चीन भ्रमणमा परराष्ट्रमन्त्री खड्काले उठाउने एजेण्डा यस्ता छन्….

समकक्षी वाङसँग भेटवार्ता हुँदै

चीन भ्रमणमा परराष्ट्रमन्त्री खड्काले उठाउने एजेण्डा यस्ता छन्….

बेइजिङ । परराष्ट्रमन्त्री डा. नारायण खड्का अहिले चीन भ्रमणमा छन् । बुधबार बिहान छिङतावो आइपुगेका मन्त्री खड्काले चिनियाँ समकक्षी वाङ यीसँग पनि भेटवार्ता गर्दैछन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भइसकेको अवस्थामा परराष्ट्रमन्त्री खड्काको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

विशेषगरी नेपालमा वर्तमान गठबन्धन सरकार बनेपछि चीनलाई चिढ्याउने कार्य भएको भन्दै कूटनीतिक वृत्तमा प्रश्न उठिरहेको छ। अघिल्लो केपी ओली नेतृत्वको सरकार बढी चीनतिर ढल्किएकाले नेपालको कूटनीति असन्तुलित बनेको  नेपाली कांग्रेसले बारम्बार उठाउने गरेको थियो। वर्तमान सरकार गठन हुनासाथ हुम्लामा चीनले सीमा मिचेको भन्दै छानबिन समिति गठन गरेपछि चीन झस्किएको थियो।

नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले वक्तव्य नै प्रकाशन गरी नेपाली कांग्रेसलाई बीपी कोइरालाको योगदान सम्झाउन खोजेकी थिइन्। गत मार्चमा चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपाल भ्रमणको समयमा मन्त्री खड्काले बीआरआई सम्झौतामा हस्ताक्षर गर्न नसकिने बताएपछि चीनसँगको सम्बन्धमा थप दरार सिर्जना भएको थियो।

वाङ यीकै भ्रमण ताका परराष्ट्रमन्त्री खड्काले चीन भ्रमण गर्ने इच्छा प्रकट गरेका थिए। बीआरआई सम्झौता लगायतका एजेण्डा पेश गर्न चीनले भनेपछि खड्काको भ्रमण अनिश्चित बनेको थियो। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका निर्देशक लिउ चियानछावोको नेपाल भ्रमणमा पनि खड्काले चीन भ्रमण गर्ने इच्छालाई दोहोर्‍याएका थिए।

निर्वाचन घोषणा भइसकेको अवस्थामा चीनसँगको चिसिएको सम्बन्धले जनस्तरमा पनि नकारात्मक असर पार्ने भएकाले खड्काको भ्रमणलाई अर्थपूर्ण मानिएको हो। यद्यपि खड्काको यो भ्रमणलाई चीनले उति महत्व दिएको मानिँदैन।
यस अगाडिका नेपालका परराष्ट्रमन्त्री चीन भ्रमणमा आउँदा बेइजिङ आउने र समकक्षीसँगको भेटपछि कुनै एक चिनियाँ स्टेट लिडरसँग भेट गर्ने प्रचलन थियो। चीनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री स्तरका नेतालाई स्टेट लिडर मानिन्छ।

परराष्ट्रमन्त्री खड्का नियमित र पुरानै एजेण्डा लिएर खड्का चीन भ्रमणमा आएका छन्। उनीसँग महत्वपूर्ण र नयाँ एजेण्डा नभएकाले पनि चीनले उति महत्व नदिएको हो। चिनियाँ समकक्षीसमक्ष खड्काले राख्ने एजेण्डाका बारेमा बेइजिङस्थित नेपाली दूताबासका उपप्रमुख कौशल किशोर रायले नेपाल भ्युजलाई जानकारी दिएका छन्। रायका अनुसार सम्पर्क सञ्चार समन्वय स्थापना गर्ने पहिलो एजेण्डा छ। उच्चस्तरमा जति भेटघाट भयो सम्बन्ध उति सुमधुर हुने उनले बताए।

दोस्रो चरणमा नेपाली विद्यार्थीलाई चीनमा पढ्नका लागि अनुकूल वातावरण बनाउने, नेपाल र चीनबीच हवाइ उडानलाई थप गर्ने एजेण्डा पनि छन्। पहिले चीनले घोषणा गरेको सहयोगलाई कार्यान्वयन गर्न नेपालले जोड दिएको छ । चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमण ताका घोषित ६० करोड चिनियाँ युआनको सहयोग नेपालले अझै प्राप्त गरेको छैन। यसमा नेपालले चीनको ध्यानाकर्षण गराउनेछ। नेपालमा विदेशी मुद्रा संचितीमा कम भइरहेकाले जतिसक्तो छिटो उक्त सहयोग लिने र थप सहयोग माग गर्ने एजेण्डा छ ।

नेपाल र चीनबीचका नाका खोल्ने सहमति पहिले नै भइसकेको र त्यसलाई तुरुन्तै कार्यान्वयन गर्ने विषय पनि नेपालले उठाएको छ । दुई देशका सुरक्षा निकायबीचमा समन्वय र सहकार्य लगायतका कुरामा पनि छलफल हुने र चिनियाँ परियोजनाका क्षेत्रमा कुरा गर्नका लागि अर्थ मन्त्रालयका अधिकारी पनि भ्रमण टोलीमा सहभागी रहेको रायले उल्लेख गरे।

बीआरआईका कुनै ठोस परियोनामा हस्ताक्षर हुन्छ कि भन्ने प्रश्नमा उनले परियोजना भनेकै बीआरआई अन्तर्गत चीनले राखेको हुनाले स्वत बीआरआई आउने जानकारी दिए। परराष्ट्रमन्त्री खड्का मंगलबार बेलुका काठमाडौँबाट चीनको पश्चिममा पर्ने युन्नान प्रान्तको खुन्मिङसम्म हिमालय एयरलाइन्सको नियमित उडानमा आइपुगेका थिए । बुधबार बिहान हिमालय एयरलाइन्सको सोही विमानलाई चार्टर गरी उनी शानतोङ प्रान्तको छिङतावो पुगे । खड्काको प्रतिनिधिमण्डल बिहीबार सोही चार्टर विमानबाट काठमाडौँ फर्कनेछ।

बेइजिङदेखि दक्षिणमा रहेको शानतोङ प्रान्तको छिङतावो सहर प्रख्यात पर्यटकीय क्षेत्र हो। छिङतावोको बियर युरोपसम्म प्रख्यात रहेको छ। छिङतावोमा यतिबेला अन्तर्राष्ट्रिय वियर महोत्सव चलिरहेको छ।

भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयक सचिव भरतराज पौडेल, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गणेशप्रसाद पाण्डे, भौतिक तथा पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याल लगायत रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved