शेखरको प्रश्न- अर्बौँ चलखेलका आरोपित अर्थमन्त्रीलाई कारबाही नगर्नुमा के स्वार्थ छ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाएका छन्।

नेपालभ्युज

शेखरको प्रश्न- अर्बौँ चलखेलका आरोपित अर्थमन्त्रीलाई कारबाही नगर्नुमा के स्वार्थ छ?

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाएका छन्। बिहीबार काठमाडौंमा आफूनिकट नेताहरूसँगको छलफलमा कोइरालाले यसबारेको देउवाको स्वार्थको आशंका गरेका हुन्।

उनले निर्वाचनको मुखमा हुने यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद गर्ने धारणा राखे। कोइरालाले भने, ’’अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन्। प्रधानमन्त्रीले किन कारबाही नगरेको? के स्वार्थ छ?’’
चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र नगर्ने व्यवस्था नै नागरिकको कठघरामा उभिने उनले औँल्याए।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले राष्ट्रहित र आम नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।

उनले पार्टीको सरकार भएको बेला राम्रो काम गर्ने पार्टीको रूपमा जनतामाझ चिनिएर पार्टी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुनुपर्ने आफूहरूको चाहना भएको बताए।

काठमाडौंको बत्तीसपुतलीमा बिहीबार बसेको कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाएको छ। बैठकमा बोल्ने अधिकांश नेताहरूले १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढङ्गले सञ्चालन हुन नसकेको बताए।

स्थानीय तह निर्वाचनको लामो समयसम्म पनि पार्टी सभापतिले केन्द्रीय कार्यसमितिको बैठक नराखेको भन्दै नेता कोइरालाले आफू पक्षीय नेताहरूको छुट्टै बैठक राखेका हुन्। बैठकमा सहभागी नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाए।

बैठकमा नेता कोइरालासहित पार्टीको केन्द्रीय समितिका कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी थिए। शुक्रबार दिउँसो २ बजे पुनः बैठक बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved