हेटौंडाको मेयरमा गठबन्धनका तीनै दलको दाबी, कांग्रेसले कुनै हालतमा नछाड्ने

हेटौंडाको मेयरमा गठबन्धनका तीनै दलको दाबी, कांग्रेसले कुनै हालतमा नछाड्ने

हेटौंडा। हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका दलहरूले अडान नछाडेपछि आज हेटौंडामा बसेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ। उपमहानगरपालिकामा नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्र तीनै दलले दाबी गरेका हुन्।

नेपाली कांग्रेसले अघिल्लो स्थानीय निर्वाचनमा थोरै मतान्तरले पराजित भएको थियो। कांग्रेसले त्यतिबेला पनि नेकपा माओवादीसँग गठबन्धन गरेको थियो। त्यसैले यो पटक पनि कांग्रेसल आफ्नो मागबाट पछि हट्न खोजेको छैन।

आफूहरूले बहुमत स्थानीय तह पाउनुपर्ने कांग्रेसको अडान छ। गठबन्धनमा सबैभन्दा शक्तिशाली कांग्रेस रहेकाले अरू दलले पनि यसलाई स्विकार गर्नुपर्ने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए।

सत्तारुढ दल पनि पटकपटक बैठक बसे पनि अन्तिम निर्णयका लागि केन्द्रको निर्देशनको पर्खाइमा छ। मकवानपुरमा हेटौंडा उपमहानगरपालिकासहित एउटा नगरपालिका र आठ ओटा गाउँपालिका छन्। उपमहानगरको टिकट सत्ता र प्रतिपक्षीले केन्द्रबाटै टुंग्याउने निर्णय गरेका कारण जिल्लामा अन्योल बढेको छ।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले मकवानपुरमा ६ वटा स्थानीय तहमा विजयी भएको थियो। कांग्रेस र माओवादीले २-२ वटा स्थानीय तह जितेका थिए। एमाले विभाजन भएसँगै कैलाश र इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष अहिले नेकपा (एस) मा छन्।

यसअघि जितेका स्थानीय तहमा गठबन्धनका दलहरूले उम्मेदवार उठाउने प्रस्ताव नेकपा (एस)ले गरेको छ। यसअघि कांग्रेसले जितेको बकैया र राक्सिराङ गाउँपालिका, माओवादीले जितेको थाहा नगर र बागमती गाउँपालिका तथा नेकपा एसले जितेको कैलाश र इन्द्रसरोवरमा सोही पार्टीका उम्मेदवार उठाउने प्रस्ताव एसले गरेको छ। हेटौंडाको जिम्मा केन्द्रलाई दिने र बाँकी मनहरी, मकवानपुरगढी र भीमफेदी गाउँपालिकामा भागवण्डा गर्ने उसको प्रस्ताव छ।

समाजवादीबाट दुई जना सिफारिस

नेकपा एसले पनि हेटौंडा उपमहानगरपालिकामा दाबी गरेको छ। समाजवादीले दुई जनालाई मेयरमा सिफारिस पनि गरिसकेको छ। पार्टीले हालकी उपमेयर मीना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई मेयरमा उम्मेदवार बनाउन सिफारिस गरेको हो।

अघिल्लो पटक एमालले जितेको स्थानमा समाजवादीले दाबी गरिरहेको छ। समाजवादीले हेटौंडाका १९ वटै वडाको अध्यक्षहरूमा पनि नाम सिफारिस गरेको छ।

सोमबार भागबण्डा टुंगिने

मकवानपुरका गठबन्धन दलहरूले सोमबार साँझसम्म जिल्लाको स्थानीय तहको भागबण्डा टुंग्याउने भएका छन्। सत्तारुढ गठबन्धनका दलहरूको ८ वटा बैठकले सहमतिको विन्दु खोजेको र सोमबार साँझ ५ बजे बैठक बोलाइएको छ।

नेकपा माओवादी केन्द्रको आन्तरिक छलफल भएकाले आइतबार दिउँसो बस्ने भनिएको बैठक स्थगित भएको नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलले बताए। “सोमबारका बैठकले सबै विषयमा लगभग सहमति गर्नेछ र सहमति नबने प्रदेश र केन्द्रमा लेखेर पठाउने विषयमा सहमति हुनेछ,” उनले भने।

कांग्रेस मकवानपुर सभापति लामाले केन्द्रको निर्देशनअनुसार जिल्ला, स्थानीय तह र वडा तहमै गठबन्धनको संयन्त्र तयार गरिएको र सोहीअनुसार उम्मेदवार छनोट गरिने बताए। “उम्मेदवारको विषय टुंगो लागेको छैन,” उनले भने, “छलफलहरू भएका छन्। केन्द्रीय निर्देशनअनुसार हामी बढ्नेछौं।”

एमालेमा अन्योल

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमाले र राप्रपा नेपालबीच सहकार्य गर्ने सहमति भएपछि मकवानपुरमा एमाले अन्योलमा छ। नेकपा एमाले र राप्रपा नेपालवीच गठबन्धन भएपश्चात् अब कसरी अगाडि बढ्ने भनेर दुवै दल निचोडमा पुग्न सकेका छैनन्। जसको कारण उम्मेदवारी दर्ताका लागि एक हप्ताको मात्र समय रहँदा पनि जिल्लामा चुनावी माहोल सिर्जना हुन सकेको छैन।

नेकपा एमालेले वडा तहको उम्मेदवार अधिकांश स्थानमा तय गरे पनि राप्रपा नेपालसँगको नयाँ समीकरणसँगै चुनावी कार्यक्रम अगाडि बढाउन सकेको छैन। मकवानपुर राप्रपा नेपाल कमल थापाको गृह जिल्ला हो। जसको कारणले गर्दा एमालेले कसरी अगाडि बढ्ने भनेर स्पष्ट रूपमा निर्णय लिन सकेको छैन।

एमालेले उम्मेदवार छनोट कमिटी निर्माण गरे पनि राप्रपासँग वार्ता भइरहेका कारण अन्तिम निर्णयमा पुग्न सकेको छैन। एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले केही दिनभित्र उम्मेदवार टुंगो लाग्ने बताए।

हेटौंडाको मेयरमा ९ जनाले दाबी गरे पनि एमालेले तीन जनाको नाम सिफारिस गरेको थियो। अनन्त पौडेल, गणेशकुमारी प्रधान, हरिबहादुर महतको नाम सिफारिस गरेको थियो। तर राप्रपा नेपालले एमालेसँग गठबन्धन गर्ने बताएपछि एमालेले सिफारिस गरेका मेयरको नाम सिफारिस गरे पनि अन्योल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved