बलिङ नचल्दा नेपाल पराजित

बलिङमा महँगा साबित भएका कप्तान सन्दीपले चार ओभरमा एक विकेट लिए पनि ५० रन खर्चिए। ११ औँ ओभरमा उनले चार छक्कासहित २६ रन खाएका थिए।

नेपालभ्युज

बलिङ नचल्दा नेपाल पराजित

काठमाडौं। नेपाल जिम्बावे ‘ए’ सँगको पहिलो टी–ट्वान्टी खेलमा ६ विकेटले पराजित भएको छ। ब्याटिङमा शानदार प्रदर्शन गर्दै १८१ रन जोडे पनि बलिङ चल्न नसक्दा नेपाल पराजित भएको हो।

१८२ रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको जिम्बावे ‘ए’ले सात बल खेल्नु अगावै चार विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्‍यो।

त्रिवि खेल मैदान कीर्तिपुरमा आज (आइतबार) भएको तीन म्याचको सिरिजको पहिलो खेलमा जिम्बावे ‘ए’ले टस जितेर पहिले फिल्डिङ रोज्यो। आदिल अन्सारीको विष्फोटक ब्याटिङमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको बलियो लक्ष्य दिएको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालको शुरुआत भने राम्रो भएन। ओपनर आशिफ शेख १६ बलमा नौ रन जोड्दै आउट भए। पाँचौ ओभरमा २७ रनमा पहिलो विकेट गुमाएको नेपालको इनिङलाई त्यसपछि अर्का ओपरन कुशल भुर्तेल र रोहित पौडेलले उकासेका थिए।

कुशलले ३१ बलमा ४६ रन जोड्दा रोहित पौडेलले २६ बलमा ३६ रनको योगदान दिएका थिए। यी दुईले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरेका थिए। यसपछि दिपेन्द्र सिंह ऐरीले आक्रामक खेल खेल्दै मात्र १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २८ रन जोडे।

त्यसैगरी, युवा खेलाडी आदिलले पनि निकै विष्फोटक पारी खेल्दै २७ बलमा चार चौका र तीन छक्काको सहयोगमा सर्वाधिक अविजित ४७ रनको योगदान दिएपछि नेपालले २० ओभरमा पाँच विकेट गुमाउँदै १८१ रनको योगफल तयार पारेको थियो।

तर, नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गरे पनि बलिङमा लय समाउन सकेन र जिम्बावे ‘ए’ ले लक्ष्य १८.५ ओभरमा पूरा गर्‍यो। उसले शुरुआत निकै राम्रो गर्‍यो।

ओपनर इनोसेन्ट कैया र तादिवानासेले पहिलो विकेटका लागि ७३ रनको योगदान गरे। ३० बलमा ४७ रन जोडेका कैयालाई कप्तान सन्दीपले एलबीडब्लू धरापमा पारे।

यसपछि तादिवानासेले कप्तान टोनी मुनयाङ्गासँग मिलेर दोस्रो विकेटका लागि थप ७२ रनको साझेदारी गरेका थिए। अर्धशतकीय पारी खेलेका तादिवानासेले ४१ बलमा सर्वाधिक ५६ रनको योगदान दिए। उनलाई करण केसीले आउट गरे।

त्यसैगरी, कप्तान टोनीले पनि आक्रमक खेल खेल्दै मात्र २३ बलमा सात छक्कासहित ५० रन जोडेका थिए। उनलाई पहिलो पटक नेपाली टिममा परेका युवा खेलाडी बसिर अहमदले आउट गरे। अहमदले यसपछि माडेण्डेलाई पनि मात्र आठ रनमा पेभोलिएनको बाटो देखाएका थिए।

बलिङमा महंगा साबित भएका कप्तान सन्दीपले चार ओभरमा एक विकेट लिए पनि ५० रन खर्चिए। ११ औँ ओभरमा उनले चार छक्कासहित २६ रन खाएका थिए। त्यसैगरी अभिनाश बोहोराले दुई ओभरमा ३० रन खर्चेका थिए।

जितपछि जिम्बावे ‘ए’ ले सिरिजमा १–० को अग्रता कायम गरेको छ। सिरिजको दोस्रो खेल सोमबार हुनेछ।

नेपालले घरेलु मैदानमा टेष्ट राष्ट्र जिम्बावेको ‘ए’ टिमसँग तीन खेलको टी–ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्ने तालिका छ।

यो दुवै सिरिजमा नेपालको राष्ट्रिय टिम भए पनि जिम्बावेको राष्ट्रिय टिम नभएकाले दुवै सिरिजका खेलहरुले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय मान्यता भने पाउने छैन।

आगामी जेठमा अमेरीकामा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालसँगै आयोजक अमेरिका र ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

जिम्बावे ‘ए’सँगको यो सिरिज नेपाली टिमको लागि उक्त त्रिकोणात्मक एकदिवसीय सिरिजको अभ्यास सरह हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved