निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दी । म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् ।
चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उनीहरू गाउँ पसेका हुन् ।

नेपाली कांग्रेसले जिल्लास्तरीय बैठक बसेर सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । नेकपा एमालेले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ । नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर सङ्गठन सुदृढीकरण अभियानको तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारसमेत सिफारिस गरेको छ ।

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै छवटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन गरिएको बताए । उनले अन्नपूर्ण गाउँपालिका–८ राम्चेबाट वडास्तरीय कार्यकर्ता प्रशिक्षण, बैठक र भेटघाट कार्यक्रम सुरु गरेको बताए ।

एमाले निकट अनेमसङ्घले पनि पालिका स्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ । कांग्रेस म्याग्दीका सचिव भरत रकालले बुधबार रघुगङ्गाको मौवाफाँट र बिहीबार मङ्गलाको बाबियाचौरमा पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण भएको जानकारी दिए । बाँकी चारवटा पालिकामा पनि कार्यकर्ता प्रशिक्षण हुने उनले बताए ।

नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले जनवर्गीय सङ्गठनको बैठक सञ्चालन भइरहेको र आगामी हप्ता जिल्ला समन्वय समितिको बैठक आयोजना गरिएको जानकारी दिए । पालिकास्तरीय कार्यकर्ता प्रशिक्षणसँगै वडास्तरसम्म सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार र जनवर्गीय सङ्गठन परिचालन गरिने उनले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष वीरबहादुर थापा क्षेत्रीले यसै हप्ता बेनीमा बसेको बैठकले प्रतिनिधिसभामा पूर्वसहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम सिफारिस गरेको जानकारी दिए ।

उम्मेदवारका आकाङ्क्षीको पहिचान, आकाङ्क्षीप्रति मतदाता तथा कार्यकर्ताको मनोभावना, जितको सम्भावना लगायतका विषयमा नेताले अध्ययन गरिरहेका छन् । विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउन थालेका छन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved