प्रिय कथा

बाजी

आजै आफ्नो बहादुरी र साथीभाइको मद्दतले भैरवको रथ आफ्नोतिर तानेर विजयोत्सव मनाउनुका साथै सबैका सामु नाराँदेवीलाई आफ्नो बनाएर लाने बाजी पनि विसँकुमारले मनमनै लगाएको छ। यसैका लागि नै उसले आज नाराँदेवीलाई यहाँ बोलाएको हो।

बाजी

(रचनागर्भ– भक्तपुरको बिस्काः जात्रा। आठ रात र नौ दिनसम्म चल्छ यो जात्रा। स्थानीय योसिँख्यःमा योसिँ अर्थात् लिङ्गो ठड्याउनु र ढाल्नु अनि भैरव र भद्रकालीको रथ तान्नु र जुधाउनु यो जात्राका मुख्य विशेषता हुन्। तर त्यही भैरवको रथ तान्ने क्रममा स्थानीय तल्लो र माथिल्लो टोलका बासिन्दा (विशेषतः युवा) बीच हुने प्रतिस्पर्धा र झैझगडाले बिस्काः जात्राको रौनक र सौन्दर्यमाथि नै दाग लाग्दै आएको छ। यसै विषयलाई हृदयङ्गम गरेर मैले २०५७ साल वैशाखमा यो कथा लेखेको हुँ। यो कथा मलाई मन पर्ने मेरो कथामध्ये एक हो।

परम्पराको निर्वाह गर्नुपर्छ र परम्पराको जगेर्ना पनि गर्नुपर्छ। तर परम्परा निर्वाहका नाउँमा निर्मम भएर प्रतिस्पर्धामा उत्रनु र शान्त वातावरणलाई खलबल्याएर द्वेष र वैरभावलाई निम्त्याउनु उचित होइन। संस्कृतिले त आपसी भाइचारा, प्रेम र सद्भाव बढाउनुपर्छ। तर भक्तपुरेको संस्कृतिको महत्वपूर्ण अङ्ग बन्दै आएको बिस्काः जात्राले पछिल्लो समय विकृतिलाई बढावा दिइरहेको छ। शान्ति, मेलमिलाप, प्रेम, भाइचारा र सद्भावलाई बढावा दिनुपर्ने हाम्रो संस्कृतिले विकृति र वैरभावलाई बढावा दिएको देखेर कटक्क मन खायो र मैले यो कथा लेखेँ। संस्कृतिका नाउँमा आपसमा विकृति र वैरभाव होइन प्रेम र सद्भाव बढाऔं भन्ने सन्देश दिने अभीष्ट यो कथामा छ।)

नाराँदेवीले हतारहतार पश्चिमतिरको झ्याल खोलेर बाहिर हेरी। ‘ओहो, सूर्य पनि अस्ताइसकेछ !’ यसो भन्दै नाराँदेवीले हतारहतार नै झ्याल बन्द गरी र छेस्किनी लगाई।

दुई–तीनजना पाहुनाहरू गफ गर्दै खानमा तल्लीन छन्। उनीहरूलाई साँझ पर्नु र नपर्नुसित कुनै मतलब छैन। तर नाराँदेवीलाई भने निकै हतार भइरहेको छ। तैपनि उसले आफूलाई हतार भएको कुरा कसैलाई भन्न सकेकी छैन। आतुरीले उसको मनमा डाहा हुन थाल्यो।

नाराँदेवीलाई जतिसुकै हतार भए पनि उसका बाबुआमा भने पाहुनासित भलाकुसारी गर्दै तमाखु तानिरहेका छन्। बेलाबेलामा पाहुनालाई यो ल्याइदेऊ र त्यो ल्याइदेऊ भनेर नाराँदेवीलाई अह्राइ पनि रहेका छन्।

नाराँदेवीलाई मनमनै रिस पनि उठिसकेको छ। उसलाई कति हतार भइसकेको छ। तर पाहुनाहरू भने आरामसित गफ मार्दै खाइरहेका छन्।

नाराँदेवीले पाहुनाको सलिँचा रित्तिसकेको देखेर पनि त्यसमा रक्सी हालिदिन बिर्सी। ऊ एकोहोरो टोलाउन थालेकी थिई र ऊ मनमनै सोचिरहेकी थिई, ‘यतिखेरसम्म त टौमढीमा सबैजना आएर जम्मा भइसके होलान् …. !’

‘ए, के हेरिरहेकी ? सलिँचा रित्तिसकेको पनि देखिनस् ?’ नाराँदेवीको बाबु तमाखु तान्दै कराए।

नाराँदेवी झसङ्ग भई। बसेको ठाउँबाट हत्तपत्त उठेर अन्ती हातमा लिएर सलिँचामा रक्सी हालिदिन थाली। नाराँदेवी होसमा नभएर हो कि हातको सन्तुलन नमिलेर हो, हतार गरेकीले हो कि, खोइ किन हो, रक्सी सलिँचामा नपरेर भुइँमा पोखियो। यो देखेर नाराँदेवी हत्तपत्त समालिन खोजी। हतारले गर्दा ऊ होस–ठेगानमै थिइन।

रक्सी पोखिएको देखेर नाराँदेवीकी आमा गणेशमाया कराइन्, ‘हेर हेर यसको ढङ्ग, बिहे गर्ने बेला भइसक्यो, अझै काम गर्ने ढङ्ग आएको छैन।’

अब भने नाराँदेवीलाई रुनै मन लागेर आयो। उसलाई कत्ति हतार भइसकेको छ। त्यसमाथि काम पनि गर्नु छ, उल्टो गाली पनि खानु छ।

नाराँदेवीले रुन्चे मुख पारेर बाबुतिर हेरी। नाराँदेवीको बाबुले बल्ल कुरा बुझेझैँ गरी भने, ‘कहाँ जान हतार भएर तँ यस्तरी छट्पटिएकी हँ नाराँदेवी ?’

‘जात्रा हेर्न।’ नाराँदेवीले डराइडराई भनी।

‘केटी मान्छे भएर रातिराति किन जात्रा हेर्न जानुपर्‍यो ?’ यसपटक नाराँदेवीकी आमाले निषेध गर्न खोजिन्।

आमाको कुरा सुनेर नाराँदेवीलाई बच्चाजस्तै रोइदिन मन लाग्यो। रोएर जिद्दी गर्न मन लाग्यो। तर नरोईकन डराइडराई भनी, ‘म एक्लै जाने हो र, अरू पनि त जान्छन् नि।’

‘जान दिनुस् न त ! केटाकेटीमा सबैलाई यस्तो रहर हुन्छ।’ यसपटक पाहुनाले पनि नाराँदेवीको पक्षमा बोलि दिए।

‘लल जा, तर धेरै अबेर गर्ने होइन, बेलैमा घर आउने नि।’ नाराँदेवीका बाबुले स्वीकृति दिए र आदेश पनि दिए। तर यो आदेश नाराँदेवीका बाबुले छोरीको चिन्ताकै कारण दिएका थिए। त्यसैले त्यो आदेश नभइकन बाबुको माया बोलेको थियो।

बाबुको स्वीकृति पाएपछि नाराँदेवी दङ्ग पर्दै खुरुरु भर्‍याङ ओर्लेर गई।

नाराँदेवीले जाँदाजाँदै बाटैमा किस्नप्यारीलाई भेटी। अनि दुवै जना हतारहतार हिँड्न थाले।

हिँड्दाहिँड्दै किस्नप्यारीले सोधी, ‘नाराँदेवी, तँ किन ढिला ?’

‘हेर् न, घरमा पाहुना आएर फुर्सदै भएन। बाले पनि जानु पर्दैन भन्दै थिए, बल्लबल्ल मनाएर आएकी।’ नाराँदेवीले बेलिविस्तार लगाई।

‘अनि तेरो उसको हालखबर के छ नि ?’ किस्नप्यारीले अलिकति मुस्कुराएर सोधी। सम्भवतः त्यो मुस्कुराइमा केही अर्थ थियो, केही रहस्य थियो।

‘को ऊ ?’ नाराँदेवीले पनि अलिकति उत्सुक भएर भनी, ‘ए उसको ? उसैले बोलाएर त आएकी नि। नत्र त किन आउँथेँ र ! बच्चैदेखि हरेक वर्ष हेर्दै आएको जात्रा त हो नि !’

‘ए, त्यसोभए उसले बोलाएर मात्र आएकी ?’ किस्नप्यारीले जिस्काउने प्रयत्न गरी।

‘नजिस्का न मोरी, तँ पनि त ……………।’ नाराँदेवीले पनि जिस्काई।

दुवै जना हाँस्दै–मस्किँदै जात्रा हेर्न टौमढीतिर लागे।

नाराँदेवीको ऊ, अर्थात् विसँकुमार। उसको लेखिने नाउँ विष्णुकुमार हो तर बोलाउँदा उसलाई विसँकुमार भन्ने गर्छन् सबैले। यसो त नाराँदेवीको पनि लेखिने नाउँ नारायणदेवी हो तर बोलाउन सजिलाको लागि सबैले उसलाई नाराँदेवी नै भन्छन्।

दूरीको हिसाबले विसँकुमारको घर क्वःनेमा पर्छ भने नाराँदेवीको घर थःनेमा पर्छ। यो बिस्केट जात्रा पनि यही थःने र क्वःनेका बासिन्दाबीच नै हुने गर्छ। थःने र क्वःनेका बासिन्दाबीच टौमढीको तलेजु भवानीको मन्दिर अगाडिको चोकमा भैरवको रथ तान्ने प्रतिस्पर्धाजस्तै हुन्छ। भैरवको रथलाई तानेर आफ्नो क्षेत्रमा लानु थःने र क्वःनेका बासिन्दाका लागि इज्जत, प्रतिष्ठा र गौरवको विषय बन्दै आएको छ। यही इज्जत, प्रतिष्ठा र गौरवका लागि भैरवको रथ तान्ने प्रतिस्पर्धा चल्छ र प्रायजसो हरेक वर्ष यी दुई पक्षका बीच झगडा पनि हुँदै आएको छ।

तलेजु भवानी, नवदुर्गा, दत्तात्रय, सूर्यविनायक आदि मन्दिरहरूमा देवताको दर्शन गर्न जाँदा–आउँदा नाराँदेवी र विसँकुमारको देखादेख र हेराहेर भएको थियो। यस्तो देखादेख र हेराहेर धेरै समयसम्म चलिरह्यो तर उनीहरूबीच बोलचाल भएको थिएन। पोहोरसाल यही बिस्केट जात्रामा भैरवको रथ तानेको हेर्न आउँदा यहीँ टौमढीमा उनीहरूको असजिलोसित बोलचाल भएको थियो। बोलचाल भएपछि उनीहरूले धेरै कुरा गरेका थिए। भेलुखेलमा लिङ्गो ठड्याउने र ढाल्ने जात्रा पनि सँगसँगै बसेर हेरेका थिए। नजिकैको नवदुर्गा सिनेमा हलमा सिनेमा पनि हेरेका थिए। यसरी उनीहरूको बोलचाल अगाडि बढेको थियो, भेटघाट अगाडि बढेको थियो। अनि त्यो असजिलोसित सुरु भएको बोलचाल निक्कै सजिलोमा परिणत भएको थियो। यो एक वर्षमा उनीहरू धेरैवटा मन्दिरहरूमा सँगसँगै देवताको दर्शन गर्न गए। मच्छेन्द्रजात्रा, इन्द्रजात्राजस्ता धेरै वटा जात्राहरू पनि सँगसँगै हेर्न गए। धेरैवटा सिनेमा पनि हेरे। सिनेमाका नायक–नायिकाबीचको मायाप्रीति पनि देखे। अनि बिस्तारै उनीहरूले पनि माया गर्न सिके, प्रेम गर्न जाने। उनीहरू पनि प्रेमी–प्रेमिका बने। मायाका धेरैधेरै कुरा गरे। सँगै बाँच्ने कुरा गरे। सँगै मर्ने कुरा गरे। एकले अर्कालाई माया गर्न थाले।

नाराँदेवी र किस्नप्यारी टौमढी पुग्दा मान्छेहरूको खचाखच भीड जम्मा भइसकेको हुन्छ। नाराँदेवी भीडलाई छिचोल्दै अगाडि जान खोज्छे। किस्नप्यारी पनि त्यसै गर्छे। त्यसरी भीडमा दुइटी तरुनीहरू कोच्चिँदै अघि बढेको देखेर भीडबाटै केही छुल्याहा केटाहरू कराएको आवाज आउँछ, ‘ल्यासेहरू आए, ल्यासेहरू।’ त्यसपछि भीड उनीहरूतिरै आकर्षित हुन्छन्, तर उनीहरूलाई भीडको मतलब हुँदैन। नाराँदेवीलाई मतलब छ, विसँकुमारको। किस्नप्यारीलाई पनि मतलब होला त्यस्तै कुनै किसँकुमारको वा रतँबहादुरको। नाराँदेवी आँखा दौडाइरहेकी छ, विसँकुमारको खोजीमा। सायद विसँकुमार पनि यसरी नै तड्पिँदै आँखा दौडाइरहेको होला नाराँदेवीको खोजीमा।

यताउति हेर्दाहेर्दै नाराँदेवीको आँखा अकस्मात् भैरवको रथ तान्न तम्तयार युवकहरूको माझमा पर्छ। उसले अघिदेखि खोजिरहेको उसको मान्छे पनि त्यहीँ हुन्छ। ऊ पनि त्यसैगरी यताउति हेरिरहेको हुन्छ। नाराँदेवीका हात अनायासै माथि उठ्छन् विसँकुमारलाई देखेर। शायद त्यो हात उठाइको सङ्केत म यहाँ छु भन्ने होला। नाराँदेवीको हात उठेको देखेर विसँकुमारको आँखा त्यतै पर्छ। त्यहाँ नाराँदेवीलाई देखेर ऊ खुसी हुन्छ। ऊ प्रसन्न हुन्छ। उसको शरीरमा थप स्फूर्ति पैदा भएझैँ हुन्छ। अनि ऊ भीडलाई छिचोल्दै नाराँदेवी भएछेउ आउँछ।

विसँकुमार हाँसेर उभिरहन्छ नाराँदेवीको छेउमा। उसलाई के बोलूँ के बोलूँ हुन्छ तर केही बोल्न सक्दैन। खालि उभिएर मुसुमुसु हाँसि मात्रै रहन्छ। नाराँदेवीलाई उकुसमुकुस हुन थाल्छ। ऊ पनि केही बोल्न सक्दिन। लजाएर विसँकुमारलाई हेरि मात्रै रहन्छे। दुवै मौन छन् तर लाग्छ दुवैका स्पन्दन बोलिरहेका छन् यसरी, ‘मेरी नाराँदेवी ! मेरो विसँकुमार !’

नाराँदेवी र विसँकुमार भीडदेखि अलि छेउ लाग्छन्, जहाँ भीड छैन, कोलाहल छैन। दुवैले एक अर्काको स्पन्दन सुन्छन्। हृदयको बोली सुन्छन्। सुनेर खुसी हुन्छन्। रमाउँछन्।

विसँकुमारले विस्तारै नाराँदेवीको हात समाउँछ। नाराँदेवी विस्तारै चलमलाउँछे र हात फुत्काउन खोज्छे।

‘के भयो नाराँदेवी ?’ विसँकुमारको मनमा खुलदुली लाग्छ।

‘अरूले देख्छन्।’ नाराँदेवी सरम पोख्छे।

‘देखेर के हुन्छ ?’ विसँकुमारको उन्माद झन् छचल्किन्छ।

‘लाज लाग्छ नि।’ नाराँदेवीको लाजको घडा छताछुल्ल पोखिन्छ। विसँकुमार त्यसैमा लडखडाएर लड्न खोज्छ। नाराँदेवीले उसलाई समाल्छे। अब दुवैका हात एकआपसमा बाँधिइन्छन्। दुई ज्यान एक हुन्छन्। अब त्यहाँ लज्जावती होइन, लालीगुराँस फुल्छ, इन्द्रकमल फुल्छ।

विसँकुमार वर्षदिनदेखि मनमा गुम्सिरहेको इच्छा बोल्न खोज्छ। ऊ नाराँदेवीको आँखामा हेर्छ, त्यहाँ स्वीकृति छ। नाराँदेवी विसँकुमारको आँखामा हेर्छे, त्यहाँ भावना छ। भावना पनि छ र स्वीकृति पनि छ। अब बाँकी छ अभिव्यक्ति।

विसँकुमार बिस्तारै नाराँदेवीको हात समातेर भन्छ, ‘नाराँदेवी, आज म मेरो टोलको तर्फबाट भैरवको रथ तान्न आएको।’

सुनेर नाराँदेवी झसङ्ग हुन्छे। ऊ सम्झन्छे रथ तान्दाको भीडको दृश्य। त्यो तनावपूर्ण वातावरण। अघिसम्म दुइटा टोलका मान्छेहरू, एकै छिनमा दुई वैरीका समूहमा परिणत भएको दृश्य। रथ आफ्नोतिर तान्ने प्रतिस्पर्धामा रमाइलो दृश्य झगडामा परिणत भएको वास्तविकता। कुटाकुट। हानाहान। भागाभाग।

दौडादौड। कसैका टाउको फुटेको। कसैका हात भाँच्चिएको। कसैका खुट्टा भाँच्चिएको। कसैका आँखा
फुटेको। कसैका ज्यान ………। नाइँ …….. ! नाराँदेवी अत्तालिन्छे। यो जात्रामा यस्तै हुने गरेको छ। सम्भवतः अब पनि यस्तै हुन्छ। यसैगरी झगडा भयो भने ? ढुङ्गा हानाहान भयो भने ? विसँकुमारलाई केही भयो भने …. ?

यहाँ भन्दा बढी नाराँदेवीले कल्पना गर्न सकिन। ऊ अत्तालिई र विसँकुमारको छातीमा टाँस्सिई।

‘जानु पर्दैन रथ तान्नलाई।’ नाराँदेवीले विसँकुमारको छातीमा टाँस्सिँदै रुन्चे स्वरमा भनी।

विसँकुमार पनि भावविह्वल भयो। उसको पनि हृदय द्रवित भयो। उसलाई पनि थाहा छ, यो जात्रामा हरेक वर्ष झगडा हुने गरेको छ, दुइटा टोलको बीचमा। उसले देखेको छ, एक छिन अघिसम्मको जात्राको रमाइलो भीड लडाइँमा परिणत भएको, दुइटा टोल वैरी राष्ट्रमा परिणत भएको, अनि दुई प्रतिद्वन्द्वी टोलका बीच हानाहान र मारामार भएको, घरका झ्यालझ्यालबाट इँटा र ढुङ्गा बर्सेको, मान्छेहरूको भागाभाग र दौडादौड भएको, आइमाई र केटाकेटीहरूको रुवावासी र कोलाहल मच्चिएको, तर आज ऊ कर्तव्यबद्ध छ। उसलाई अरू युवकहरूलाई जस्तै उसको टोलको गुठीले भैरवको रथ तान्नलाई खटाएको छ।

यतिमात्र होइन, रथ आफ्नो पक्षमा तानेर विजय हासिल गर्न पनि अह्राइएको छ। त्यसैले उसले गुठीको नियमानुसार आदेश पालन गर्नु छ। गुठीको नियम र आदेश उल्लङ्घन गरेमा उसलाई गुठीबाट बाहेक गर्न सकिनेछ। त्यसपछि उसको परिवार टोलभरिमा एक्लो पर्नेछ। मर्दापर्दा उसको घरको लास उठाउन पनि टोलका कोही आउने छैनन्। यसरी गुठीबाट बाहेक भएर एक्लो हुनु भनेको उसको सामाजिक संस्कारअनुसार जिउँदै मर्नु हो। विसँकुमार यसो हुन दिन चाहँदैन। उसको घरका परिवारले यसो हुन दिँदैन। त्यसैले ऊ ज्यानको बाजी राखेर रथ तान्न जान बाध्य छ।

कुरा यत्ति मात्र पनि होइन, आजै आफ्नो बहादुरी र साथीभाइको मद्दतले भैरवको रथ आफ्नोतिर तानेर विजयोत्सव मनाउनुका साथै सबैका सामु नाराँदेवीलाई आफ्नो बनाएर लाने बाजी पनि विसँकुमारले मनमनै लगाएको छ। यसैका लागि नै उसले आज नाराँदेवीलाई यहाँ बोलाएको हो।

नाराँदेवीलाई आफ्नो बाहुपाशबाट बिस्तारै छुटाएर विसँकुमारले भन्छ, ‘नाराँदेवी, आज मैले नवदुर्गाको कसम खाएर आएको छु। म आज भैरवको रथलाई तानेर आफ्नो टोल क्वःनेमा लगेरै छाड्छु। अनि आजै तिमीलाई पनि म मेरो घरमा लान्छु। यो मेरो कसम हो। यदि भैरवको रथलाई आफ्नो टोलमा लान सकिनँ भने ……………. !’

विसँकुमारले वाक्य अधुरै छोड्यो। उसले के भन्न खोजेको हो, नाराँदेवीले बुझ्न सकिन। विसँकुमारले पनि फेरि पूरा बाक्य भनेन। खालि नाराँदेवीको मुखमात्रै टुलुटुलु हेर्न थाल्यो। विसँकुमारको अधुरो वाक्यलाई नाराँदेवीले आफ्नै अर्थ लगाई, रथ तानेर आफ्नो टोलमा लान नसकेमा उसलाई पनि आफ्नो घरमा लान्न भनेको हो कि ! यो सम्झेर नाराँदेवी चिन्तित बनी। चिन्तित हुनु स्वाभाविकै थियो, किनकि उसले विसँकुमारलाई नै मनको देवता मानिसकेको छ। ऊ कुनै हालतमा पनि विसँकुमारलाई छोड्न सक्दिन। अब ऊ मनमनै भगवानलाई पुकार्न थाली, जित विसँकुमारकै होस्।

विसँकुमार गयो, रथ तान्नलाई। उसका टोलका युवकहरू रथ तान्नलाई तम्तयार थिए, क्वःनेतिरबाट। यता थःनेतिरबाट पनि एकसेएक युवकहरू तम्तयार थिए रथ तान्नलाई। नाराँदेवीले देखी, थःनेतिरबाट रथ तान्ने युवकहरूको भीडमा उसको दाजु तुयुलाल पनि थियो। एकातिर आफ्नो मनको देवता विसँकुमार, अर्कोतिर आफ्नो साक्खै दाजु तुयुलाल। नाराँदेवी अब दोधारमा परी, कसको पक्ष लिनु, कसको पक्ष नलिनु। विसँकुमारको जित भए आफ्नो दाजुको हार हुन्छ, आफ्नो दाजुको जित भए विसँकुमारको हार हुन्छ। यो कस्तो मोड हो, जहाँ यतिखेर नाराँदेवी उभिएकी छ ? ऊ एक पाइला यता सार्न पनि सक्दिन, एक पाइला उता सार्न पनि सक्दिन। जहाँजता पाइला सारे पनि एउटालाई न्याय हुन्छ भने अर्कोलाई अन्याय। यो धर्मसङ्कटबाट मुक्त हुन नाराँदेवीले के गर्नुपर्छ कुन्नि ! यो नाराँदेवीले सोच्न सकेकी छैन।

पूजाअर्चना सकियो। रथ तान्न सुरु भयो। चारैतिरबाट ताली र सुसेली बज्न थाले। टोलका मान्छेहरू आफ्ना युवकहरूलाई हौसला बढाउन थाले। चारैतिर उत्साह र उमङ्ग फैलियो। रोमाञ्च बढ्यो। रमाइलो भयो, तर यसरी रमाइलोसित सुरु भएको जात्रा नरमाइलोसित टुङ्गिन्छ। यही नै दुःखको कुरा छ।

रथ बेस्कन हल्लिन थाल्यो। कहिले थःनेतिर, कहिले क्वःनेतिर। कहिले क्वःनेतिर, कहिले थःनेतिर। दर्शकहरूमा झन्झन् उत्साह र उत्तेजना बढ्न थाल्यो। मान्छेहरूको खुसी र आवेगको चिच्च्याहट बढ्न
थाल्यो। झ्याल, बार्दली र कौसीहरूबाट फूल, अक्षता र अबिर बर्सन थाल्यो। टौमढीको भुइँ फूल, अक्षता र अबिरले रातै भएर रङ्गिन थाल्यो। खुसी, आवेग र उत्तेजना उत्कर्षमा पुग्यो।

तर हेर्दाहेर्दै त्यो खुसी, आवेग र उत्तेजना एकैछिनमा विषादमा परिणत भयो। हेर्दाहेर्दै रथ तान्नेहरू र दर्शकहरूको भीड हिंस्रक भिडन्तमा उत्रिन थाले। रथ अलिकति मात्रै क्वःनेतिर के तानिएको थियो, थःनेतिरबाट इँटा र ढुङ्गाहरू प्रहार हुन थाले। मुढा र लाठीहरू चल्न थाले। झ्याल, बार्दली र कौसीहरूबाट अब फूल, अक्षता र अबिर होइन, ढुङ्गा, मुढा र इँटाहरू बर्सिन थाले। टौमढीको भुइँ फेरि एक पटक रङ्गियो तर अबिरले होइन मान्छेहरूका रगतले।

रथ क्वःनेतिर तानिएको देखेर नाराँदेवी अलिकति मात्रै के खुसीले खिल्न खोजेकी थिई, त्यो खुसीमा पनि एक्कासि ग्रहण लाग्यो। मान्छेहरूको भागाभाग र दौडादौड हुन थाल्यो। आइमाई तथा केटाकेटीहरूको रुवावासी र कोलाहल मच्चिन थाल्यो। नाराँदेवी पनि डरले अत्तालिएर फुत्त एउटा घरभित्र छिरी। त्यहीँ अँध्यारो छिँडीमा एकछिनसम्म आँखा चिम्लेर बसिरही।

केही समयपछि नाराँदेवी बाहिर आएर हेर्दा टौमढीको चोक सुनसान भइसकेको थियो। त्यहाँ न रथ तान्नेहरू थिए, न रथ तानेको हेर्ने तमासे दर्शकहरू नै थिए। त्यहाँ नाराँदेवीको दाजु तुयुलाल पनि थिएन। त्यहाँ नाराँदेवीको मनको देवता विसँकुमार पनि थिएन। त्यहाँ भैरवको रथ मात्रै थियो तटस्थ र थिए भुइँमा रगतका फाल्साहरू। अनि थिए दुई–चारजना प्रहरीहरू सुरक्षार्थ खटिएका। त्यहाँ कोही त थिएनन्, थाहा छैन अब कसको सुरक्षामा खटिएका हुन् ती प्रहरीहरू।

नाराँदेवी उभिएर एकछिनसम्म क्वःनेतिर हेरिरही त्यहाँ विसँकुमार आउँछ कि भनेर। तर धेरैबेरसम्म हेरिरहँदा पनि त्यहाँ कोही देखा परेन। अब नाराँदेवीलाई यो पनि लाग्न छाड्यो कि उसको विसँकुमार उसलाई लिन आउँछ कि आउँदैन।

नाराँदेवी कता जाऊँ, कता नजाऊँ भएर अलमलिइरही। पाइला कतै चाल्न सकिन। उसलाई आफ्नै पाइला पनि पहाडजस्तै गर्‍हुँगो लाग्न थाल्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved