राजापाक्षेको पारिवारिक स्वार्थले निम्तिएको श्रीलंकाको आर्थिक संकट

राजापाक्षेको पारिवारिक स्वार्थले निम्तिएको श्रीलंकाको आर्थिक संकट

श्रीलंका यतिबेला आर्थिक संकटको सामना गरिरहेको छ। सन् १९४८ को स्वतन्त्रता यताकै सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको श्रीलंकामा मुद्रास्फीतिका कारण आधारभूत उपभोग्य वस्तुको मूल्य आकाशिएको छ। सञ्चित विदेशी मुद्रा १ अर्ब डलरमुनि पुगेको छ। देश सञ्चित डलर कम हुँदै जाँदा विदेशबाट सामान आयातसमेत गर्न नसक्ने अवस्थामा पुगेको छ, जसकारण इन्धन, खाद्यान्नदेखि औषधिसम्मको संकट चुलिएको छ।

अवस्था यतिसम्म भयावह बनेको छ कि इन्धन खरीदका लागि लाइनमा बसेका तीन जनाको निधन भएपछि सरकारले इन्धन बिक्रि केन्द्रमा सेना परिचालन गरेको छ। श्रीलंका सरकारका सबै मन्त्रीले आफ्नो पदबाट राजीनामा दिइसकेका छन् भने राष्ट्रपतिले अर्थतन्त्रलाई थप बिग्रिन नदिन अर्थशास्त्रीहरूको सल्लाकार समूह गठन गरेका छन्।

देशको गिर्दो अर्थतन्त्रका लागि सरकारलाई दोषी ठहर्याउँदै जनता सरकारविरुद्ध सडक प्रर्दशनमा समेत उत्रिएका थिए। आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नाराबाजी गरेपछि सरकारले १ अप्रिलमा देशव्यापी संकटकालको घोषणा गरेको थियो। यद्यपि त्यो संकटकाल ५ अप्रिल मध्यरातबाट लागू हुनेगरी हटिसकेको छ।

एक भिडिओ सन्देशमार्फत जनतालाई इन्धनको उपयोगलाई जतिसक्दो कम गरेर देशका लागि सहयोग गर्न राष्ट्रपति गोटावाय राजापाक्षेले आह्वान गरेका थिए। उनले अत्यावश्यक सामग्री केही समयका लागि कम प्रयोग गर्दै जनताले पनि सरकारलाई सहयोग गर्नसक्ने बताएका थिए।

श्रीलंकाको वैदेशिक मुद्रा सञ्चितिको मूल आधार पर्यटन हो। यहाँको कुल ग्राहस्थ उत्पादनको करीब १२ प्रतिशत पर्यटन क्षेत्रले ओगटेको छ। तर, २१ अप्रिल २०१९ मा राजधानी कोलम्बोका तीन चर्चमा इस्लामिक आतंकवादी समूहको आक्रमणपछि त्यहाँको पर्यटन क्षेत्रमा त्यसले ठूलो नोक्सान पुर्‍यायो। त्यसमाथि कोभिड महामारीले श्रीलंकाको पर्यटन क्षेत्रलाई ठूलो धक्का दियो र वैदेशिक मुद्रा सञ्चितिमा कमी आयो। रूस-युक्रेन तनाबले श्रीलंकाको बिग्रदो अर्थतन्त्रमा थप आगो थप्यो। एक तथ्यांकअनुसार श्रीलंका घुम्न आउने पर्यटकमध्ये रूसी पर्यटक पहिलो र युक्रेनी पर्यटक तेस्रो स्थानमा पर्छन्। रूस-युक्रेन युद्धले त्यसको सोझो असर श्रीलंकालाई पर्ने नै भयो।

सन् २०१९ को राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार राजापाक्षेत्रले रसायनिक मल आयातमा छुट दिने बाचा गरेका थिए। जैविक खाद्यान्न उत्पादनका लागि प्रख्यात देशमा रसायनिक मलका लागि छुट दिने निर्वाचनको समयमा गरिएको बाचापछि कार्यान्वयन भएन। राष्ट्रपतिमा निर्वाचित भएपछि राजापाक्षेले रसायनिक मलले जहरको काम गर्ने भन्दै जैविक खेतीलाई नै जोड दिएका थिए। सन् २०२१ सम्म आइपुग्दा सरकारले रसायनिक मल आयातमा पूर्ण रूपमा रोक लगायो।

त्यहाँको सरकारले श्रीलंकालाई जैविक खाद्यान्न उपभोग गर्ने पहिलो देश बनाउने उद्देश्य राखेको थियो। तर रसायनिक खाद्यान्नको जस्तो बजार जैविक खेतीले लिएन, बरु महँगी बढायो। श्रीलंकामा देखिएको आर्थिक समस्याको एक कारण सरकारको यही नीतिगत गल्तीलाई पनि लिइएको छ। राष्ट्रपतीय निर्वाचनमा राजापाक्षेले अर्को गल्ती गरे। निर्वाचन घोषणापत्रमा उनले आफू निर्वाचति भएको खण्डमा सरकारी कर घटाउने बाचा गरेका थिए। जसअन्तर्गत उनको सरकारले कर छुट त दियो तर त्यसले सरकारको कुल राजश्वमा ३५ प्रतिशत कमी ल्यायो।

एकतर्फ कोलोम्बोमा भएको आतंककारी हमलाले त्यहाँको अर्थतन्त्रलाई प्रभाव पार्न थालेको थियो भने अर्कोतर्फ कोभिड महामारीले त्यसलाई झनै बढावा दियो। विस्तारै अन्तर्राष्ट्रिय मैद्रिक बजारमा रहेको उसको पकड कमजोर हुँदै गयो। अर्थतन्त्र कमजोर हुँदै गए पनि वैदेशिक ऋणबाट ऊ मुक्त थिएन। अन्तर्राष्ट्रिय मैद्रिक बजारमा उसको उपस्थिति कमजोर हुने र वैदेशिक ऋण भने तिर्नुपर्ने अवस्थामा वैदेशिक मुद्राको सञ्चिति घट्दै गयो। यी विभिन्न कारणले श्रीलंकालाई अहिलेको अवस्थामा ल्याइपुर्‍याएको छ।

भारत र चीनले श्रीलंकाको आर्थिक संकटलाई केही हदसम्म सम्बोधन गर्ने प्रयास गरेका छन्। त्यसो त श्रीलंकामा चीनको कारण आर्थिक संकट आएको हो भन्ने मत पनि छ, यद्यपि त्यो मात्रै कारण होइन। विश्वको आर्थिक केन्द्रका नाताले चीनले सहयोग गर्नुपर्ने अर्को मत पनि छ। ७ अप्रिलमा श्रीलंकाले चीनसँग सहयोग मागेको थियो तर चीनले  त्यसको जवाफ दिएको छैन। केही समयअघि श्रीलंकाले राखेको यस्तै प्रस्तावलाई चीनले अस्वीकार गरेको थियो।

आर्थिक संकट बढ्दै गर्दा श्रीलंकाका राष्ट्रपति राजापाक्षेले अन्तर्राष्ट्रिय समुदायलाई आर्थिक उद्वार (बेलआउट) गर्न आग्रहसमेत गरिसकेका छन्। राष्ट्रपति राजापाक्षेत्रको आग्रहको प्रतिउत्तरमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंका सरकारको वैदेशिक ऋण ५१ बिलियन डलर रहेको र त्यो अस्थिर रहेको बताएको छ। यस्तै जुलाईमा श्रीलंकाले १ बिलियन डलर (सोभर्जिन बोन्ड) चुक्ता गर्नुपर्नेछ। यो वर्षभित्र ८ दशमलव ६ बिलियन अमेरिकी डलर ऋण चुक्ता गर्नुपर्छ। वैदेशिक मुद्राको सञ्चित कम रहेको अवस्थामा आर्थिक संरचनालाई नै फेरबदल नगर्दासम्म श्रीलंकाले वैदेशिक ऋण तिर्न नसक्ने बताएको छ।

राजापाक्षे परिवारले निम्त्याएको संकट

नेतृत्वमा रहेको व्यक्तिले पारिवारिक स्वार्थलाई राष्ट्रभन्दा माथि राख्दा देश कस्तो हुन्छ ? यसको गतिलो उदाहरण हो श्रीलंकामा देखिएको आर्थिक संकट। सन् १९४८ मा बेलायतको उपनिवेशिक शासनबाट स्वतन्त्र भएको निर्वाचनमा डोन एल्भिन राजापाक्षेले विजयी भए।

उनी निर्वाचनमा विजयी हुनुपछाडि अर्को कथा छ, डोन एल्भिनका भाइ डोन म्याथ्यु राजापाक्षे। म्याथ्यु पूर्णकालिन राजनीतिमा थिए। देश स्वतन्त्र हुनुपूर्व भएको राज्य परिषद्को निर्वाचनमा उनी विजयी भएका थिए। त्यो निर्वाचमा एल्भिनले भाइलाई सहयोग गरे पनि उनी भने राजनीतिमा सक्रिय थिएनन्। एक घटनामा सन् १९४५ मा म्याथ्युको निधन भयो। आफ्नो क्षेत्रमा राम्रो पकड भएका म्याथ्युको निधनले कार्यकतामा असर गर्‍यो। भाइको राजनीतिक विरासत सम्हाल्न आएका थिए एल्भिन राजापाक्षे। यिनै राजापाक्षेको परिवार आज श्रीलंकाको राजनीतिको केन्द्रमा छ।

डोन एल्भिन श्रीलंकाको राजनीतिमा अघि बढ्दै गर्दा उनी संलग्न युनाइटेड नेशनल पार्टीमा एक साथी थिए, सर सोलोमन डायस अबेविक्रम जयतिल्लेके सेनेविरत्न राजकुमारुना कडुकेरालु बन्दरनायके। बन्दरनायकेलाई श्रीलंकाको पहिलो प्रधानमन्त्रीका रूपमा हेरिएको थियो। यद्यपि, राजनीतिक खिचातानीका कारण उनी त्यो दौडबाट केही पर पुगे। दौडमा पछि परे पनि उनको इच्छा भने मरेको थिएन। बन्दरनायके पार्टीको नीतिमा असन्तुष्ट हुन थाल्दै थियो यो समयमा।

जुलाई १९५१ मा उनी आफ्ना समर्थकसहित विपक्षीको कुर्सीमा बसे। योसँगै उनले युनाइटेड नेशनल पार्टी परित्याग गरे र नयाँ पार्टीको नाम राखे श्रीलंका फ्रिडम पार्टी। उनलाई डोन एल्भिन राजापाक्षेले साथ दिएका थिए। सन् १९५६ को निर्वाचनमा सफलता प्राप्त गर्दै पार्टी पहिलो पार्टी भन्यो। बन्दरनायकेको नेतृत्वमा सरकार सञ्चालन हुँदै थियो। २५ सेप्टेम्बर १९५९ को दिन एक बौद्ध भिक्षुको भेषमा आएको व्यक्तिले गोली हानी उनको हत्या गर्‍यो।

सोलोमन बन्दरनायकेको निधनपछि पार्टी अध्यक्षसहित प्रधानमन्त्रीको पद खाली थियो। डोन एल्भिनलाई उक्त पदमा बस्ने अवसर आएको थियो तर अन्तिम घडीमा सोलोमनकी पत्नी श्रीमा रतबत्ते डायस बन्दरनायकेले आफूलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा अगाडी बढाइन्। पार्टी र सरकार दुवैको नेतृत्वमा श्रीमाको हातमा आयो। उनी विश्वको पहिलो महिला प्रधानमन्त्री समेत हुन्।

डोन एल्भिन राजनीतिमा खासै अगाडि बढ्न सकेनन्। सन् १९६५ मा निर्वाचनमा उनी पराजित भए। त्यसको दुई वर्षपछि उनको निधन भयो। एल्भिनका ९ सन्तान थिए। उनकै सन्तान गोटावाया राजापाक्षे र महिन्द्रा राजापाक्षे हाल श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री छन्। पिताको निधनलगत्तै १९७० को दशकबाट महिन्द्रा राजनीतिमा सक्रिय हुँदा गोटावाय भने सेनामा भर्ती भए।

सन् १९९४ मा श्रीमाले श्रीलंका फ्रिडम पार्टीको नेतृत्व आफ्नो छोरी चन्द्रिका कुमारातुंगालाई दिइन्। १९९४ देखि २००५ सम्म चन्द्रिका देशको राष्ट्रपति रहिन्। चन्द्रिका देशको राष्ट्रपति हुँदा महिन्द्रा मन्त्रिपरिषद्का विभिन्न भूमिकामा थिए। सन् २००५ मा चन्द्रिकाले राजनीति परित्योग गर्ने घोषणा गरिन्, घोषणा महिन्द्राका लागि ठूलो अवसर थियो। महिन्द्राले भाइ गोटावायाको सहयोगमा निर्वाचित भए। सन् १९९१ मा सेनाको जागिरबाट अवकास प्राप्त गरेपछि गोटावाया अमेरिकामा बस्दै आएका थिए। दाई महिन्द्रा राष्ट्रपतिमा हुँदा भाई गोटावाया रक्षामन्त्री भए।

यो सयममा श्रीलंका गृहयुद्धको चरम अवस्थामा थियो। सन् २००९ सम्म आउँदा त्यो अन्त्य भयो। गृहयुद्धको अन्त्यसँगै युद्धको न्यायिक छानबिनको माग उठेको थियो। त्यसलाई अस्वीकार गरेका राजापाक्षेत्र दाजुभाइले राज्यका विभिन्न निकायमा भने परिवारका व्यक्तिलाई नियुक्त गर्दै गए। समय यस्तो पनि थियो राजापाक्षे परिवारका करीब ४० सदस्य सरकारका विभिन्न तहमा थिए। यो परिवारले राष्ट्रिय ढुकुटीलाई परिवारको हितमा खर्च गरेको आरोप छ।

सन् २०१५ मा तेस्रो पटक राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्दै गरेका महिन्दा राजापाक्षे परिवारवाद, बढ्दो भष्टचारलगायतको मुद्दाको सामना गर्न नसक्दा पराजित भए। मत्रिपाल श्रीसेना देशका राष्ट्रपति भए। श्रीसेना महिन्द्राको मन्त्रिपरिषद्मा रहेका काम गरेका व्यक्ति थिए जसले पछि आफ्नो छुट्टै राजनीतिक पार्टीको स्थापना गरे। श्रीसेना सरकारले राजापाक्षे परिवारका सदस्यविरुद्ध भष्ट्राचारलगायतमा मुद्दा चलाउने निर्णय गर्दा राजापाक्षे परिवारका धेरै सदस्य विदेश भागेका थिए।

निर्वाचनमा पराजित भए पनि राजापाक्षे परिवार सत्ताको सुखबाट धेरै समय टाढा रहनु परेन। संवैधानिक संटकका कारण श्रीसेनाले विपक्षी दलका नेता महिन्द्रालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्‍यो। यद्यपि, उनको नियुक्तिलाई अदालतले अवैधानिक ठहर गरेपछि उनले प्रधानमन्त्रीको कुर्सी छोड्नुपर्‍यो।

सन् २०१९ को राष्ट्रपतीय निर्वाचनमा महिन्द्रा राजापाक्षे राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न पाएनन्। कारण श्रीसेना सरकारले एक व्यक्ति राष्ट्रपतिमा दुई कार्यकालभन्दा बढी हुन नपाउने नियम लगाएको थियो। राजापाक्षे परिवारले अर्को बाटो निकाल्यो। गोटावाय राजापाक्षे राष्ट्रपतिको उम्मेदवार भए र निर्वाचनमा विजय हासिल गर्दा दाई महिन्द्रा देशको प्रधानमन्त्री नियुक्त भए। गोटावाया र महिन्द्राका अलावा उनीहरूका दुई भाइ पनि मन्त्री भए। सरकारका विभिन्न जिम्मेवारीमा यो परिवारका १० भन्दा बढी सदस्य नियुक्त भए। ती मध्ये केहीले हालै राजीनामा दिएका छन्।

-एसेन्सीहरूको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved