भरतपुरको चुनावी सभामा प्रचण्डको धम्की : हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ (भिडिओ)

नेपालभ्युज

भरतपुरको चुनावी सभामा प्रचण्डको धम्की : हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ (भिडिओ)

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा हँसिया हथौडा चिह्नमा भोट नहाले देश दुर्घटनामा जाने चेतावनी दिएका छन्। अहिलेको सत्ता गठबन्धन राष्ट्रिय र लोकतन्त्र र गणतन्त्रको आवश्यकता भएको भन्दै उनले यो नबुझेर हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जाने बताए।

“‘तपाईंहरूले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, यो गणबन्धन गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको जनताको समृद्धि र विकासको आवश्यकता हो भन्ने नबुझेर हालिँदैन हँसिया, हथौडामा भोट हाल्नुभयो भने देश दुर्घटनामा जानसक्छ”, दाहालले भने, “होइन यो राष्ट्रको आवश्यकता हो, जनताको आवश्यकता हो, विकास, समृद्धिको आवश्यकता हो, यो लोकतन्त्रको आवश्यकता हो भनेर तपाईं चितवनबासी जनताले उत्साहपूर्ण ढंगले भोट हालेर यो टिम, रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई विजयी बनाउनुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १०, १५, २० वर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ।”

भरतपुरमा भएको चुनावी सभामा सम्बोधन गर्न पुगेका प्रचण्डले भने, “तपाईंहरूले रूख र हँसिया हथौडा चिन्हको बारे कुरा गर्नुभएको छ। २०४६ सालको जनआन्दोलनमा रुख र हँसिया हथौडा सँगै हिँड्न सक्दैन भन्नुहुन्छ?”

विस्तृत शान्ति सम्झौता गर्दा रूख र हँसिया हथौडाले सहकार्य गर्दा देशमा परिवर्तन आएको उनको भनाइ थियो। उनले सोधे, “गिरिजाले सहमति सहकार्य र एकताको रट लगाएको गलत थियो ? मैले साँच्चै नै तपाईंहरूको अगाडि भन्दै गर्दा रूखबालाले हँसिया हथौडामा भोट हाल्न गाह्रो देखियो। यो गठबन्धन १०-१५ वर्ष लैजाने सहमति भएको छ।”

तर अहिले यहाँको अवस्था हेर्दा आफूलाई त्यस्तो नलागेको उनको भनाइ थियो। “वामपन्थी मिल्दा सबैले भोट हाल्न मिल्छ भनेर देउवासँग गएर अर्को गठबन्धनमा जान्छु भनेको थिएँ। चितवनका जनताले धेरै गाह्रो माने भोट हाल्न भनें।”

राष्ट्रिय आवश्यकतालाई हेरेर उनले हँसिया हथौडालाई भोट हाल्न अनुरोध गरे। कम्युनिष्ट एकता गरे पनि धोका पाइएको भन्दै उनले केपी ओलीको निरंकुश व्यवस्था र प्रवृत्तिविरुद्ध माधव नेपाल आफूहरूले संघर्ष शुरु गरेको पनि बारम्मबर बताए।

“एकथरी मानिस, देशी विदेशी प्रतिक्रियावादीहरू प्रचण्डलाई सक्न लागेका छन्,” प्रचण्डले कांग्रेसभित्र पनि यस्तो अवस्था रहेको आशंका गरे। चितवनका परिवर्तनकारीले पनि जनताको फैसला गर्ने बताए।

भाषणका क्रममा उनले भरतपुरमा मेयर रेनु दाहालले गरेको विकासबारे पनि चर्चा गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved