मेयर शाहको निर्देशन- शिक्षक, कर्मचारीले दलसँगको आबद्धता त्यागी कानुनको पालना गर्नु

नेपालभ्युज

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाहले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल गरेका हुन् ।

‘राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न यसै विज्ञप्तीमार्फत् सूचित गरिन्छ’ उनले भनेका छन् ।

उनले महानगरपालिकाको कुनै पनि कर्मचारीले राजनीतिक दल वा संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेको  विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यस्तो  व्यवस्था काठमाडौं महानगरपालिका कर्मचारी सेवा ऐन, २०७७ को दफा ४५ मा  गरिएको छ ।

उनले महानगरपालिकाको कार्यक्षेत्रभित्र सुशासन प्रवर्द्धन गर्नका लागि महानगरअन्तर्गतका शिक्षक तथा कर्मचारीहरु कुनै पनि राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत नभएको  जनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved