पूँजीबजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गर्‍यो समिति

नेपालभ्युज

पूँजीबजारका समस्या अध्ययन गर्न अर्थ मन्त्रालयले गठन गर्‍यो समिति

काठमाडौं ।
अर्थ मन्त्रालयले पूँजी बजारमा निरन्तर गिरावट आइरहेको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गरिएको छ ।

मन्त्रालयमा बुधबार बिहान भएको छलफलपछि धितोबोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक एक–एक प्रतिनिधि तथा धितोबार्ड बोर्डको एक प्रतिनिधि सदस्य सचिव रहने गरी समिति बनाइएको हो । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै यसबारे जानकारी दिएका हुन् ।

‘पुँजीबजारमा देखिएका विविध समस्याहरुलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर आजै मात्रै चार सदस्यीय सुझाव समिति गठन गरेका छौं’ उनले भने ।

सो अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पूँजीबजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पुँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराए । आगामी आवको बजेट वक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका विषयहरु उल्लेख छन् ।

धितोपत्रको दोस्रो बजारमा गैरआवासिय नेपालीलाई लगानी खुल्ला गर्न कानूनी व्यवस्था गर्ने, बैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षित गर्ने, एक अर्ब रुपैयाँ वा सो भन्दा बढीको पूँजी वा ५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काश गर्ने गरी सूचीकृत हुन लगाउनेलगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।

उहाँले पूँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिनुभएको थियो । उहाँले पुँजीबजारका बारेमा नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरुलाई निर्देशन पनि दिनुभयो ।‘पूँजीबजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता हुनुपर्‍यो । तालिम दिन जनशक्ति परिचालन गर्नुपर्‍यो’, उनले भने, ‘अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पुूजीबजारका बारेमा बुझाउने कुरामा कमी भएको छ ।’

पूँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नविन प्रविधिको प्रयोग गरी सेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार सञ्चालन हुनुपर्ने लगायतका विषयमा उनले जोड दिएको थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved