कर्णालीमा कांग्रेसभित्र विवादः गठबन्धन गर्नै नहुने कोइराला पक्षको अडान

कर्णालीमा कांग्रेसभित्र विवादः गठबन्धन गर्नै नहुने कोइराला पक्षको अडान

सुर्खेत। कर्णालीमा चुनावी गठबन्धन गर्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ। कर्णाली कांग्रेसभित्र संस्थापन शेरबहादुर देउवा पक्ष स्थानीय तहको निर्वाचन गठबन्धन गर्ने पक्षमा छ भने शेखर कोइराला पक्ष विपक्षमा देखिएको छ।

संस्थापक पक्षमा रहेका सभापति रहेका सल्यान, हुम्ला, जुम्ला, सुर्खेत र दैलेख जिल्लामा सत्तारुढ दलबीच गठबन्धन गर्ने सहमति गर्दा शेखर कोइराला पक्षले त्यसको विरोध गरेको छ। कोइराला पक्षधर सभापति रहेको कालिकोट जिल्लामा गठबन्धन गर्ने विषयमा छलफल नै भएको छैन। कांग्रेसले अनौपचारिक रुपमा गठबन्धन नगर्ने बताउँदै आएको छ।

सल्यानमा सभापति केशबहादुर विष्टले विधानबाहिर गएर निर्वाचनका लागि संसदीय समिति गठन गरेको तथा गठबन्धन बनाएर स्थानीय तहको चुनावमा भाग लिन लागेको भन्दै अन्य पदाधिकारीहरूले विरोध जनाएका छन्।

स्थानीय निर्वाचनको सम्पूर्ण जिम्मेवारी पाएका सभापति बिष्टले बैठक नबसाई र संसदीय समिति गठन नगरी आफूखुशी निर्णय गरेकाले आफूहरू असन्तुष्ट भएको कांग्रेस सल्यानका उपासभापति सन्तोष केसीले बताए।

“सभापतिले हामीलाई दासको जस्तो व्यवहार गर्नुभयो,” उनले भने, “वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा क्षमताअनुसार सबैलाई अवसर दिनुपर्छ भन्ने हाम्रो माग हो।”

जुम्लामा गठबन्धन गर्ने विषयमा कांग्रेसभित्रै विवाद चर्किएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र समाजवादी जनता पार्टीले चैत २६ गते गठबन्धन गर्ने सहमति गरेका थिए। पार्टीका जिल्ला सभापति कर्णबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्ने सहमति गरेको भए पनि पार्टीका उपसभापतिलगायत पदाधिकारीहरूले त्यसको विरोध गरेका हुन्।

जिल्ला उपसभापति कर्मा बुढाले भने आफूहरू एक्लै चुनावमा जाने निर्णय गरेको र त्यसविपरीत गठबन्धन भए आफूहरूको आपत्ति रहने उनले बताए। भने, “हाम्रो अधिकांश साथीहरूले गठबन्धन नगर्ने निर्णय गरेका छन्।”

त्यस्तै सुर्खेतमा शेखर कोइराला पक्षले आफूहरूले ४० प्रतिशत भाग पाउनुपर्ने माग गरिरहेको छ। नत्र गठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved