प्रिय कथा

सारा

बुढी थिई र सँगै उसको कच्कच थियो। नाद थियो। निनाद थियो। अर्मपर्म। दानधर्म। घरव्यवहार। सबै थियो। ऊ गई। सबै गयो।

सारा

(रचनागर्भ– मैले मेरो लेखन जीवनमा करीब ३०/३५ वटा कथाहरू लेखेँ हुँला। मेरो पहिलो प्रकाशित कथा २०४५ साल असोजमा ‘मधुपर्क’ मा ‘रामु काका’ शीर्षकको लघुकथा हो। त्यसयता करीब ३० वटा कथाहरू विभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइनहरूमा प्रकाशित भए होलान् तर अहिलेसम्म कथाको किताब भने निस्केको छैन।

‘मार्था’ शीर्षकको कथा बनाएर डिकुरा प्रकाशनमा कुरा पनि गरेको हुँ तर त्यो कोरोना महामारीको पहिलो संक्रमण २०७६ चैत्रपछि मुल्तवी भयो। पछिपछि त प्रकाशक पुण्यप्रसाद प्रसाईंसँग भेटै भएन। उहाँ त सचेत नेपाली पार्टी खोलेर देशव्यापी प्रचारमा जानु भएपछि भेट हुने गुन्जायसै रहेन अनि कथाको किताब निकाल्ने सोच केही वर्षलाई यसरी टर्‍यो।
त्यसपछि म चित्त बुझाएर लेख र कविता मात्र लेखेर बसेको थिएँ।

यो बीचमा ‘सारा’ कथा लेख्ने प्लट आयो। ‘सारा’ कथाको अन्तर्यको जहाँसम्म कुरा छ– यो कोरोना महामारीको पहिलो लकडाउन नभएको भए लेखिने नै थिएन। घरमै बसेर लेखपढमा दिन बित्थे। मैले केही कालजयी सिनेमाहरू हेरेँ। केही थप नेपाली र हिन्दी किताब पढेँ। केही अन्तर्वार्ताहरू गरेँ।

एक दिन अनलाइनमा थिएँ। पुरानो एकजना कलेजकी साथीको मेसेज आयो। मैले औपचारिक कुराकानीपछि कथा लेखिरहेको छु भनेँ। उनले आफ्नो याने उनको कथा लेखिदिने प्रस्ताव गरिन् मैले हल्का हल्कैमा हुन्छ भनेँ। अनि दुवै छुट्टियौं।

उनलाई लगभग बिर्सिसकेको थिएँ। फेरि एक दिन कथा लेख्ने हुट्हुटी पलायो मनमा। अनि मैले कलेज जीवनका केही पात्र, जो आज पनि सुनसरी र मोरङतिर विभिन्न भूमिकामा छन्, तिनीहरूलाई सम्झेर कथा लेख्न शुरु गरेँ। कथा लामो हुँदै गयो। सोचेको एकथोक पछि बन्ने बेलामा अर्कोथोक भएको कथा भयो। तैपनि कथा मन पर्‍यो।

लेखिसकेर हल्का सम्पादन गरेँ। जसको कथा हो उसलाई पनि पढाएँ। मन पराइन्। सबैभन्दा धेरै खुशी त्यस बेला भयो जुन बेला वरिष्ठ आख्यानकार कृष्ण धरावासी दाजुले कथा मनोयोगपूर्वक पढेर केही सुझावहरु दिनुभयो अनि त कथा टच्ची नै पो लेखिएछ भन्ने भान भयो मलाई। मैले त्यो मेरो कथा दर्जनौं पटक पढेर आत्मरति लिएको छु। आफैँलाई कस्तोकस्तो गज्जब लाग्छ।

पछि के लेखिएछ भनेर आफैँले पनि कथा पढेँ। म फास्ट राइटर हुँ। आफू पनि कथामा पात्र भएको थाहा पाएर अति खुशी लाग्यो। अहिले पनि सो कथाका बारेमा विभिन्न प्रतिक्रिया आउने क्रम जारी छ।

केही मित्रले ‘सारा– २’ कथा लेख्न अनुरोध गर्नुभएको छ। कथाको कन्टेन्ट खोजिरहेको छु। केही लेखी पनि सकेँ। हेरौं यो बर्खासम्म लेखिसक्छु कि ? सारा– २ कथालाई ‘सारा’ कथा कै सिक्वेल बनाउने सोच लिएको छु।)

०००

 

त्यो दिन म हिन्दी सिनेमा हेरिरहेको थिएँ। नाना पाटेकर अभिनीत सिनेमा थियो– ‘अब तक छप्पन’। म नाना पाटेकरको फ्यान हुँ तर मैले धेरै भएको थियो कुनै हिन्दी सिनेमा नहेरेको। कोरोना त्रासले भित्र्याएको हाम्रो देश भित्रको लकडाउनले गर्दा मेरो दैनिकीमा फेरबदल आएको थियो।

खासमा मलाई मान्छेहरू ‘आउटसाइड’ भन्ने गर्छन्। कतिपय सवालमा म यो आरोप मन पराउँदिन भने कतिपय सन्दर्भमा भने म यही आरोपका लागि फिट भएको मान्दछु।

म यस्ताउस्ता टपोरी टाइपका सिनेमा कुनै पनि हेर्दिन। बरू सिनेमै नहेरी महीनौं र वर्षौं बिताइदिन सक्छु। न हिन्दी न नेपाली। सिनेमा छान्ने सवालमा मेरा आफ्नै मान्यताहरू छन्। मलाई विषयवस्तु, न्यारेसन, सिनेमाटोग्राफी र दृश्यले फिदा बनाए भने मात्र म सिनेमा हेर्छु। नत्र सित्तै भए पनि म ‘बाल मतलब’ गर्दिनँ।

म सिनेमामा कहिलेकाहीँ सेक्स, स्क्याण्डल र सस्पेन्स स्टोरी अति मन पराउँछु। यो मेरो केटाकेटीदेखिकै बानी हो। यो मानेमा मलाई नाना, कमल हसन, मनोज वाजपेयी, नसिरुद्धिन, ओमपुरी र नवाजुद्धिन सिद्धिकी अति मन पर्ने कलाकार हुन्। नेपालीमा केही नयाँ दयाहाङ र खगेन्द्र लामिछानेले मन छुन्छन्। फिल्म छान्ने ती कतिपय सवालमा हिजो मेरो रूचि मेरा सन्तान र पत्नीसँग पनि मिल्दैनथे। आज त झन् म एक्लो छु कसैसँग रुचि मिलाउनु पर्छ भन्ने नै छैन।

आनन्द लिने सवालमा कसैसँग मेरो सम्झौता गर्ने मेरो बानी छैन। सम्झौता गरेर म कसैलाई खुशी पनि पार्न चाहन्न। मैले यतिको उमेरसम्म आइपुग्दा आफूले बुझेको कुरो के हो भने- ‘आफूले आफूलाई चिनेर केमा खुशी भइन्छ भन्ने थाहा पाउनु र सोही काम गर्दा पाइने खुशी नै संसारमा अवर्णनीय हुन्छ।’ म चाहन्छु मेरो छनोटले भरसक अन्य कसैलाई दुःख नदिओस्। बस् मेरो कामना सधैँ यही हुन्छ।

म फिल्ममा पूरै डुबेको थिएँ। त्यो दिन पनि।

अँ ! धेरै दिनदेखि मलाई एउटा स्त्री नामबाट फेसबुकमा फ्रेण्ड रिक्वेष्ट आएको थियो। नाम : सारा श्रेष्ठ। उमेर : ५२। घर : कैलाली। पेशा : शिक्षक। मैले सो रिक्वेष्टलाई धेरै दिनदेखि पेन्डिङ्मै छाडिदिएको थिएँ। कारण मसँग ५ हजार साथीहरू अलरेडी थिए। नयाँलाई स्वागत गर्नका लागि मैले पुरानामध्ये केहीलाई बिदा गर्नु पर्दथ्यो। म शनिबार र फुर्सदका दिनमा केही पेसिभ र मेरो वालमा प्रतिक्रिया नजनाउने साथीहरूलाई अनफ्रेण्डको कुचाले बढारिरहन्छु। यो मेरो स्वभाव हो। अझ कतिपय अवस्थामा त मैले आजै रिक्वेष्ट एसेप्ट गरेर आजै अनफ्रेण्ड गरेको स्थिति पनि छ।

खासमा म अधीर स्वभावको मानिस हूँ।

मेरो यही क्विक डिसिजनको सिकार एकपटक मेरै बालापनका साथी भएछन्। पछि उनले फेरि कसोकसो मेसेज सेण्ड गरेर मसँग लिखित कुराकानी गरे। अनि मलाई उनैले ‘मेरो फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्नु न केशवजी’ भनेपछि मैले उनलाई पुनः दोस्रो चोटी साथी बनाएँ।

उनी मेरा बाल सखा थिए। नाम थियो– विष्णुकुमार घिमिरे। उनी अमेरिकाको टेक्सासमा बस्दा रहेछन्। मेरा पछिल्ला लेखन गतिविधिप्रति धेरै चासो राख्ने तर अमेरिकाको धपेडीमय जीवनले गर्दा मेरा कामहरूमा प्रतिक्रिया जाहेर गर्न नपाएका असल तर मुक मित्र। याने वाच फ्रेण्ड !

मलाई आफू जत्तिकै अरु पनि सक्रिय भएर बाँच्न पर्छ जस्तो लाग्छ। म विधि र प्रविधि दुवैतर्फ दगुरिरहेको हुन्छु। दिनरात नभनी। रातदिन नगनी। हुन त यो मेरो भ्रम पनि हुन सक्छ।

जीवन हिजो यसरी नै चलेको थियो। आज पनि यसरी नै चलेको छ। फगत् हिजो हामी सबै जहानसँगै थियौंँ। हामी बाउआमा र हाम्रा सन्तानहरू। हामीसँग हाम्रो संयुक्त एक्चुअल पारिवारिक लाइफ थियो। जहाँ गरिबी थियो। त्यो गरिबी अरू बेला सुतेको अजिङ्गर हुन्थ्यो भने चाडबाड र बिहे बटुलोमा अभावको टाउको उठाउँथ्यो। ६/६ जना सन्तानलाई लालनपालन गर्नु एउटा सरकारी स्कुलको टिचरका लागि कम्ती हम्मेहम्मे थिएन। जीवन सकसपूर्ण भए पनि या सुखदायी भए पनि समय आफ्नो गतिमा अविराम घुमिरहन्छ। त्यो अडिँदैन। अडिएन पनि। सुलुलुलुलु गरेर बगिरह्यो। बगिरह्यो।

म पढाउँथेँ। श्रीमती गृहिणी थिई। कमाउँथेँ– म। है हुकुम उसको थियो। हामी एउटा सिक्काका दुई पाटाजस्ता थियौँ। असाध्यै मिलेका। घारका मौरीजस्ता। म कर्मी मौरी। मेरीचाहिँ रानी मौरी। म सानो दारको ऊ हात्तीजस्ती मोटी। खानपिनमा मलाई औधी रउस गर्नुपर्थ्यो। शरीर उसले हालेकी थिई। म संसार बुझेको अभिनय गर्थेँ। उसले घरपरिवार र गृहस्थ मात्र बुझेकी थिई। म थरीथरीले क्रीडाकेलीमा सहभागी हुन्थेँ, पोष उसलाई लाग्थ्यो। मैले नाइँनाइँ भन्दै रहेँ। उसले खुलुखुलु गर्दागर्दै मेरा लागि भनेर ६ वटा सन्तान जन्माइदिई। जन्मेका जति सबै बाँचे। बाँचेका जति सबै बढे। बढेका जति सबै पढे। पढेका जति सबै जेट चढेर उडे।

बिहेपछि र सन्तान अघि हामी दुई बुढाबुढी दुक्की जुटजस्ता थियौँ। बीचमा हल्लाखल्ला गर्दै आएका थिए– जुलुस बनेर सन्तानहरू। दुई दशकको समयान्तरमा फेरि सबै आआफ्नो दर्गदिशा लागे। हामी फेरि दुक्की जुट मात्रै भयौँ। हिजो मीठो झन्झटमा फसेका हामी अब आफ्नो मात्र झन्झटलाई तीतो भन्दै जीवनका डुङ्गा खियाउन लाग्यौँ।

हिजो किशोर र युवावयमा एक्चुअल लाइफमा त चलेको थियो। अब झन् चल्छ भच्र्युअल लाइफ। कम्प्युटर, फेसबुक र मेसेन्जरले आधाउधी काम घटाइदिएका छन्। अझ इमेलले त कापीमा लेख। हुलाक जाऊ। टिकट किन। जिब्रोमा ल्याप्प पारेर थुक लगाऊ। यी र यीजस्ता कामहरू स्वाट्टै घटाइदिएको छ।

आजकाल कहिलेकाहीँ त यस्तो पनि लाग्न थालेको छ– ‘यी ग्याजेटहरू र यिनका सुविधाहरू हामीजस्तै लेखकहरूका लागि नै पो आविष्कार भएका हुन् कि ?’

खैर ! म शनिबार प्रायः नेटमै झुण्डिरहेको हुन्छ। मेरा धेरै काम इमेलबाटै आउने र जाने भएकाले। साथीभाइ र घरपरिवारसँग मेसेन्जरबाट सम्पर्क गर्नु पर्ने भएकाले पनि म रमाउने भनेकै फेसबुकको काँसे घारीमा हो।

कहिले खुशीले सुसेली हाल्दै। कहिले विरहका गीतहरू गुन्गुनाउँदै। कहिले दुखाश्रु पोख्दै अनुजहरूसँग मेसेन्जरमा। कहिले हर्षाश्रु बटुल्दै बुझ्झकी छोरी र छोराहरूसँग।

पहिले बुढी थिई र सँगै उसको कच्कच थियो। नाद थियो। निनाद थियो। अर्मपर्म। दान धर्म। घर व्यवहार। सबैसबै थियो। ऊ गई। सबै गयो। ऊ हुँदा एक्चुअलमा मेरी एउटी बुढी थिई। ऊ गई अब भर्चुअलमा धेरै भए। कोही पैसाका लागि भए। कोही सेक्सका लागि भए। कोही लेखनका लोभले रत्तिए। कोही व्यक्तित्वका आकर्षणले नजिकिए।

प्रविधिले एकैपटकमा धेरैलाई डिल गर्न सकिने रहेछ। स्वास्नी मान्छे एडिएस्लको नेट हो जो एकपटकमा एउटालाई मात्र कनेक्सन गर्न सक्छे। तर लोग्ने मान्छे हाइ स्पिड नेटमा वाइफाइ हो जसले एकपटकमा धेरैलाई कनेक्ट गरिरहेको हुन्छ। मेरा कतिपय साथीहरूका त आठदसवटी समेत बाहरवाली छन् भन्छन्– मोराहरू।

०००

त्यो दिन। जुन दिन म नाना पाटेकरको फिल्म हेरिरहेको थिएँ। फेरि साराको रिक्वेष्ट रि भएर आयो। मैले मेरो फेसबुक अनमुडमै राखेको थिएँ। नोटिफिकेसनले मलाई जानकारी दियो। मैले केही छिन युट्युबमा हेरिराखेको ‘अब तक छप्पन’ सिनेमालाई केही छिनका लागि पज गरेँ। साराको सारा प्रोफाइल हेरेँ। एकचोटी होइन। दुईचोटी होइन। तीनचोटी होइन। पटकौंपटक हेरेँ। यति पटक भन्ने पनि बिर्सिएँ। हेरेको हेर्‍यै भएँ।

दुई सन्तानकी आमा सारा ५२ कटेर पनि अझै बोल्ड थिई। फोटोमै हेर्दा नै मस्किन्छे जस्ती। छोरो बैंकमा मेनेजर र बुहारी असिस्टेन्ट। छोरी पढिरहेकी छे। अब बिहे गर्नका लागि वरको खोजीमा आमाछोरी दुवै।

कुरो मिल्यो हाम्रो। म रिटायर्ड बट नट टायर्ड। ऊ बहालवाला। विस्तारै हामी नजिक हुन थाल्यौँ। शुरुमा उसले आफ्नो परिचय केही लुकाई। मलाई त्यो थाहा पनि भएन। तर अलि दिनपछि त्यसको पनि भेद खुलिहाल्यो।

नोष्टाल्जिक बनायो मलाई साराको प्रोफाइलले। के थियो त त्यहाँ ? किन म त्यो बुढी हुँदै गएकी आइमाईप्रति यतिबिघ्न आकर्षित भएँ त। त्यसबारे पछि भन्छु।

अहिलेलाई चाहिँ साराको प्रोफाइलले मलाई मेरो जीवनको ३२ वर्ष अघिका घटनाहरू सिनेमाका रिलझैँ रिवाइन्ड भएर आए।

म नाना पाटेकरको फिल्म हेर्दै पनि छु। आफ्नो जीवनको फिल्मलाई सम्झिँदै पनि छु। तुलना गर्दैछु म– ‘जीवनमा रिल लाइफ कि रियल लाइफ मीठो हुन्छ ?’

मनको अर्को कुनाबाट जवाफ आउँदै पनि छ। स्वास तातो हुँदै पनि छ। बुढो हुँदै गएको मन भन्छ–‘जवानीमा गर्न नसकेका र नभ्याएका कुराहरू मानिसले बुढ्यौलीमा गर्ने इरादा त राख्छ तर गर्न सक्दैन। अनि कल्पना मात्र गर्छ।’ अहिले मलाई सोह्रै आना होजस्तो लाग्छ।

मेरो मानसपटलमा पूर्वदीप्ति शैलीमा पुराना कुरा र दृश्यहरू झल्झल्ती भएर आए। पञ्चायती व्यवस्था ढल्नै लागेको समय थियो– त्यो। म देशको सुदूर पूर्वको एउटा सदरमुकाममा अवस्थित क्याम्पसमा स्नातक तह पढ्थेँ। क्याम्पस स्थानीय हाई स्कुलको भवनमा भाडामा राखिएको थियो। जहाँ पुग नपुग ३ सय विद्यार्थीहरू अध्ययन गर्दथे। हामी राम्रो अध्ययन गर्ने विद्यार्थीमा गनिन्थ्यौँ जसका कारण हामीलाई क्याम्पसमा पढ्ने प्रायः सबै विद्यार्थीहरूले चिन्दथे। अझ हामी त्यो बेलामा राजारानीका जन्मोत्सवहरू, सरस्वती पूजा, नयाँ वर्ष कार्यक्रम, दशैँतिहार शुभकामना साँझ र विभिन्न साहित्यिक स्रष्टाहरूका जन्मजयन्तीमा साहित्यिक कार्यक्रमहरू गरिरहन्थ्यौं।

मेरा एकजना साहित्यिक साथी थिए। तिनको नाम चक्रधर थियो। साहित्यमा तिनी सुमितका नामले चिनिन्थे। हाई स्कुलसम्म तिनी निकै मेधावी थिए। पछि एउटी केटीसँगको प्रेममा परेर केही लसपसपछि शनैःशनैः तिनको पढाइलेखाइ ढुँस भएको थियो। यसै भन्थे उनका पुराना साथीहरू। म त नयाँ साथीमा गनिन्थेँ। अड्कल मात्र गर्थेँ।

मैले उनलाई चिनेदेखि नै उनी एउटा स्थानीय साप्ताहिकमा केही लेख्थे। राम्रो अक्षर भएका तिनको तर्कमा पनि कमाण्ड थियो। खान, लाउनमा चुजी देखिने सुमितले हाम्रो साहित्यिक टोलीको नेतृत्व नै गर्दथे।

मैले त्यो निजी क्याम्पसमा २ वर्ष पुग नपुग पढेँ। बिहानको क्याम्पस थियो भने दिउँसो मेरो आफ्नै जागिर थियो। सधैँको हतारोमा जीवन एकप्रकारले लिकमा कुदेको रेलझैँ भएको थियो। घर क्याम्पस। क्याम्पस घर। जागिर क्याम्पस। क्याम्पस जागिर।

लेख्नचाहिँ हामी त्यही बेलामा पनि बेधडक लेख्थ्यौँ। हामीले स्थानीय पत्रपत्रिकाहरूमा पकड जमाइसकेका थियौँ। पुराना सम्पादकहरू पनि हामीसँग खुशी थिए। अझ खुशी खासगरी सुमितसँग।

सुमित पैसाको लोभ नगर्ने साथी। कहिलेकाहीँ उसले बीसतीस किलोमिटर टाढाका सहरमा पनि गोष्ठीमा लैजाने काम गर्दथ्यो। त्यो बेलाको रानो उही हुन्थ्यो। म उसलाई साथ दिन्थेँ। त्यही बेला चिनेका एकजना नवीन सुब्बा भन्ने कवि अहिले नेपाली सिनेमाका अलग धारका स्थापित निर्देशक छन्। अर्का एकजना युजी कृष्णमूर्ती पढेर दार्शनिक बनेका पत्रकार तथा लेखक रमेश केसी सहरमै छन्। अझै राजधानीबाट निस्कने पत्रिकामा लेख्छन्।

समयको नदीमा हामी सबै नवोदित कवि–कवयित्रीहरू पौडी खेल्दै गयौं। धेरैले धेरैलाई त्यो बेलामा चिनिएन। कतिले कतिलाई चिने चिनेनन् त्यो पनि हेक्का राखिएन। पढ्नु थियो। पास हुनु थियो। भइयो। कलेज छाडेर आआफ्नो गन्तव्यका लागि पथिक भइयो।

सारा पनि त्यही कलेजमा पढ्दी रहिछ। सुमितकी क्लास फेलो। मभन्दा एक ब्याच जुनियर। ऊ त्यही बेला अलि टाढाको सहरमा सरकारी टिचर रहिछे। उसले मलाई भित्री रुपमा औधी मन पराएकी रहिछे। ऊ जहिल्यै हतारमा हुने आफ्ना कुरा राख्न नसक्ने। म जहिल्यै फुर्सदमा हुने तर आफ्नो मनका कुरा फुकाउन नसक्ने। त्यो बाठी केटी। म लाटो केटो। त्यो आँखाले इसारा गर्ने युवती। म भाकाले भनेपछि मात्र बुझ्ने स्वाँठ। म लेखक हुने सपना सँगालेको युवा लेखक। ऊ पाठक हुन मात्र आफूलाई तम्तयार गर्दै गरेकी अक्षरकी पुजारी।

नचिन्दा नचिन्दै हामी छुट्टिएछौँ। नबोल्दा नबोल्दै हामीले बोल्न नपाउने भएछौँ। नछुँदा नछुँदै हाम्रो अव्यक्त प्रेममा धाँजा फाटिसकेको रहेछ। काश ! त्यही बेला सारालाई मैले र मलाई साराले भलिभाँती चिन्न र उधिन्न पाएको भए। अनि छेउकुना खोतल्ने गरी प्रेमालाप गर्न पाएको भए जीवन अलि खुकुलो भएर अघि बढ्थ्यो कि ? यो पनि अब प्रश्नकै गर्तमा हरायो। उत्तर कहिल्यै कसैबाट आउने छैन। न साराबाट। न म केशवबाट। न त हामी दुवैबाट।

मैले पनि बहुदल आउने महिनामै कलेज र सहर दुवै एकैसाथ छाडेँ। त्यो २०४६ फागुन निगल्दो समय थियो।

त्यसपछि म काठमाडौँ गएँ। उतै काम गरेँ। केही समय सरकारी जागिर खाएँ। केही समय एउटा एनजीओमा काम गरेँ। त्यहाँ ६ महिनासम्म काम गरेपछि हाकिमसँग झगडा पर्‍यो। सोही निहुँ निकालेर मैले त्यो एनजीओको काम छाडेँ।

मेरो एउटा साथी सिन्धुलीमा स्कुलमा काम गर्दथ्यो। उसले मलाई उतै बोलायो। म उसलाई पछ्याउँदै गएँ। नभन्दै उसले मलाई एउटा सरकारी हाई स्कुलमा हाई स्कुल टिचरको जब मिलाइदिएको रहेछ। हेडमाष्टर विराटनगरतिरका थिए। सारै गफाडी। साँझमा रक्सी र बिहान पत्रिका नभई नहुने। म पनि पत्रिकाको कीरो थिएँ। उनको र मेरो कुरा मिल्यो। केमेष्ट्री म्याच भएपछि उनले मलाई नियुक्ति दिए।

पञ्चायत गयो। बहुदल आयो। पञ्चायतका पुराना नेताले पनि बहुदलमा आफूलाई समायोजन गराए। मैले बहुदल आएको काठमाडौँ खुलामञ्चमा आफ्नै आँखाले देखेँ। एकजना पञ्चायतका पुराना नेताले बहुदले नेताहरूको कोपभाजनको सिकारबाट बच्नका लागि एक पुरियो अबीर किनेर जुलुसमा पसी आफैँले आफैँलाई अबीर खन्याएर माझ जुलुसमा पसेर ‘बहुदल जिन्दावाद’ ‘पञ्चायत मुर्दावाद’ भन्दै नारा लगाएको आफ्नै आँखाले देखियो।

साठी सालमा स्थायी भयो। सत्तरी सालमा म बढुवा भएँ। पचहत्तर सालमा मैले पेन्सन हुनासाथ जागिर छोडेँ। रिटायर्ड हुनका लागि मेरो अझै ६ वर्ष बाँकी थियो। अहिले मेरो उमेर ५६ भएको छ।

जीवन जसरी नि चल्दो रहेछ। चलाउन मात्र जान्नु पर्दो रहेछ– यो आफैँ चलिरहँदो रहेछ। जागिरभरि मैल कहिल्यै सारालाई सम्झिइन। न उनले नै मलाई सम्झिइन्। हामी दुवैका जीवन नौका आफ्नो शान्त व्यवहारको तलाउमा तैरिइरह्यो। उनको बहाना उनीसँगै थियो भने मेरो बहाना मसँगै थियो।

मेरा भटाभट ६ सन्तान भए। तीन छोरा। तीन छोरी। सम्पत्तिमा म केही निम्छरो थिएँ तर गडले मलाई माया गरेछन्। मेरा तीनवटै छोरीहरू राम्रोराम्रो विषय पढेर अमेरिका गए। त्यो बेलामा विदेश गएर सेटल हुनुलाई राम्रो मानिन्थ्यो। जुन बेला समाजमा जे कुरा राम्रो मानिन्छ त्यो कुरा आफ्ना सन्तानले गर्दा आफूलाई आनन्द आउँदो रहेछ। छोराहरू मध्ये जेठो जापान, माहिलो क्यानाडा र कान्छो अष्ट्रेलियामा सपरिवार बसेका छन्।

अहिले मेरा परिवारका सदस्यहरूसँग मेरो भेट एक्चुअल परिवेशमा वर्ष दुईवर्षमा मात्र हुन्छ। बाँकी भच्र्युअल लाइफमा दिनहुँ जस्तो हुन्छ। कहिलेकाहीँ त मलाई झ्याउ लाग्छ। छोराछोरी आधा दर्जन। तिनका बुहारी र ज्वाइँसमेत अर्को आधा दर्जन। अनि तिनका सन्तानहरू समेत सबै जोड्दा ठ्याम्मै दुई दर्जन। म यताबाट एकजना उताबाट उनीहरू विभिन्न देशबाट २४ जना। कहिलेकाहीँ त पूरै एउटा फुटबल टिमसँग अर्कोपट्टिबाट एकजना प्लेयरले मात्र प्रतिस्पर्धी भई फुटबल खेलेजस्तो लाग्ने। नेपालमा दिन हुँदा उता रात। उता रात हुँदा यता दिन। तर कहिलेकाहीँ त जापान, क्यानाडा, अष्ट्रेलिया र अमेरिकाको टाइम जोन नमिलेर म हैरानै हुन्थेँ।

एक दशकदेखि म एक्लो थिएँ। मेरी अर्धाङ्गिनीले मलाई छाडेर गएकी थिए। रोगी बुढो म बाँचे। निरोगी बुढी ऊ भने गई। मानिसको आयु जन्मिँदै तोकिएर आएको हुन्छ भन्छन्– बूढापाकाहरू। अझ हामी केटाकेटी हुँदा त ६ दिनमा भावीले भाग्य लेख्छ भनेर कलम र कापी राखिदिन्थे बाबुआमा हुनेहरू।

त्यो समयमा हुलाक र चिठी बाहेक सञ्चारका साधनहरू अरू केही पनि थिएनन्। त्यसैले मैले सारालाई र साराले मलाई खोज्नुको कुनै तुक थिएन। एउटा भनाइ नै छ– ‘भाग्यभन्दा बढी र समयभन्दा अघि कसैले केही पनि पाउँदैन।’ भयो पनि।

०००

एक्लो छु। नितान्त एक्लो छु। एक्चुअल दुनियाँमा म एक्लो छु। तर भच्र्युअल दुनियाँमा मेरा सबैसबै छन्। स्वेदशमा कोही छैनन्। म स्वदेशमा आफू मात्र एक्लो छु। मैले मेरो सेवा टहलका लागि एजेन्सीमार्फत् एउटा टहलुवा राखेको छु। जसले मेरो खाना बनाउने, लुगा धुने र घर सफा गर्ने काम गर्छ।

यस्तो चलन अहिले काठमाडौँमा पनि आएको रै’छ। मलाई थाहा थिएन। विदेश भएकी मेरी छोरीले नै उपाय सिकाएकी हो। नत्र मैले वृद्धाश्रममा गएर बस्नु पर्दथ्यो। मलाई वृद्धाश्रममा बस्न झ्याउ लाग्छ। किनकिन मलाई त्यहाँको वातावरणमा आफू निसास्सिएको महसुस हुन्छ। अनि आफूजस्तै बुढाबुढीहरूको अनुहार हेर्नु पर्दा कहिलेकाहीँ त मनै भक्कानिएर आउँछ। त्यसैले म वृद्धाश्रम गएर कहिले बसिनँ। बस्न मन पनि छैन। सायद अब त वृद्धाश्रम जान्न पनि होला।

यो मेरो एकल निर्णय हो।

अर्को कुरा पनि छ। म अरु जस्तो क्लासिकल बुढो मानिस हैन। म आधुनिक हुँ। अझ म अनलाइनहरूमा लेख र महिनाको एउटा कथा लेख्छु। मेरा एक दर्जन त किताबहरू नै छापिएका छन्। मलाई नेपाली साहित्यका पाठकहरूले राम्ररी चिन्छन्। मैले लेखेका कथाहरू बोर्डिङ कोर्समा पढाइ हुन्छन्। म मेरो पेन्सन, लेखकीय पारिश्रमिक र अनलाइनहरूको लेखकस्वले काठमाडौँमा राम्ररी नै बाँचेको छु। मेरो आफ्नो घर छ। बहाल तिर्नु पर्दैन। पैसाको खाँचो पर्दैन भन्दा पनि हुन्छ। केही भैपरी आयो भने छोरा छोरीहरूमा बाबालाई पैसा पठाइदिन प्रतिस्पर्धा नै हुन्छ। एउटाको लियो अर्को रिसाउने। यस्ता त कति भएको छ कति मेरा जीवनमा घटनाहरू।

अँ ! मेरा सबै छन्। स्वेदशमा प्रशस्त सम्भावना हुँदाहुँदै पनि विदेश बत्तिएका छोराबुहारी छन्। विदेशमा अलउल्ले पैसाको बारीमा चर्दै गरेका छोरी ज्वाइँहरू पनि छन्। तीन तीनजना छोरीहरू साथमा ज्वाइँहरू नातिनातिनीहरू सबैसबै छन्। उतै छन्। उतै रमाएका छन्। उतै रम्रिएका पनि छन्। सबै एकै छाँटकाँटका छैनन्। कोही विद्वान् छन्। घर किनेर कुस्त पैसा कमाएर बसेका छन्। कोही ठिकठिकै छन् अपार्टमेन्टसम्ममा सेटल भएका छन्। आघौं पराघौं घर किन्ने कुरा गर्छन्। केहीले इन्स्टलमेन्टमा जीवन चलाएका छन्। घिटीघिटी गर्दै।

अझ अहिले त यो कोरोना कहरमा सबै अनलाइनमा जीवन खोजिरहेछन्। कहिलेकाहीँ दिल्लगी गरेर भन्छन्– ‘बाबा ! यहाँ त अनलाइनबाट आमाबाबा, पत्नी र सन्तान बाहेक सबै वस्तु डेलिभरी हुन्छन्।’ सुनेर म मरिमरि हाँस्छु। हाँस्दाहाँस्दा मेरा आँखाका बाहिरी पाखाबाट हर्षाश्रु पोखिन्छन् र चाउरी परेका गालाहुँदै चिउँडोबाट तप्पतप्प गरी रूखो पाखोजस्तो छातीमा बज्रन्छन्। जसले वर्षौं भयो आफ्नी पत्नीलाई अँगालाभरि चेपेर माया गर्न नपाएको। अनि नातिनातिनीहरूलाई पनि बाजेको प्यारो खोकिलामा राखेर लोरी सुनाउन नपाएको।
मलाई अरू बेलाभन्दा दसैँ तिहारमा बढी धपेडी पर्छ।

त्यो बेलामा मैले २४ जना याने दुई दर्जनलाई स्काइपमा टीका लगाइदिनु पर्छ। छोरा मान्छेका लागि ‘आयु द्रोण सुते’ र छोरी मान्छेका लागि ‘जयन्ती मङ्गला काली’ भन्दाभन्दा मेरो भुजा चिसो भइसक्छ। यस्तो लाग्छ म अरु बेला भच्र्युअलमा नबाँचे पनि यी चाडबाडहरूमा भने मैले सन्तानहरूका लागि भच्र्युअलमा बाँचिदिनै पर्छ। कस्तो हगि हाम्रो जीवन ! केटाकेटीमा आमाबाबाका लागि सन्तानले बाँचिदिनु पर्ने अनि बुढेसकालमा आमाबाबाले सन्तानको खुशीका लागि भए पनि बाँचिदिनु पर्ने।

जीवन कस्तो हो ? जीवन केका लागि हो ? मैले अहिलेसम्म केही बुझ्न सक्या छैन।

सारासँग धेरै धुरा सेयर भएका छन्। ऊ पनि एकल भएकी रै’छे। म पनि एकल भएको छु। कुरा मिले भने काठमाडौँको यो मेरो नामको घर बेचेर धनगढी नै जानु पर्ला। उसले मलाई उसकी छोरीको बिहेसम्म पर्खनु भनेकी छे। खै ! उसको छोरीको लगन कहिले आउँछ र फेरि हामी दुईको बुढो प्रेमले सार्थकता पाउँछ ? हुन त मैले उसलाई तिमी नै धनगढीबाट काठमाडौँ बस्ने गरी आऊ नभनेको पनि होइन। त्यहाँ सानो ठाउँ छ। मानिसहरूले हाम्रो कुरा काट्न सक्छन्। म सबै कुरा सहन सक्छु तर मानिसले बेपर्वाहसँग अरुको कुरा काटेको सुन्न सक्दिनँ। यी कुरा मैले सारालाई मेसेन्जरमा कतिपटक भने तर उसले फिटिक्कै सुन्न चाहिन। उसलाई चिसोले सताउने रोग छ रे ! त्यसैले उसले धनगढीलाई छाड्न नसकेकी हो भन्छे। अरु के छ उसको धनगढीप्रतिको राग ? त्यो मलाई अहिलेसम्म भनेकी छैन।

हामी बिदाका दिन उसको फुर्सद हुँदा कहिले दिनभरि दिनभरि मेसेन्जरमा इत्तरिन्छौँ। हाँस्छौँ। रुन्छौँ। जीवनजगतका कुराहरू साटासाट गर्छौँ। कहिले ऊ मलाई अर्ती दिन्छे। कहिले म उसलाई आशीर्वाद दिन्छु। हामीले सबैकुरा साटासाट गरिसक्यौँ केवल आफूलाई मात्र साट्न पाएका छैनौं।

‘एक्चुअल लाइफमा हुने सबैकुरा यो भच्र्युअल लाइफमा गर्न मिल्ने तर नरनारी जोडिन चाहिँ नमिल्ने रै’छ।’ एक दिन साराले कुरैकुरामा यो कुरा चिप्ल्याई। मैले उसलाई केही उसका फर्माइसका एडल्ट मुभीहरू त्यो दिन सेण्ड गर्दिएको थिएँ। विचरी ! झण्डै फोनमा रोएकी। त्यो दिन उसकी छोरीको मोबाइल बिग्रेर अनलाइनबाट कुन्नि कुन मिटिङ् एटेन गर्दै रहिछे। हत्त न पत्त छोरीले मोबाइल माग्दा त सारा त थर्थरी काँपी रे ! बल्ल बल्ल मैले स्टार्ट बटन र इन्डिङ् बटन एकैचोटी थिचेर मोबाइललाई अफ गर अनि फेरि स्टार्ट गरेर अल डिलिट गर भनेपछि उसले सोही अनुसार गरेर सबै फाइल डिलिट गरी रे !

अहिले यो कथा लेख्दालेख्दै पनि साराले मलाई मसेज गरेको गर्‍यै छे। मेरो मन उसको मेसेज हेर्नका लागि अपलक प्रतीक्षा गरिरहेको छ। तर मैले उसलाई वचन दिएको छु। तिम्रो र मेरो कथा मैले लेखिसकेको छु। अब फाइनल टच सम्पादन मात्र गर्नु छ। जो एउटा चर्चित अनलाइनमा छपाएर तिमीलाई लिङ्क गरिदिन्छु भनेको छु। विश्वास मानेकी छे– उसले। त्यसैले ऊ चुप भएर बसेकी छे। आउन सक्ने भए सारा आफ्ना सारा कुरा छाडेर यतिखेर मेरो ल्यापटपको स्क्रिनै छेडेर फुत्त मसामु आइसक्ने थिई।

०००

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved