विनोद चौधरीको आह्वान

‘आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा कांग्रेसको काँधमा’

नेपालभ्युज

‘आर्थिक समृद्धिको नेतृत्व गर्ने अभिभारा कांग्रेसको काँधमा’

नवलपुर। नेपालका एक्ला अर्बपतिसमेत रहेका कांग्रेस केन्द्रीय समिति सदस्य विनोद चौधरीले आसन्न स्थानीय तह निर्वाचनमा नवलपुर जिल्लाको आठओटै नगरपालिकामा विजय हासिल गर्ने गरी निर्वाचनमा सक्रिय रहन नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

उम्मेदवारी चयनका क्रममा कांग्रेसजस्तो विशाल पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुनु स्वभाविक रहेकाले उम्मेदवारी दर्तापछि यो प्रक्रिया सकिएको र पार्टी एक ढिक्का भएर चुनावमा होमिनुपर्नेमा उनले जोड दिएका छन्।

“अहिले कोही साथीहरू उम्मेदवार हुनुहोला। कोही उम्मेदवार हुन योग्य साथीहरू छुट्नु भएको होला। अहिले छुट्नु भएका साथीहरूले आगामी दिनमा फेरी अवसर पाउनुहुनेछ। भोलिका दिनमा म उहाँहरूको न्यायका लागि लड्नेछु,” चौधरीले भने, ‘‘अब हामी सबैको दायित्व उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयी बनाउनु हो। र, नवलपुर लोकतान्त्रिक शक्तिको अभेद्य किल्ला हो भनेर प्रमाणित गर्नु हो।’’

स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयन दर्तापछि नवलपुरको चुनावी अभियान अगाडि बढाउदै नेता चौधरीले २०७४ को स्थानीय तह निर्बाचनमा नवलपुरमा अधिकांश स्थानीय तह जितेको कांग्रेसले यसपटक सबैमा जीत निकाल्दै विकास र समृद्धिको राजनीतिक यात्रा शुरू गर्नुपर्नेमा जोड दिए। यसका लागि कांग्रेसका स्थानीय नेताहरूको नेतृत्वदायी भूमिका रहने बताए। उनले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गर्न पनि नेताहरूलाई आग्रह गरे।

नवलपुर जिल्लामा मध्यविन्दू, कावासोती, देवचुली र गैडाकोट गरी चार नगरपालिका छन् भने बौदीकाली, हुप्सेकोट, बिनयी त्रिबेणी र वुलिङ्गटार गरी चार गाउँपालिका रहेका छन्।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकातर्फबाट बौदीकाली गाउँपालिकाको प्रमुखमा के.बी राना, हुस्पेकोटमा लक्ष्मीदेवी पाण्डे, विनय त्रिवेणीमा डम्बर बहादूर जिसी, वुलिङटारमा शशि किरण बस्ताकोटीले टिकट पाएका छन्।

मध्यविन्दु नगरपालिकामा सूर्यबहादुर गुरुङ्ग, कावासोती नगरपालिकामा महेन्द्र पोखरेल, गैडाकोटमा मदनभक्त अधिकारी, देवचुलीमा अशोक बस्ताकोटीले मेयरको टिकट पाएका छन्।

केन्द्रीय सदस्य चौधरीले स्थानीय तहको सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताको सेवा गर्ने प्रतिवद्धता पुरा गर्न पनि नेपाली कांग्रेसको जीत आवश्यक रहेकोमा पनि जोड दिएका छन्।

राजनीतिक स्वतन्त्रता र आर्थिक विकासका एजेण्डालाई राजनीतिको केन्द्रमा राख्ने पार्टीले मात्रै नेपालमा आर्थिक समृद्धिको अभियान अगाडि बढाउनसक्ने भन्दै चौधरीले कांग्रेसको नेतृत्वमा मात्रै यो सम्भव रहेको बताएका छन्।

“हाम्रो अबको मुख्य प्राथमिकता समृद्ध नेपालको निर्माण हो। त्यसका लागि स्थानीय तहदेखि केन्द्रसम्म विकासको स्पष्ट भिजन भएको राजनीतिक पार्टीले सरकार चलाउनुपर्छ,” आम मतदातालाई चौधरीले आह्वान गर्दै भने, ‘बितेको पाँच वर्ष कसरी खेर गयो भन्नबारे प्रत्येक मतदाताले समीक्षा गर्नु आवश्यक छ। राजनीतिक स्वतन्त्रताको नेतृत्व कांग्रेसबाट सम्भव भएजस्तै आर्थिक समृद्धिको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव छ। त्यसका लागि स्थानीय तहदेखि नै कांग्रेसलाई जिम्मेवारी दिनुपर्छ।’

कांग्रेस केन्द्रीय सदस्य चौधरीले हालै आफ्नो नवलपुर भ्रमणका क्रममा विभिन्न गाँउपालिकामा कार्यकर्ता भेटघाट र अन्तरक्रिया गरी जिल्लामा आफु कुनै गुटको नभएर एक जिम्मेवार कांग्रेस नेताको रूपमा रहने बताएका थिए।

आफु पार्टीलाई तोड्न नभई जोड्न आएको बताउँदै चौधरीले कार्यकर्ताहरूलाई गुटको राजनीति छाडी पार्टीको राजनीति गर्न आग्रह गरे। आफूले सबैलाई गोलवन्द गरी नवलपुरमा कांग्रेस पार्टीलाई नमुना बनाउने पनि प्रतिबद्धता जनाए।
चौधरीले आफू बलियो, स्वच्छ र निष्पक्ष कांग्रेस निर्माणमा लागेको पनि बताउँदै आएका छन्। चौधरी पछिल्लो समय आफ्नो गृह जिल्लाको राजनीतिमा निकै सक्रिय देखिनुभएको छ।

उम्मेदवारी दर्तापछि नवलपुरमा कांग्रेसलाई विजयी बनाउन नेता चौधरी सक्रिय रुपमा क्रियाशील भएका छन्। उनले समग्र पार्टीलाई जिल्लामा सक्रिय रुपमा परिचालन गरेका छन्।

गएको निर्वाचनमा गण्डकी प्रदेशमा कांग्रेसले हार व्यहोर्नु पर्दापनि नवलपुरमा भने सम्मानजनक नतिजा प्राप्त गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved