कांग्रेस सभापति देउवालाई नेविसंघका नेताको चेतावनी, ‘मसाल बोकेर लखट्न नपरोस’

‘हिजो ६०–४० को इक्वेसन बनाएर पार्टीबाट अलग भएर दरबारको बाक्लो दाल खान जानुभएको थियो तर हामीले पार्टीबाट छुट्टिने कल्पना कहिल्यै पनि गरेका थिएनौ र छैनौ । हाम्रो खबरदारीलाई बेवास्ता गर्नुभयो भने हामी कलम मात्र होइन मसाल बोकेर लखेट्न पनि तयार छौँ ’

नेपालभ्युज

कांग्रेस सभापति देउवालाई नेविसंघका नेताको चेतावनी, ‘मसाल बोकेर लखट्न नपरोस’

काठमाडौं । सत्ता गठबन्धनको नेतृत्व गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीभित्र घेराबन्दीमा पर्न थालेका छन् । कांग्रेसको संस्थापन इतर समूहले देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेको छ । ६०–४० को अनुपातमा हरेक ठाउँमा समान अवसर दिने भने पनि भातृसंगठन र केन्द्रीय सदस्यमा एकलौटी गरिएको भन्दै इतर समूह रुष्ट बनेको हो ।

यसै क्रममा सभापतिविरुद्ध खबरदारी सभा भन्दै इतर समूह समर्थक भातृसंगठनले सार्वजनिक कार्यक्रम नै गरेका छन् । सभापति देउवाले एकलौटी गर्दै गए अझ सशक्त आन्दोलन थाल्ने इतर पक्षीय भातृसंगठनका नेताहरूको चेतावनी छ । काठमाडौंको राष्ट्रियसभा गृहमा बुधबार आयोजित खबरदारी सभामा भेला भएका नेता कार्यकर्ताले देउवालाई समानुपातिक सहअस्तित्व हुने गरी पार्टीका भातृसंस्थाहरुलाई पूणता दिन आग्रह गरे ।

नेपाल विद्यार्थी संघका नेता-कार्यकर्ताले शेरबहादुर देउवासँग हात मिलाएर सडकमा आफूहरूलाई प्रयोग नगर्न इतर समूहका नेतालाई चेतावनी पनि दिए । नेविसंघका नेता नवीन केडीले भातृसंगठन र युवालाई आफ्नो स्वार्थकालागि प्रयोग नगर्न सचेत गराए । उनले प्रश्न गरे, ‘ दिनरात देउवासँग हातेमालो गर्ने अनि जब आफूलाई अप्ठ्यारो पर्छ त्यसपछि तरुणदल नेविसंघ भन्ने ? ’ उनले सभापति देउवाको भण्डाफोर नगर्ने नेताविरुद्ध जाइलाग्ने चेतावनी पनि दिए ।

‘शेरबहादुर देउवाको गलत प्रवृत्ति विरुद्ध बोल्नुभएन भने पहिला हामी तपाईहरू विरुद्ध आवाज उठाउँछौँ अनिमात्रै नेतृत्वको विरोध गछौँ’

सभापति देउवाविरुद्ध युवा र विद्यार्थी बढि आक्रोशित छन् । नेविसंघका नेता तीर्थराज म्रिश्र भन्छन्, ‘हिजो ६०–४० को इक्वेसन बनाएर पार्टीबाट अलग भएर दरबारको बाक्लो दाल खान जानुभएको थियो तर हामीले पार्टीबाट छुट्टिने कल्पना कहिल्यै पनि गरेका थिएनौ र छैनौ । हाम्रो खबरदारीलाई बेवास्ता गर्नुभयो भने हामी कलम मात्र होइन मसाल बोकेर लखेट्न पनि तयार छौँ ’

देउवाले सभापतिका प्रत्याशी शेखर कोइरालाको वरियता २० औँ नम्बरमा राखेपछि शुरु भएको पछिल्लो विवाद भातृ संस्थाको अध्यक्ष तोकेयता चर्किदै गएको छ ।

नेविसंघ, तरुण दल , महिला संघ, किसान संघ , नेपाल आदिवासी जनजाति महासंघका असन्तुष्ट समूहले मोर्चाबन्दी गरेर सभापति देउवाविरुद्ध खबरदारी सुरु गरेका हुन् । देउवाले नेविसंघ , तरुण दल र महिलासंघको अध्यक्षमा आफू निकट नियुक्ति गरे पनि पूर्णता भने दिन सकेका छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved