टोखाको प्रमुखमा दोहोरिए एमालेका अधिकारी, उपप्रमुखमा भने कांग्रेसका तामाङ निर्वाचित

कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै अधिकारी दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित भएका छन्।

नेपालभ्युज

टोखाको प्रमुखमा दोहोरिए एमालेका अधिकारी, उपप्रमुखमा भने कांग्रेसका तामाङ निर्वाचित

काठमाडौं। टोखा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएका छन्।

स्थानीय तहको ३० वैशाखमा सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै अधिकारी दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित भएका छन्।

निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी थापाले १० हजार १६६ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिइन्। अधिकारी र थापाको मतान्तर १७४ रहेको थियो।

यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएका छन्। विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरिन्।

उपप्रमुखमा पराजित डङ्गोल अघिल्लो कार्यकालमा टोखाको उपप्रमुख थिइन्। कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो।

काठमाडौंको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved