दीपक विष्ट, विनोद दास र सदिनाले केपी ओली दिएका सुझाव

नेपालभ्युज

दीपक विष्ट, विनोद दास र सदिनाले केपी ओली दिएका सुझाव

काठमाडौं। बुधबार काठमाडौमा आयोजित केपी शर्मा ओलीको ‘युवासँग म’ नामक अन्तरक्रियात्मक कार्यक्रममा नेपाली खेलकुद क्षेत्रबाट तीन व्यत्तित्व, बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ, क्रिकट टिमका पूर्वकप्तान विनोद दास र ओलम्पियन दिपक विष्टले धारणा राखेका थिए।

नेपाली राष्ट्रिय क्रिकट टिमका पूर्वकप्तान विनोद दास,

“खेलकुदलाई हामीले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नपर्‍यो। योभन्दा पहिला खलकुदलाई मनोरञ्जनको एउटा माध्यमको रूपमा मात्र देखिएको थियो। सायद अब समय आइसकेको छ, खेलकुदलाई एउटा व्यापारको रूपमा, देशलाई प्रवद्र्धन गर्ने मुख्य हतियारको रूपमा या देशलाई आयआर्जन गर्ने इकाईको रूपमा हेर्ने अवसर आएको छ।

अबदेखि खेलकुदलाई व्याख्या गर्दा मनोरञ्जनको माध्यमभन्दा पनि, नागरिकलाई स्वास्थ बनाउने माध्यमभन्दा पनि, एउटा उद्योगको रूपमा सरकारले हेर्ने आशा राखिएको छ। सँगसँगै खेलाडीलाई पनि धेरै पटक देशको गहनाको रूपमा भनिएको सुनिएको छ, तर खेलाडीलाई पनि चाडपर्व परेको बेला लगाउने र अरू बेला थन्काउने गहना मान्ने परिपाटीबाट निस्किएर आयआर्जनको माध्यम बनाउने कि? एउटा युवा उद्यमीको रूपमा परिचालित गर्ने कि?”

“क्रिकेटमा केन्द्रित भएर भन्नुपर्दा बेलायतमा इंग्लिस प्रिमियर लिग, इण्डियामा इण्डियन प्रिमियर लिग र त्यस्तै बार्सिलोनामा ला लिगा जस्ता देशकै अर्थतन्त्रमा ठूलो योगदान गर्ने प्रतियोगिताहरू छन्। हामीले चाहि जहिले खेलकुदलाई बजेट विनियोजित गर्दा जहिले खर्चको रूपमा मात्र किन विनियोजित गर्छौं? त्यसलाई लगानीका रूपमा किन हेर्दैनौं? खेलकुदमा आज गरेको लगानीले भोलि प्रतिफल दिन्छ भनेर किन परिकल्पना नगरेको?”

“खेलकुदको विकासका लागि चार ओटा पिलरको रूपमा परिकल्पना गर्दा तीमध्ये दुई ओटा मात्र सरकारले बनाइदिए बाँकी दुई ओटा खेलकुदको सम्बन्धित निकाय, संस्था आफैं पनि बनाउन सक्छन्। विकासको लागि सबैभन्दा ठूलो पिलर भनेको भौतिक संरचनाको हो। यदि सरकारको सबैभन्दा ठूलो सहयोग खेलकुद क्षेत्रमा चाहिएको छ भने यही भौतिक संरचना निर्माणमा चाहिएको हो। किनकि कुनै पनि खेल संस्थाले आफ्नै खर्चमा स्टेडियम, कभर्डहल जस्ता संरचना बनाउन सक्दैन। सरकारबिना यो सम्भव छैन। खेलकुदमा सरकारले १० रुपैयाँ विनियोजन गर्छ भने आठ रुपैयाँ भौतिक संरचना निर्माणमा छुट्याउन पर्छ। त्यो नभएको खण्डमा, यो त कलाकार उत्पादन गर्ने तर नाच्नलाई ठाउँ नबनाइदिए जस्तै भयो।’

उनले थपे, ‘अझै त्यसैले खेलाडी उत्पादन गर्ने तर जबसम्म खेल्न लागि हामी संरचना बनाउँदैनौं, तबसम्म खेलकुद विकासको परिकल्पना गर्नु उचित हुँदैन। खेलकुद विकासको अर्को पिलर भनेको खेलाडी उत्पादन गर्ने प्राविधिक हुन्। खेलाडीको सेवा सुविधाको लागि प्रायः कुरा उठे पनि एक वर्षमा सैयौं खेलाडी उत्पादन गर्ने प्राविधिकहरू, कोच, ट्रेनर, फिजिओ आदिको सम्बर्द्धन र विकासमा हामी कुनै पनि चासो राख्दैनौं।”

No description available.

“अझै पनि हामी खेलाडीलाई पुरष्कृत गर्ने मानसिक्ताबाट मात्र ग्रसित छौं। सगरमाथा चढेपछि हामी बल्ल गएर पुरष्कृत गर्ने गर्छौं। तर सगरमाथा चढ्न वातावरण बनाइदिने काम, जुनचाहिँ सरकारको हो त्योबाट भने अझ पनि हामी चुकेका छौं।”

नेपाली महिला बास्केटबल टिमकी कप्तान सदिना श्रेष्ठ,

“हामी खेलाडीहरू धेरै वर्ष मिहिनेत गरेर, पसिना बहाएर यहाँसम्म आइपुगका छौं, देशको लागि खेलिरहेका छौं। तर नेपालमा पूर्वाधार नै के छ र? त्यही एउटा रंगशाला छ। त्यही एक ठाउँमा सबै खेलहरू खेल्नुपर्छ। बास्केटबल, फुटबल, करातेलगायत सबै टिम स्पोर्टस र व्यक्तिगत स्पोर्टस पनि त्यहीँ खेल्नुपर्छ। त्यसैले पूर्वाधारको अभावले हामीलाई माथि पुग्न रोकेको छ। त्यसैले खेल खेल्नका लागि पूर्वाधार विकासकोे लागि के गर्न सकिन्छ?”

विस २०७६ सालमा नेपालमा नै भएको १३ औँ सागमा नेपालले बास्केटबलतर्फ प्रतिस्पर्धा गरेका चारओटै स्पार्धामा पदक जितेको थियो। केपी ओली प्रधानमन्त्री रहेको सरकारले नगद पुरस्कारसहित सम्मान गरेको थियो।

“त्यो बेला सम्मानजनक नगद पुरस्कार पाएका थियौं। त्यो मेरो १७ वर्षको खेलाडी जीवनमा सरकारबाट पाएको पहिलो प्याकेज थियो। तर त्यो पाउन मैले जति धेरै वर्ष कुर्नुपर्‍यो, अब आउने पुस्ताले यति धेरै वर्ष कुर्नु नपरोस्।”

ओलम्पियन तथा तेक्वान्दोका कीर्तिमानी पदक विजेता खेलाडी दीपक विष्ट

“खेलकुद राष्ट्रिय झण्डा फहराउने र उच्च स्थानमा पुराउने संस्था हो। तर खेलकुदलाई जहिले पनि उपेक्षा गरेको पाउँदा मन एकदमै दुखेर आउँछ। जुन सरकार आए पनि नेपालको एक प्रतिशत बजेट पनि खेलकुदलाई नछुटयाउँदा हामीलाई दुःख लाग्छ।”

“अब खेलकुदलाई मनोरञ्जनन मात्र नभई अपरिहार्य चिजको रूपमा हेरिनुपर्छ। खेलाडीको गाँस, बाँस र कपासबारे गम्भीरसाथ सोचियोस्।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved