चेल्सी एफए कपको फाइनलमा, उपाधिका लागि लिभरपुलसँग भिड्ने

चेल्सीले जारी सिजनमा दोस्रो पटक लिभरपुलसँग उपाधिका लागि फाइनलमा भिडन्त गर्ने भएको छ। गत फेब्रुअरीमा कारबाओ कपको फाइनलमा पनि चेल्सी र लिभरपुल नै भिडेका थिए।

नेपालभ्युज

चेल्सी एफए कपको फाइनलमा, उपाधिका लागि लिभरपुलसँग भिड्ने

काठमाडौं। चेल्सी लगातार तेस्रो वर्ष एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएरातिको सेमिफाइनलमा क्रिष्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गर्दै चेल्सीले चीरप्रतिद्वन्दी लिभरपुलसँगको उपाधि भिडन्त पक्का गरेको हो।

सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीका सकिए पनि दोस्रो हाफमा चेल्सी दुई गोल गर्न सफल भएको थियो। खेलको ६५ औँ मिनेटमा लौफ्टस चिक र ७६ औँ मिनेटमा मौन्टले गोल गर्दै चेल्सीको जित सुनिश्चित गरेका थिए।

यो जितसँगै चेल्सीले जारी सिजनमा दोस्रो पटक लिभरपुलसँग उपाधिका लागि फाइनलमा भिडन्त गर्ने भएको छ। गत फेब्रुअरीमा कारबाओ कपको फाइनलमा पनि चेल्सी र लिभरपुल नै भिडेका थिए।

तर, उक्त फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभरपुलले उपाधि उचालेको थियो। त्यसैले चेल्सीले यो पटक त्यो फाइनलको हारको बदला दिने मौका पाएको छ।

चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको यो लगातार तेस्रो पटक हो। तर, अघिल्ला दुई संस्करणमा चेल्सी फाइनलमा क्रमशः आर्सनल र लिसेष्टर सिटीसँग पराजित भएको थियो।

लिभरपुलले पनि अघिल्लो दिन अर्को चीरप्रतिद्वन्दी म्यान्चेष्टर सिटीलाई ३–२ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। लिभरपुल भने यो सिजन चार प्रमुख उपाधि जित्ने दाउमा छ।

कारबाओ कपको उपाधि जितिसकेको लिभरपुलले युरोपियन च्याम्पियन्स् लिगको सेमिफाइनलमा भिल्लारियलसँग खेल्दैछ।

त्यस्तै, इंग्लिस प्रिमियर लिगमा पनि चेल्सी लिग लिडर म्यान्चेष्टर सिटीभन्दा मात्र एक अंक पछि रहेर दोस्रो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved