आयातीत संस्कार प्रबर्द्धन नगरौं, स्वदेशी प्रयोग गरौंः मन्त्री भुषाल

नेपालभ्युज

आयातीत संस्कार प्रबर्द्धन नगरौं, स्वदेशी प्रयोग गरौंः मन्त्री भुषाल

ललितपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत संस्कारलाई प्रबर्द्धन नगर्न आग्रह गरेकी छन्।

सिँचाइ दिवस तथा ६९औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले भनिन्, “स्वदेशमै उत्पादन हुने वस्तु पनि आयात भइरहेका छन्, त्यसो नगरौँ, आयातित संस्कार प्रबर्द्धन नगरौँ, स्वदेशमै उत्पादित खाद्यान्नको प्रयोग गरौँ, हाम्रो व्यवहारमा परिवर्तन गरौँ र हाम्रो अर्थतन्त्र प्रबर्द्धन गरौँ।”

व्यापार घाटा चुलिँदा अर्थतन्त्रमा नै चुनौती सिर्जना हुने भएकाले स्वदेशी उत्पादन प्रबर्द्धन गर्न र स्थानीय उत्पादनको उपभोगमा विशेष जोड दिनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री भुसालले भनिन्, “सिँचाइ विभागको तथ्यांकमा सन् २०१९/२०२० मा नेपालको कृषि व्यापार घाटा लगभग दुई खर्ब ५० अर्ब रुपैयाँ रहेकामा र सन् २०२१/२२ मा ३० प्रतिशतले वृद्धि भएर रु तीन खर्ब २५ अर्ब पुगेको छ, यो अत्यन्त चुनौतीको विषय भएको छ। अब थप व्यापार घाटा बढ्न नदिन पनि हामीले आयातलाई निरुत्साहित गर्नुपर्छ र स्वदेशी उत्पादनलाई प्रबर्द्धन गर्नुपर्छ।”

हालै सम्पन्न जनगणनाको प्रारम्भिक तथ्यांकले बसोबासको अवस्थामा फेरबदल ल्याएको उल्लेख गर्दै मन्त्री भुसालले देशको हिमाल र पहाडका कृषियोग्य जमिन बाँझो रहने र तराईको उर्वराभूमि खण्डीकरण भएर बसोबासमा परिणत हुने देखिएको बताइन्।

उनले बसाइँसराइको चुनौतीलाई सम्बोधन गर्नेगरी नीति विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्। देशको मुख्य आर्थिक आधार भनेको कृषि, जलविद्युत् र पर्यटन क्षेत्र भएकाले यी क्षेत्रको प्रबर्द्धनका लागि एकीकृत नीति तय गरेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आगामी दिनमा सबै स्थानको कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved