निर्वाचन लक्षित सुरक्षा रणनीति तयार

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना तयार भएको हो।

नेपालभ्युज

निर्वाचन लक्षित सुरक्षा रणनीति तयार

गलेश्वर। आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीमा निर्वाचन सुरक्षा रणनीति तयार पारिएको छ।

जिल्लास्थित सुरक्षा निकायको समन्वयमा म्याग्दीका ७४ मतदानस्थल र ११४ मतदान केन्द्रलाई लक्षित गरी मतदानअघि,मतदान रमतगणनासम्मको अवस्थालाई ध्यानमा राखेर सुरक्षा रणनीति तयार गरी कार्यान्वयनमा ल्याइएको हो।

जिल्ला प्रशासन कार्यालय म्याग्दीका अनुसार निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गर्ने गरी प्रभावकारी सुरक्षा योजना तयार भएको हो।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीति कार्यान्वयनमा ल्याएको म्यादीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए। नेपाली सेना र सशस्त्र प्रहरी निर्वाचन हुने ठाउँ–ठाउँमा पुगिसकेका छन् भने नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृतसँग पुग्ने तयारी भएको उनको भनाइ छ।

निर्वाचनलाई शान्त, सुरक्षित, निष्पक्ष तथा स्वतन्त्र ढङ्गले भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति प्रभावकारीरूपमा कार्यन्वयन गरिएको प्रजिअ रानाले बताए।

निर्वाचन लक्ष्य गरेर म्यादी प्रहरी ६१९, नेपाल प्रहरी ३८०, सशस्त्र प्रहरी २०६, नेपाली सेना २३२ परिचालन हुने प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। उनका अनुसार जिल्लामा निर्वाचनका लागि कायम भएका ७४ मतदानस्थलमा मुख्य सुरक्षाको भूमिकामा नेपाल प्रहरी, म्यादी प्रहरी र दोस्रोमा सशस्त्र प्रहरी तथा बाहिरी घेरामा नेपाली सेना रहने छन्।

मतदानपूर्व, मतदान र मतदानपछिको तीन चरणमा सुरक्षा रणनीति तयार गरिएको छ। प्रमुख जिल्ला अधिकारी रानाको नेतृत्वमा निर्वाचनका लागि शान्ति सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सुरक्षा तयारी, मतदानस्थल अनुगमन, सुरक्षा चुनौतीको विश्लेषण र सुरक्षाकर्मी परिचालन योजना तयार गरिएको प्रनाउ भारतीले बताए। यही २५ देखि २८ वैशाखभित्रमा सम्पूर्ण मतदानस्थलमा सुरक्षाकर्मी खटिसक्ने छन्।

यसपालिको स्थानीय तह चुनाव बहिष्कार गर्ने समूह छैनन्। भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाका आधारमा मतदानस्थललाई वर्गीकरण गरिएको छ। चुनाव प्रचार र मौन अवधिमा आचारसंहिता उल्लङ्घन हुँदाको अवस्थालाई सुरक्षा चुनौतीका रूपमा हेरिएको छ।

धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाको जनकल्याण माविको मतदान केन्द्रमा यातायात सुविधा पुगेको छैन। रघुगङ्गा गाउँपालिकाको वडानं ८ ध्याँसीखर्कमा सञ्चार सुविधा छैन। दुर्गम र विकट ठाउँको मतदानस्थलबाट मतपेटिका मतगणनास्थलसम्म ढुवानी गर्न सुरक्षा समितिले हेलिकोप्टरको प्रस्ताव गरेको छ।

छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ११४ मतदान केन्द्र छन्। जिल्लामा कूल ८५ हजार ३७५ मतदाता छन्। तीमध्ये ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन्। २३७ पदका लागि हुने निर्वाचनमा ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved