मधेश प्रदेश गठबन्धनको बैठक सकियो, जिल्ला नेतृत्वसँग छलफल गरेर निष्कर्ष निकाल्ने

नेपालभ्युज

मधेश प्रदेश गठबन्धनको बैठक सकियो, जिल्ला नेतृत्वसँग छलफल गरेर निष्कर्ष निकाल्ने

जनकपुरधाम। स्थानीय तहको निर्वाचनको लागि सत्तारुढ दलहरूको मधेश प्रदेशस्तरीय बैठकले चुनावी तालमेल गर्न जिल्ला नेतृत्वसँग छलफल गरेर निष्कर्ष निकाल्ने निर्णय गरेको छ।

आज मंगलबार महोत्तरीको बर्दिबासमा बसेको प्रदेश गठबन्धनको बैठकले २ वैशाखसम्म जिल्लास्तरीय गठबन्धनबाट पालिका तहअनुसारको छलफल गरी खाका तयार पार्ने निर्णय गरेको छ।

मधेश प्रदेशभित्रका आठ वटै जिल्लामा गठबन्धन दलको छलफलपश्चात् गठबन्धनको प्रदेश नेतृत्वसँग जिल्लागत रूपमा बैठक बसी चुनावी तालमेलको खाका तयार पार्ने जसमा गठबन्धन घटकबाट जिल्ला सभापति तथा इन्चार्जसहित दुई जना मात्र सहभागी हुने जनाइएको छ।

जिल्लागत बैठकपश्चात् ३ वैशाखमा कांग्रेस मधेश प्रदेश कार्यालय जकपुरधाममा हुने बैठकमा धनुषा र महोत्तरी जिल्लाको सन्दर्भमा बिहान ८ देखि १२ बजेसम्म तथा सिरहा र सप्तरी जिल्लाको सन्दर्भमा दिउँसो २ बजेदेखि छलफल हुने जनाइएको छ।

यस्तै ४ वैशाखमा जसपा मधेश प्रदेश कार्यालयमा बस्ने बैठकमा बिहान ९ देखि १२ बजेसम्म सर्लाही र रौतहट जिल्लाबारे र दिउँसो २ बजेदेखि बस्ने बैठकमा बारा र पर्सा जिल्लाबारे छलफल हुने जनाइएको छ।

मंगलबार बसेको मधेश प्रदेशस्तरीय गठबन्धन बैठकले केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूद्वारा जारी संयुक्त विज्ञप्तिलाई स्वागत गर्ने निर्णयसमेत गरेको छ।

बैठकमा नेपाली कांग्रेसका प्रदेश समिति अध्यक्ष तथा सत्ता गठबन्धनका संयोजक कृष्णप्रसाद यादव, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष रामचन्द्र यादव, जसपाका प्रदेश अध्यक्ष रामबाबु यादव, राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी र नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश इन्चार्ज दिनेशकुमार यादव, नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति चन्द्रशेखर यादव, कांग्रेसका मधेश प्रदेश कार्यसमितिका कोषाध्यक्ष प्रदीपकुमार यादव र नेपाली कांग्रेस कै प्रदेश मुख्य सचिव सन्तु यादव सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved