जापान उड्ने तयारीमा थिए मुकुल, कहिल्यै नफर्किनेगरी बिदा भए

‘‘कोठामा ६ ओटा सिरिन्ज भेटिएका छन्, शरीरमा कुनै चोटपटक छैन,’’ एसपी चौधरीले बताए।

जापान उड्ने तयारीमा थिए मुकुल, कहिल्यै नफर्किनेगरी बिदा भए

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय बिहीबार (२२ वैशाख) जापान उड्ने तयारीमा थिए। विद्यार्थी भिसामा जापान जान लागेका उनले प्लेन टिकटसमेत काटिसकेका थिए।

यसैको खुशियालीमा साथीहरूसँग समय बिताएर रमाइलो गर्न उनी घरबाट निस्किए। साथीहरूसँग बाहिरै बस्ने सल्लाह भयो। मंगलबार होटलमा बसेका उनी अनि कहिल्यै नफर्किनेगरी बिदा भएका छन्।

मंगलबार महेन्द्रनगरको ‘नाइन इलेभन’ होटलमा साथीहरूसँग पार्टी गरेर बसेका उनी बुधबार बिहान होटलको कोठाभित्र मृत भेटिएका हुन्। ‘‘भोलि जापान जाँदै थियो, आज काठमाडौँ जाने भन्दै थियो,’’ दाइ नाता पर्ने रमेशराज पाण्डेयले भने, ‘‘तर यस्तो घटना भयो।’’

होटलको चौँथो तलाको चार सय ३ नम्बर कोठामा मृत भेटिएका मुकुलको शरीरमा कुनै चोटपटक नपाइएको कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) श्यामप्रसाद चौधरीले बताए। उनकाअनुसार मुकुल र उनका साथीहरूले लागुऔषध सेवन गरेको खुलेको छ। त्यही ओभरडोजका कारण मुकुलको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी उनले दिए। ‘‘घटनास्थललाई घेराबन्दी गरेर अनुसन्धान गरिरहेका छौँ,” उनले भने, ‘‘कोठामा ६ ओटा सिरिन्ज भेटिएका छन्, शरीरमा कुनै चोटपटक छैन।’’

कोठाका दुई ओटा बेडमध्ये एउटामा मृतक मुकुल सुतेका थिए भने अर्को बेडमा कण्डमको प्याकेट पनि भेटिएको एसपी चौधरीले बताए। प्रहरीले मुकुलका साथी आशिष चन्दलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। उनीहरूसँग अरु कोही व्यक्ति पनि भए/नभएको भन्नेबारे खुलेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved