भाजपा नेताका विवादास्पद अभिव्यक्ति : मुश्लिम देशसँगको भारतीय सम्बन्ध अप्ठेरोमा

कतारमा रहेका भारतीय राजदूतले दीपक मित्तलले केही व्यक्तिले दिएको अभिव्यक्तिले सम्पूर्ण भारतको प्रतिनिधित्व नगर्ने बताएका छन्। भाजपाका केही वरिष्ठ नेता र कूटनीतिज्ञहरुले समेत उक्त अभिव्यक्तिको निन्दा गरेका छन्।

नेपालभ्युज

भाजपा नेताका विवादास्पद अभिव्यक्ति : मुश्लिम देशसँगको भारतीय सम्बन्ध अप्ठेरोमा

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा) का दुई प्रभावशाली नेताहरुले मुश्लिम धर्म गुरु पैगम्बर मोहमदका विषयमा दिएको विवादास्पद अभिव्यक्तिका कारण भारतलाई कूटनीतिक अप्ठेरो बढ्दै गएको छ।

मुश्लिम देशहरु यूएई, ओमान, इण्डोनेशिया, इराक, माल्दिभ्स, जोर्डन, लिबिया र बहराइनले भारतीय जनता पार्टीका नेताहरुले दिएको अभिव्यक्तिको खण्डन गर्ने सूचीमा अघि आएका छन्। यसअघि, कुवेत, इरान, कतार लगायतका देशले आफ्नो देशमा भएका भारतीय राजदूतलाई बोलाएर आफ्नो असहमति जनाएका थिए। यता साउदी अरेबियाले भने भारतीय जनता पार्टीका नेताहरुको अभिव्यक्तिमाथि कडा टिप्पणी नै सार्वजनिक गरेको थियो।

भारतसँग राम्रो सम्बन्ध भएका यी देशले भारतीय नेताको अभिव्यक्ति उपर कडा आलोचना गर्दा दुई पक्षीय सम्बन्धमा नै त्यसले असर पुग्ने देखिएको छ।

आलोचनाको केन्द्रमा भने भाजपा प्रवक्ता नुपुर शर्मा परेकी छन्। उनले गत महीना पैगम्बर मोहमदका विषयमा एक टेलिभिजन साक्षात्कार कार्यक्रममा आपत्तिजनक शब्दको प्रयोग गरेकी थिइन्। उनले अभिव्यक्ति समाजिक सञ्जालमा भाइरलसमेत भएको थियो। यता भाजपाका अर्का नेता नवीन जिन्दलले पनि यस विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका थिए। जिन्दल पार्टीको दिल्ली प्रमुख हुन्।

विश्लेषकहरुले शर्मा र जिन्दलका अभिव्यक्तिले देशमा केही समयदेखि देखिएको धार्मिक विभाजनलाई प्रष्ट पारेको दाबी गरेका छन्। सन् २०१४ मा भाजपा भारतको सत्तामा आएसँगै मुश्लिम धर्मप्रति राज्यले गर्ने व्यवहारमा निकै परिवर्तन आएको विश्लेषकहरुको मत छ।

शर्माको अभिव्यक्ति लगत्तै भारतमा अल्पसंख्यकका रुपमा रहेका मुश्लिम समूदाय आक्रोशित भएको थियो। मुश्लिम देशहरुले भाजपा नेताहरुको अभिव्यक्तिका कारण आपत्ति जनाएसँगै पार्टीले शर्मालाई पार्टीको जिम्मेवारीबाट निलम्बन गरेको छ भने जिन्दललाई निष्काशित गरेको छ।

भाजपाले एक विज्ञप्ति सार्वजनिक गर्दै कुनै धर्म र सम्प्रादायप्रति नकारात्मक भावना फैलाउने आफ्नो कुनै मनसाय नभएको बताएको छ। उसले विज्ञप्तिमा भनेको छ, ‘भाजपा कुनै धर्म र सम्प्रदायलाई होच्याउने प्रवृत्तिको विरोध गर्छ। भाजपा यस्ता व्यक्तिहरु र उनीहरुले बोक्ने विचारलाई आत्मसाथ गर्दैन।’

तर, विश्लेषकहरुले भने भाजपाको यस्तो विज्ञप्तिले मात्रै देशको कूटनीतिक सम्बन्धमा पुर्‍याएको असरलाई कम नगर्ने बताउँछन्। आन्तरिक रुपमा नेताहरुले धर्मका विषयमा गरेको टिप्पणीले अन्तर्राष्ट्रिय रुप लिएसँगै यो मुद्दाको गाम्भीर्यता बुझ्नुपर्ने उनीहरुको मत छ।

कतारले भारतीय नेताहरुले पैगम्बर मोहमदका विषयमा दिएको अभिव्यक्तिको सार्वजनिक रुपमा क्षमायाचना गर्ने आफूले अपेक्षा गरेको बताएको छ।

‘गैर-इस्लामिक अभिव्यक्ति दिएका व्यक्तिलाई भारतले बिना कुनै कारबाही छोड्यो भने त्यसले भविष्यमा नकारात्मक अवस्थाको सिर्जना गर्नसक्छ,’ कतारका विदेशमन्त्रीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्।

साउदी अरेबियाले पनि आफूले सार्वजनिक गरेको विज्ञप्तिमा कडा रुपमा भारतीय नेताको अभिव्यक्तिको प्रतिकार गरेका छ। साउदी अरेबियाको विदेश मन्त्रालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘भारतीय जनता पार्टीका प्रवक्ताले पैगम्बर मोहमदका विषयमा दिएको अभिव्यक्तिको हामी कडा शब्दमा आपत्ति जनाउँछौँ।’

कतारमा रहेका भारतीय राजदूतले दीपक मित्तलले केही व्यक्तिले दिएको अभिव्यक्तिले सम्पूर्ण भारतको प्रतिनिधित्व नगर्ने बताएका छन्। भाजपाका केही वरिष्ठ नेता र कूटनीतिज्ञहरुले समेत उक्त अभिव्यक्तिको निन्दा गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved