निर्वाचनका विषयमा अलमलमा विप्लव नेकपा, पार्टी निर्णय र कार्यान्वयनमा भिन्नता

स्थानीय निर्वाचनमा पार्टीगत हिसाबमा सहभागी नहुने पार्टीले निर्णय गरे पनि पार्टी प्रवक्ता निर्वाचन आयोग पुग्नलाई पार्टीका नेताहरूले फरक हिसाबमा हेरेका छन्।

निर्वाचनका विषयमा अलमलमा विप्लव नेकपा, पार्टी निर्णय र कार्यान्वयनमा भिन्नता

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय गरे पनि त्यसको पालना नभएको पार्टीकै नेताहरूको आरोप छ।

४-१४ चैतमा कपिलवस्तुमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा बहुमत सदस्यले निर्वाचनमा पार्टी सहभागी नहुने निर्णय लिए पनि रोल्पा लगायतका केही स्थानमा पार्टीले आफ्नो उम्मेदवार घोषणा गर्न थालेपछि केन्द्रीय समितिको निर्णय पार्टी नेतृत्वले पालना नगरेको आरोप लागेको हो।

केन्द्रीय समितिको बैठकले निर्वाचनमा पार्टी सहभागी नहुने तर पार्टी सम्बद्ध व्यक्ति स्वतन्त्र हिसाबमा निर्वाचनमा सहभागी हुनसक्ने निर्णय गरेको थियो। पार्टी महासचिव विप्लवले निर्वाचनलाई ‘प्रयोग’ गर्नुपर्ने बताएको र प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) त्यसमा सहमत भए पनि अधिकांश पार्टीका केन्द्रीय सदस्य महासचिवको प्रस्तावविरुद्ध रहेको पार्टी अन्तर्राष्ट्रिय विभाग प्रमुख रहेका नेता धर्मेन्द्र बास्तोला बताउँछन्।

“पार्टी महासचिव र प्रवक्ता निर्वाचनलाई प्रयोग गर्नुपर्छ भन्ने मान्यतामा हुनुहुन्थ्यो,” नेता बास्तोलाले भने, “यद्यपि, अधिकांश सदस्यले संसदीय भासमा पार्टी गएको अवस्थामा त्यसबाट फर्किन नसकिने हुँदा पार्टीगत रुपमा निर्वाचनमा सहभागी हुन नहुने ठहर भएपछि निर्वाचनमा पार्टीगत रुपमा सहभागी नहुने निर्णय पारित भएको हो।”

पार्टीगत रुपमा निर्वाचनमा सहभागी नहुने बताए पनि पार्टीले एमसीसी विरोधी व्यक्ति, राष्ट्रवादी व्यक्तिलाई भने पार्टीले निर्वाचनमा सहयोग गर्न सक्ने निर्णय गरेको थियो।

पार्टीको केन्द्रीय समितिले एउटा निर्णय गरे पनि पार्टी नेतृत्व भने निर्वाचनलाई प्रयोग गर्नुपर्ने आफ्नो धारणाबाट बाहिरिएको देखिँदैन। २१ चैतमा सुदूरपश्चिम प्रदेशमा विप्लव पक्षका नेताहरूले नेकपा एमालेसँग चुनावी तालमेलका विषयमा छलफल गरेको थियो। यस्तै, रोल्पाका केही स्थानमा उसले आफ्नो तर्फबाट स्थानीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने व्यक्तिको नाम नै घोषणा गरेको छ।

पार्टीगत हिसाबमा निर्वाचनमा सहभागी नहुने पार्टीको केन्द्रीय समितिले निर्णय गरे पनि आफू निकटका व्यक्तिलाई निर्वाचनमा सहभागी गराउन पार्टी महासचिव विप्लव लगायतका केही नेता भने सक्रिय भएका छन्।

यही क्रममा २४ चैतमा पार्टीका प्रवक्ता प्रकाण्ड निर्वाचन आयोग पुगेका थिए। स्थानीय निर्वाचनमा पार्टीगत हिसाबमा सहभागी नहुने पार्टीले निर्णय गरे पनि पार्टी प्रवक्ता निर्वाचन आयोग पुग्नलाई पार्टीका नेताहरूले फरक हिसाबमा हेरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved