घरबेटीलाई नशालु केक खुवाएर लुटपाट, २ जना भारतीय पक्राउ

नेपालभ्युज

घरबेटीलाई नशालु केक खुवाएर लुटपाट, २ जना भारतीय पक्राउ
सांकेतिक तस्वीर

महेन्द्रनगर । कञ्चनपुर भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलमा ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

सन्तोष पाण्डेयको परिवारका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाइ खुवाएको र बेहोस भएपछि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् ।

२०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवैजनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए । केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए ।

‘दुवै डाँका चोरी मुद्दामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको जानकारी पाइएपछि जिल्ला अदालत कैलालीको आदेशले कार्यालयमा ल्याई आवश्यक अनुसन्धान गरिरहेका छौं ।’ प्रहरी नायब उपरीक्षक शाहले भने ।

सोमबार लुटपाटमा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ल्याइएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved