श्रम सहचारी र काउन्सिलरलाई मन्त्री श्रेष्ठको निर्देशन : श्रमिकका गुनासा सुन्नू

नेपालभ्युज

श्रम सहचारी र काउन्सिलरलाई मन्त्री श्रेष्ठको निर्देशन : श्रमिकका गुनासा सुन्नू

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तव्य मुलुकमा श्रमिकका गुनासो सम्बोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन्।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र कतारका लागि नियुक्त भएका काउन्सेलर (श्रम) र श्रम सहचारीहरूको अभिमुखीकरण कार्यक्रम समापनमा मन्त्री श्रेष्ठले श्रमिकहरू दूतावासमा आउँदा पनि आफ्नो समस्या नसुनिएको गुनासो व्याप्त रहेको बताउँदै श्रमिकका समस्या समाधानका लागि प्रभावकारी भूमिका खेल्न निर्देशन दिए।

श्रमिकको हक अधिकारको संरक्षण, समस्या परेको अवस्थामा उद्धार तथा रोजगार दाता र कामदारबीच भएको विवाद समाधानमा काउन्सिलर र श्रम सहचारीहरूले भूमिका खेल्नुपर्ने मन्त्री श्रेष्ठले बताए।

मन्त्रालयका सचिव एकनारायण अर्यालले काउन्सेलर (श्रम) र श्रम सहचारीहरू विदेशी कानून तथा आप्रवासी कामदारको मुद्दाबारे जानकार हुनुपर्ने बताए।

अभिमुखीकरणमा वैदेशिक रोजगार व्यवस्थापन प्रणाली, श्रम आप्रवासन, द्विपक्षीय श्रम सम्झौता, श्रम कूटनीति, वैदेशिक रोजगारसम्बन्धी कानूनलगायतबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए।

विदेशमा कामदारको सहयोगका लागि श्रम सहचारी राख्न सकिने कानूनी व्यवस्था छ। मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीनबन्धु सुवेदी तथा बहराइनको श्रम सहचारीमा जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेललाई नियुक्त गरेको हो।

काउन्सिलर तथा सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड-२०७३ बमोजिम मूल्यांकनबाट मन्त्रिस्तरीय निर्णयले सिफारिस गरिएको हो।

माघ १९ गते सूचना प्रकाशित गर्दै ‘काउन्सिलर तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड-२०७३’ अनुसार आवेदन माग गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved