चुनाव कुर्दै गोरखा, भोट खसाउन उत्साही छन् मतदाता

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा यही गोरखामा चुनावी उत्साह छाएको छ।

चुनाव कुर्दै गोरखा, भोट खसाउन उत्साही छन् मतदाता

गोरखा। गोरखा बजारका निवासी रामबहादुर श्रेष्ठलाई ३० वैशाख आउने हतारो छ। उक्त दिन तोकिएको मतदान केन्द्रमा गएर भोट हाल्ने आतुरीमा छन् उनी।

“स्थानीय चुनाव संसदीय चुनाव जस्तो होइन। यो त गाउँ कसरी बनाउने भनेर प्रत्यक्षरुपमा जनतासँग सरोकार राख्ने भएकाले हाम्रो रुचि छ। हामी चुनावमा भोट हाल्न उत्साही छौँ”, ६० वर्षीय श्रेष्ठले सुनाए।

त्यस्तै उत्साही छन्, गोरखा बजारमा भेटिएका गोरखा बजारमा भेटिएका पालुङटार-१ का ६५ वर्षीय चेतप्रसाद अधिकारी पनि। सर्वसाधारण मतदाता जनतालाई बुझ्ने उम्मेदवारलाई भोट हाल्ने भन्दै यस पटक पटक हाम्रालाई नभएर राम्रालाई भोट हाल्ने पक्षमा रहेको बताउँछन्। उनी भन्छन्, “यो अपूर्व अवसर सदुपयोग गर्न हामी आतुर छौँ। निष्पक्ष भयरहित चुनावबाट हाम्रो गाउँको विकास गर्ने युवा नेतृत्व चुनिनुपर्छ भन्ने चाहन्छौैं।”

चेतप्रसादकै छिमेकी ८५ वर्षीय नन्दलाल श्रेष्ठ पनि मतदानको मिति कुरिरहेका छन्।

गोरखामा यस पटक झण्डै आधा लाख मतदाता थपिएका छन्। युवा मतदाताको रोजाई युवा नेतृत्व आउनुपर्छ भन्ने छ। धार्चे-३ का २१ वर्षीय सुनबहादुर तामाङ भने युवा उम्मेदवारलाई जिताउनुपर्ने बताउँछन्।

“हामी हाम्रो गाउँपालिकामा युवा नेतृत्व चाहन्छौँ, हामी युवालाई जिताउँछौँ,” उनी भन्छन्। धार्चेकै २२ वर्षका भरत घले ‘सही व्यक्ति चयन गर्नुपर्ने’ बताउँछन्। सोही ठाउँकै १९ वर्षीय सुम्बल गुरुङ ‘पहिलाको नेताहरूले अपेक्षा पुरा नगरेको’ सुनाउँछन्। यद्यपि यस पटक भने नझुक्किएर सचेत हुनुपर्ने उनको तर्क छ। धार्चेका २२ वर्षको कुमार गुरुङ ‘राजनीति समाज सेवा भए पनि नेताहरू जनताको सेवक बन्न छाडेर व्यक्तिगत लाभमा केन्द्रित बनेको’ केही युवाले गुनासो पोखे।

पालुङटारकी ३० वर्षीय अनिशा मगर अहिले गर्भवती छिन्। यही महीनाको अन्तिममा प्रसुतीको मिति तोकेका छन् डाक्टरले। भोट हाल्ने दिनअघि सुत्केरी भइहाले पतिलाई बोक्न लगाएर भए पनि भोट हाल्न जाने उनले सुनाइन्।

“अघिल्लो पटकको चुनावमा पनि म गर्भवती थिएँ। लामो बाटो हिँडेर भोट हाल्न गएकी थिएँ, अहिले पनि बुढालाई बोक्न लगाएरै भए पनि भोट हाल्न जान्छु”, उनले सुनाइन्।

 

उनका पति अर्जुन मगर पनि जनताको हितमा काम गर्ने उम्मेदवारलाई जिताउन भोट हाल्न जानुपर्ने बताउँछन्। उनले भने, “हामीलाई निस्वार्थ काम गर्ने जनप्रतिनिधि चाहिएको छ। आफ्नो लागि नभएर जनताको लागि काम गर्ने चाहेका छौँ। त्यसैले मतदानको अधिकार प्रयोग गर्नपर्छ।”

पालुङटारकी २५ वर्षीय रिता लामा भट्टराई समाजमा गरेका कामको मूल्याङ्कन गर्दै पारदर्शी व्यक्तिलाई स्थानीय तहको चुनावमा जिताउनुपर्ने बताउँछिन्।

उनी भन्छन्, “राम्रो काम गर्ने नेतृत्वको खाँचो छ। त्यस्तो नेतृत्वलाई चयन गर्नुपर्छ।”

निर्वाचन जनताको अधिकारसँग प्रत्यक्ष जोडिएकाले स्थानीय चुनावलाई भरपूर उपयोग गर्ने पक्षमा आफू रहेको उनी बताउँछन्।

 

यस्तो छ विगत

गोरखा जिल्ला त्यस्तो जिल्ला हो जहाँ स्थानीय तहको हरेक चुनावमा जनताले फरक फरक दललाइ रोज्दै आएका छन्। दुई नगरपालिकासहित ११ स्थानीय तह छन् गोर्खामा।

२०४९ सालको स्थानीय निर्वाचनमा गोरखाका सबै स्थानीय निकायमा कांग्रेसले जितेको थियो। २०५४ सालमा गोरखामा एमालेले ‘क्लिन स्वीप’ गर्‍यो। तर अघिल्लो २०७४ को चुनावमा एमाले ‘नील’ भयो। २०४९ मा ‘क्लिन स्वीप’ गरेको कांग्रेसले ९ स्थानीय तहमा जित निकाल्दै शाख फर्कायो।

संविधान सभाको चुनावमा २०६४ र २०७० सालमा ‘क्लिनस्विप’ गरेको माओवादी पनि दुई ओटा स्थानीय तहमा खुम्चियो। गोरखामा एमालेले कुनै पनि गाउँ तथा नगरपालिका जित्न सकेन भने माओवादी केन्द्र सहिद लखन गाउँपालिका र सुलिकोट गाउँपालिकामा सीमित छ।

झन्डै आधा लाख मतदाता नयाँ

गोरखामा यस पटक झन्डै आधा लाख मतदाता थपिएका छन्। यस पटक ४९ हजार ५ सय २० मतदाता थपिएका छन्। निर्वाचनप्रति आम जनताको चासो भएकै कारण धेरै नयाँ मतदाता थपिएका स्थानीय राजनीतिक दलका नेताहरू बताउँछन्।

कुल दुई लाख १८ हजार पाँच सय ६३ मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। २०७४ सालको निर्वाचनमा एक लाख ६९ हजार ४३ मतदाता थिए। अब हुने स्थानीय तह निर्वाचनमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या धेरै छ। एक लाख १० हजार तीन सय तीन जना महिला छन्। एक लाख आठ हजार दुई सय ६० जना पुरुष छन्।

सबैभन्दा बढी मतदाता गोरखा नगरपालिकामा छन्, ३५ हजार ३१ जना। सबैभन्दा कम भने चुमनुव्री गाउँपालिकामा पाँच हजार एक सय दुई जना छन्।

पालुङटार नगरपालिकामा ३२ हजार पाँच सय ९६, सहिद लखनमा २३ हजार ६ सय १७, सिरानचोकमा २१ हजार तीन सय १८, बारपाक सुलिकोटमा २० हजार चार सय ९२ र भीमसेन थापामा १९ हजार सात सय २२ मतदाता रहेका छन्।

त्यस्तै आरुघाटमा १८ हजार ६ सय ७६, गण्डकीमा १८ हजार पाँच सय ३१, अजिरकोटमा १२ हजार पाँच सय ९२ र धार्चेमा १० हजार आठ सय ८६ मतदाता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved