराष्ट्रमा भाजपाले शिवसेना विभाजित गरी उद्वव ठाकरेको सरकार गिराएको थियो । त्यही डरले बिहारका मुख्यमन्त्री नीतिश कुमारले रातारात भाजपासँगको गठबन्धन तोडेर आरजेडीसँग गठबन्धन सरकार बनाएका थिए । महाराष्ट्र अघि ठीक यसरी नै भाजपाले मध्यप्रदेशमा कांग्रेसको सरकार गिराएको थियो ।

दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले ठीक त्यस्तै आरोप प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपामाथि लगाएका छन्। उनले भनेका छन कि भाजपाले उनलाई आम आदमी पार्टी फुटाएर भाजपामा सामेल हुन, केन्द्र सरकारको मन्त्री हुन अफर गरेको थियो, त्यसो गर्न राजी भए उनीमाथिका सबै आरोप र सीबीआई छानबिन रोकिने वचन दिएको थियो ।

आफूले भाजपा र प्रधानमन्त्री मोदीको त्यो आरोप अस्वीकार गरेको हुँदा फसाउन लागिएको सिसोदियाको भनाइ छ । यो आरोपपछि भारतीय राजनीति गर्माएको छ। आप र भाजपाले एकअर्काविरुद्ध भण्डाफोर अभियान नै शुरु गरेका छन् । भाजपाले आपमाथि अरोप पुष्टि गर्न चुनौती दिएको छ। सिसिदियाले यथोचित समयमा यथोचित प्रमाण सार्वजनिक गर्ने बताएका छन् । आप-भाजपाबीचको संघर्ष झनै रोचक हुँदै गएको छ । गुजरात चुनावसम्म पुग्दा यो घटनाक्रमले कस्तो मोड लिने हो, यसै भन्न सकिने अवस्था छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved