वर्षायामको २ सय मेगावाट विद्युत् भारतमा बेच्न टेण्डर आह्वान

नेपालभ्युज

वर्षायामको २ सय मेगावाट विद्युत् भारतमा बेच्न टेण्डर आह्वान

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विद्युत् भारतमा प्रतिश्पर्धी दरमा बिक्री गर्न टेण्डर आह्वान गरेको छ।

प्राधिकरणले शुक्रबार टेण्डर आह्वान गर्दै नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित २०० मेगावाट विद्युत बिक्रीका लागि भारतीय कम्पनीहरूसँग प्रस्ताव माग गरेको हो।

प्राधिकरणले देशभित्र खपत गरी  जगेडा भएकमो विद्युत् पाँच महीना अर्थात् १७ असारदेखि २९ कात्तिक २०७९ सम्म बिक्री गर्ने छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको केन्द्रीय विद्युत् नियमन आयोगमार्फत विद्युत् व्यापारका लागि अनुमति प्राप्त ट्रेडिङ कम्पनीहरू, विद्युत वितरण कम्पनीहरूलगायतले बिद्युत खरिदका लागि प्रतिश्पर्धामा सहभागी हुन पाउने बताए।

“भारतीय बजारमा ३६४ मेगावाटसम्म विद्युत बिक्रीका लागि स्वीकृति पाएका छौं, त्यसमध्ये २०० मेगावाट प्रतिश्पर्धामार्फत जसले बढी दर कबोल गर्छ उसैलाई बिक्री गर्ने गरी टेण्डर आह्वान गरेका हौं”, कार्यकारी निर्देशक घिसिङले भने, “बाँकी रहेको विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)मा बिक्री गर्ने छौं, टेण्डरको सम्पूर्ण प्रक्रिया पूरा गरी १ जुलाईबाट छनोट भएका योग्य कम्पनीहरूलाई विद्युत उपलब्ध गराइने छ।”

नेपालबाट विद्युत् खरिद गर्न इच्छुक कम्पनीहरूले आगामी १३ जेठ मध्याह्न १२ बजेसम्ममा प्रस्ताव पेश गर्न सक्नेछन् र सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिने छ। इच्छुक कम्पनीले ५० मेगावाटभन्दा कम खरिदका लागि प्रस्ताव पेश गर्न नसक्ने व्यवस्था गरिएको छ। कम्पनीहरूले आफूले प्रस्ताव गरेको परिमाणको प्रति मेगावाट ३० हजार भारतीय रुपैयाँ (४८ हजार रुपैयाँ) प्रतिमहिना ‘अर्नेस्ट मनी डिपोजिट’ गर्नुपर्ने छ।

भारतले नेपालका ६ वटा विद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ। देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत  निर्यात हुने छ।

नेपालले प्राधिकरणको स्वामित्वका  त्रिशूली, देवीघाट, कालीगण्डकी ‘ए’,मध्यमस्र्याङ्दी, मस्र्याङ्दी र निजी क्षेत्रको ग्रिन भेन्चर्स लि.को लिखु–४बाट उत्पादित ३६४ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved