हाम्रो पार्टीबाट ३५ जना निर्विरोध निर्वाचित भइसके : माधव नेपाल

नेपालभ्युज

हाम्रो पार्टीबाट ३५ जना निर्विरोध निर्वाचित भइसके : माधव नेपाल

काठमाडौं। सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेका बताए।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताए।

एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका उनले उल्लेख गरे।

“झण्डै ३५ जना व्यक्तिहरूले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिह्न त्यो बोक्ने पार्टी नेकपा (एकीकृत समाजवादी)को विजयको झण्डा फहराउँदै उहाँहरू अगाडि बढ्नुभयो। प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरूसँग,” नेपालले भने।

उनले गठबन्धनमा आवद्ध दलहरू सामूहिक रुपमा बढ्नुपर्ने बताए। स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताए।

नेपालले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परीक्षण भइसकेको पार्टी भएको बताए। अध्यक्ष नेपालले पार्टीको संगठनलाई टोल–टोलसम्म बिस्तार गर्न पनि नेता, कार्यकर्ताहरूलाई आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved