उपसभापति रामकुमारको पक्षमा निर्णय आएपछि सप्तरी कांग्रेसभित्र विवाद चुलियो

नेपालभ्युज

उपसभापति रामकुमारको पक्षमा निर्णय आएपछि सप्तरी कांग्रेसभित्र विवाद चुलियो

जनकपुरधाम। स्थानीय निर्वाचन नजिकिँदै गर्दा सप्तरीमा नेपाली कांग्रेसको संस्थापन र इतरसमूहबीच विवाद चर्किन थालेको छ।  पार्टीभित्रको विवादले जिल्लाको माहोल बिग्रिन थालेको छ।

खासगरी सप्तरी जिल्ला नेतृत्वका लागि २४ फागुनमा भएको निर्वाचनमा उपसभापति पदमा भएको हार-जितको विषयलले विवाद उत्पन्न भएको हो।

उपसभापति पदमा ६ मतले पराजित भएका उम्मेदवारलाई पुनः गरिएको मतगणनापछि केन्द्रीय निर्वाचन समितिले १ मतले निर्वाचित भएको भन्दै प्रमाणपत्र दिएपछि विवाद चुलिएको हो। निर्वाचनको मत परिणामअनुसार उपसभापति पदमा संस्थापन पक्षका फतेह मोहम्द १ हजार ६९ र रामप्रसाद मण्डल १ हजार ५९ मत ल्याएर निर्वाचित भएका थिए।

डा. शेखर कोइराला पक्षका उम्मेदवार रामकुमार यादव १ हजार ५३ र ध्रुवनारायण चौधरी ९ सय ५४ मत मात्र प्राप्त गर्दै पराजित भएका थिए। तर रामप्रसादसँग ६ मतले पराजित भएका रामकुमारले पुनः मतगणनाको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी दिएका थिए। शुरुमा ६ मतले हारेका रामकुमार पुनः मतगणना हुँदा १ मतले विजयी भएका थिए।

केन्द्रीय निर्वाचन समितिले जिल्ला निर्वाचन अधिकृतबाट प्राप्त सक्कल मतगणना रजिष्टर र मतगणना सिटसमेत जाँच गरी हेर्दा यादवको १ हजार ५३ र मण्डलको १ हजार ५२ मात्रै देखिएको भन्दै यादवलाई उपसभापति पदमा विजयी भएको प्रमाणपत्र दिएर पठाइदिएका थिए।

केन्द्रीय निर्वाचन समितिले रामप्रसाद मण्डलको नाममा जारी भएको कांग्रेस सप्तरी जिल्लाको उपसभापति पदको निर्चाचित भएको प्रमाण पत्र रद्द गर्दै दोस्रो बढी मत प्राप्त गरी निर्वाचित भएका यादवको नाममा उपसभापति पदको निर्वाचित भएको प्रमाण पत्र केन्द्रबाट नै जारी गरी उनलाई प्रदान गर्ने निर्णय गरेको छ।

जिल्ला निर्वाचन अधिकृतबाट केन्द्रमा प्राप्त सक्कल मतगणना सिट तथा मतगणना सक्कल पुस्तिकमा उल्लिखित मत परिणामअनुसार दुई उम्मेदवारमध्ये रामकुमारले १ हजार ५३ मत र रामप्रसादले १ हजार ५२ मत प्राप्त गरेको उल्लेख छ।

मतपरिणामको कूल योगफलमा रामकुमारभन्दा १ मत कम प्राप्त गरेका रामप्रसादको मत बढी देखाई विजयी गराइएको थियो। उनलाई निर्वाचित घोषणा गरेका सप्तरी जिल्ला निर्वाचन अधिकृतको निर्णय प्रथम दृष्टिमै गलत र त्रुटिपूर्ण भएकाले उक्त निर्णय खारेज गरिएको केन्द्रीय निर्वाचन समितिको निर्णयमा उल्लेख छ।

उक्त निर्णयसम्बन्धी पत्र जिल्लामा आएपछि संस्थापन पक्षले आन्दोलन गर्ने चेतावनी दिएको छ। केन्द्रीय निर्वाचन समितिले गरेको निर्णयको भर्त्सना गर्दै संस्थापन पक्षले उक्त निर्णय बदर माग गर्दै निर्णय आन्दोलनमा उत्रने चेतावनी दिएको छ।

संस्थापन पक्षबाट निर्वाचित उपसभापति फतेह मोहम्द, सचिव प्रभुनारायण चौधरी र सनत मण्डल, सहसचिवद्वय घनश्याम साह र मनोज कुमार खड्का, क्षेत्रीय सभापति ललन गुप्ता, भूपेन्द्रनारायण मण्डल र महानन्द प्रसाद यादव लगायतले विज्ञप्ति जारी गर्दै निर्णय खारेज नगरिए आन्दोलनको चेतावनी दिएका हुन्।

विज्ञप्तिमा रामप्रसादलाई निर्वाचित गरी प्रमाण पत्रसमेत प्रदान गरिसकेको अवस्थामा र कार्यवाहक निर्वाचन अधिकृत सन्तोष भण्डारीद्वारा पदभार ग्रहण समेत गराइसकेको अवस्थामा केन्द्रीय निर्वाचन समितिले बदनियतपूर्ण ढंगले गलत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved