‘नातावाद’बारे कांग्रेसको घोषणापत्र एकातिर, व्यवहार अर्कोतिर

कांग्रेसको घोषणापत्र लेखन समितिमा रहेका शंकर तिवारी भने स्थानीय तहको निर्वाचनका लागि दिइएको टिकट र पार्टीले गरेको प्रतिबद्धता फरक विषय भएको बताउँछन्।

‘नातावाद’बारे कांग्रेसको घोषणापत्र एकातिर, व्यवहार अर्कोतिर

काठमाडौं। नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा नेताका नातेदार वा परिवारका सदस्यलाई सल्लाकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने बताए पनि स्थानीय तहको निर्वाचनमा पार्टीका नेताका आफन्तले प्रमुख पदको टिकट पाएका छन्।

पार्टीको घोषणापत्रमा नेताका आफन्तलाई नियुक्ति लगायतका विषयमा अगाडि नबढाउने प्रतिबद्धता व्यक्त गरे पनि काठमाडौं महानगरपालिका र रुपन्देहीको तिलोत्तमा नगरपालिकामा भने कांग्रेस नेताकै आफन्तले मेयरको टिकट प्राप्त गरेका छन्। यस्तै, बाह्रबिसे नगरपालिकाको मेयरको टिकट पनि कांग्रेस नेताकै आफन्तले प्राप्त गरेका छन्।

काठमाडौं महानगरपालिकामा कांग्रेस नेता प्रकाशमान सिंहपत्नी सिर्जना सिंहलाई मेयर पदमा कांग्रेसले उम्मेदवार बनाएको छ।

उता तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणका भाइ रामकृष्ण खाँणलाई मेयर पदमा उम्मेदवार बनाएको छ।

बाह्रबिसे नगरपालिकाको मेयर पदमा कांग्रेसले पार्टीका नेता मोहन बस्नेतका भाइ बालकृष्ण बस्नेतलाई टिकट दिएको छ।

११ वैशाखमा पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा नेताका आफन्तलाई नियुक्ति लगायतका प्रक्रियामा अगाडि नबढाउने पार्टीले प्रतिबद्धता जायर गरेको थियो। तर, घोषणापत्रमा गरिएको प्रतिबद्धतालाई पार्टीले लामो समय कायम राख्न भने सकेन।

कांग्रेसको घोषणापत्र लेखन समितिमा रहेका शंकर तिवारी भने स्थानीय तहको निर्वाचनका लागि दिइएको टिकट र पार्टीले गरेको प्रतिबद्धता फरक विषय भएको बताउँछन्।

“पार्टीका नेताका परिवारका सदस्य वा आफन्तलाई नियुक्ति लगायतका प्रक्रियामा समावेश नगर्ने घोषणापत्रमा जनाइएको छ,” तिवारी भन्छन्, “तर, स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न दिइएको टिकटको विषय र प्रतिबद्धता फरक विषयका रुपमा बुझ्नुपर्छ।”

कांग्रेसको घोषणापत्र लेखन समितिमा रहेका अर्का एक व्यक्ति भने नेताकै आफन्तलाई मेयर पदको उम्मेदवार बनाउनु भनेको घोषणापत्रमा गरिएको प्रतिबद्धता उल्लंघन भएको बताउँछन्।

उनी भन्छन्, “घोषणापत्रमा नेताकै आफन्त भएका कारण विशेष अवसर प्राप्त गर्न नहुने भन्ने उद्देश्यले त्यो बुँदा राखिएको थियो। तर, टिकट वितरणका क्रममा घोषणापत्रमा लेखिएको बुँदाको पालना भएको पाइएन।”

त्यसो त काठमाडौं महानगरपालिकाको मेयर पदमा कांग्रेसले सिफारिस गरेको सिर्जना सिंहको आफ्नै राजनीतिक पृष्ठभूमि रहेको छ। उनी आफैले पनि प्रकाशमान सिंहको पत्नी भएकै कारण आफूले मेयर पदको टिकट पाएको भन्ने तर्क गलत भएको बताउँछिन्।

कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयर पदको टिकट प्राप्त गरेपछि एक कार्यक्रममा बोल्दै सिंहले भनेकी थिइन्, “प्रकाशमान सिंहको पत्नी भएकै कारण मैले मेयर पदको टिकट पाएको हैन।”

कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको निवार्चनमा पहिलो चरणबाटै पराजित भएका प्रकाशमान सिंहले दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए। सिंहले देउवालाई गरेको समर्थनकै बदलामा सिर्जनाले मेयरको टिकट प्राप्त गरेको आरोप पनि छ।

सिर्जनालाई यस्तो आरोप लागे पनि उनको विद्यार्थी राजनीतिको आफ्नै पृष्ठभूमि छ। प्रकाशमान सिंहसँग विवाह हुनुपूर्व नै उनी कांग्रेसको भ्रातृ संगठनमा आवद्ध रहेका कारण पनि उनको सिफारिसलाई नातावादका दृष्टिकोणबाट हेर्न नहुने उनी निकटको तर्क छ।

गृहमन्त्री खाँणका भाइ रामकृष्ण खाँड र मोहन बस्नेतका भाइ बालकृष्ण बस्नेत २०७४ को स्थानीय निर्वाचनमा पनि मेयर पदका प्रतिस्पर्धी रहिसकेका व्यक्ति हुन्। उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवारसँग पराजित भएका दुवैले यो पटक फेरि सोही पदका लागि टिकट पाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved