सवारी लाइसेन्सको नयाँ आवेदनका लागि जेठसम्म पर्खनुपर्ने

नेपालभ्युज

सवारी लाइसेन्सको नयाँ आवेदनका लागि जेठसम्म पर्खनुपर्ने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन दुई महिनापछि मात्रै खुला हुने भएको छ । नयाँ आवेदन आगामी जेठ १ गतेबाट खुला गर्ने तयारी यातायात व्यवस्था विभागले गरेको छ ।

नयाँ आवेदन दिनेको चाप बढेको र छाप्न बाँकी रहेको लाइसेन्सको काम सम्पन्न गर्न विभागले अहिले नयाँ आवेदन बन्द गरेको छ ।

विभागले अहिले आवेदनको पालो कुरिरहेका परीक्षार्थीको परीक्षा लिइरहेको छ । नयाँ लाइसेन्सका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाख ७२ हजार पुगेको थियो । फाराम भरेकाको परीक्षाको पालो दुई वर्षपछिसम्म परेको थियो । यी काम वैशाखसम्म सम्पन्न गरेर छिटो परीक्षा दिने व्यवस्थाको तयारीमा विभाग रहेको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार बाँकी रहेका डेढ लाखप्रति लाइसेन्स छाप्ने काम पनि भइरहेको छ । जेठपछि आवेदन दिएको एक हप्तामै ट्रायल दिने प्रणाली निर्माण गर्न लागिएको छ ।

कोरोना महामारीका कारण २०७६ चैतपछि २०७७ पुससम्म आवेदन बन्द थियो । करिब एक वर्षपछि खुला गर्दा आवेदन दिनेको चाप एक्कासि बढेको थियो । कोरोनाका कारण २०७८ वैशाखदेखि बन्द भएको आवेदन कात्तिकमा खुला गरिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved