बल्ल पूरा भयो नेपालमै रेल चढ्ने सपना

आइतबारदेखि दैनिक दुई पटक आउजाउ हुने

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले संयुक्तरुपमा भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै आइतबारदेखि रेल सेवा सञ्चालन हुँदैछ। रेल दैनिक दुई पटक जयनगर–कुर्थासम्म चल्नेछ। जयनगरबाट ८ः३० र ३ बजे छुट्नेछ। कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्नेछ।

बल्ल पूरा भयो नेपालमै रेल चढ्ने सपना

जनकपुरधाम। ‘बल्ल पूरा हुने भो, नेपालकै रेलमा चढेर जयनगर घुम्न जाने सपना’ तीन वर्षदेखि पटकपटक मिति तय भएर पनि सञ्चालन हुन नसक्दा निराश बनेका महोत्तरी विजलपूराका रामपुजन महराले अपार खुशीका साथ भने।

रेल उद्घाटन हेर्न जनकपुर रेल्वे स्टेसन आएका हुन् उनी। महराले आफू यसअघि पनि रेल चलिरहेको भन्ने ठानेर हेर्न धेरै पटक आएर नपाएको गुनासो पोखे। उनले फागुन महिनादेखि यात्रुबिना ड्रायरन गरिरहेको रेलबारे सुनेर हेर्न आएको बताए। तर, कुन समयमा रेल आउनेजाने गरेकोबारे थाहा नहुँदा आएर पनि हेर्न नपाएर फर्कनु परेकाे सुनाए।

भोलि (आइतबार) देखि नियमित सञ्चालन हुने जानकारी पाएकाे उनने सुनाए। आफूले पनि रेल चढेर जयनगर घुमेर आउने योजना बनाएकाे बताए। उनले योजना सुनाए, ‘‘मैले सुनेको याे रेल जनकपुर कुर्थाबाट एकपटक बिहान जयनगर जान्छ रे। साँझ फेरि फर्किन्छ रे। म भोलि बिहान रेल चढेर जयनगर जान्छु, साँझ फर्किन्छु।’’ उनले आफू यसअघि कहिल्यै रेल नचढेको पनि सुनाए।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा आज (शनिबार)भर्चुअल माध्यमबाट रेल्वे सेवाको उद्घाटन गरेसँगै भोलि (आइतबार) देखि नियमित रेल सेवा सञ्चालन हुँदैछ। दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। आइतबारदेखि नै तालिकाअनुसार नियमित रेल चल्नेछ।

‘‘मैले सुनेको याे रेल जनकपुर कुर्थाबाट एकपटक बिहान जयनगर जान्छ रे। साँझ फेरि फर्किन्छ रे। म भोलि बिहान रेल चढेर जयनगर जान्छु, साँझ फर्किन्छु।’’ उनले आफू यसअघि कहिल्यै रेल नचढेको पनि सुनाए।

रेल चल्ने समय

रेलमा चढ्न पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने

जयनगर–कुर्था रेल्वे खण्डमा चल्ने रेलमा चढ्न आउने यात्रुलाई आफ्नो पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने भएको छ। खुला सिमानाका कारण सुरक्षा चुनौतीलाई दृष्टिगत गरी रेल चढ्दा पहिचान खुल्ने कागजात अनिवार्य गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक झाले बताए।

सुरक्षा र खुला सिमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र  बाेक्नुपर्छ। नागिरकता नभए सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ।

सुरक्षा र खुला सिमानाकालाई दृष्टिगत गर्दै नेपाली नागरिकले साथमा नागरिकता प्रमाणपत्र  बाेक्नुपर्छ। नागिरकता नभए सवारी चालक अनुमति पत्र, मतदाता परिचयपत्र वा अन्य पहिचान खुल्ने कागजात बोक्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ।

यस्तै आकस्मिक प्रवेशका लागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिस पत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको उनले बताए। दशदेखि १८ वर्ष उमेर मुनिका बालबालिकाको हकमा विद्यालयको फोटोसहितको परिचयपत्र अनिवार्य साथमा राख्नुपर्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले पनि भारत सरकारद्वारा जारी वैध राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचान पत्र वा कुनै आइडी कार्ड अनिवार्य बोक्नु पर्ने छ।

२० रुपैयाँदेखि ३ सय ५० रुपैयाँसम्म भाडा

जयनगरदेखि कुर्थासम्म चल्ने रेल सेवाको भाडादर कायम गरिएको छ।

हेर्नुहोस् भाडा लिस्ट

२ असोज २०७७ मा भारतीय कोकंण रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरेको रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन्। अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको छ। दुवै बोगीले करिब एक हजार ५०० यात्रु बोक्ने क्षमता छ। यसको गति रेलको लिक डिजाइनअनुसार १०० किलोमिटर प्रतिघण्टा रहे पनि जयनगर–कुर्था रेल स्टेसनको दूरी छोटो हुने भएकाले ७० देखि ८० किलोमिटर प्रतिघन्टासम्मको गति मात्रै चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

हाल ३५ किमी दूरीमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि बिजुलपूरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ।

यो डेमु (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) रेल हो। डेमु रेल दुवैतर्फबाट अर्थात् अगाडि–पछाडि दुवै दिशातर्फ गुड्छ। अन्तिम गन्तव्यमा पुगेपछि टर्निङ नगरी पछाडिको भागबाट अघि बढ्छ । यसको इन्जिन डिजेल र विद्युत् दुवै मार्फत सञ्चालन गर्न सकिन्छ। डिजेलले सञ्चालन हुने मेशिनले उत्पादन गरेको विद्युत् मार्फत चल्ने रेललाई डेमु रेल भनेर चिनिन्छ।

हाल ३५ किमी दुरीमा रेल सञ्चालन हुनेछ। कुर्थादेखि बिजुलपूरासम्म थप १७ किमी रेलमार्गको निर्माण अन्तिम चरणमा पुगेको छ र त्यो सकिएपछि ५२ किमीमा रेल सञ्चालन हुनेछ। कुर्थाबाट बिजुलपूरासम्मको निर्माण झन्डै सकिएको र अबको दुईचार महीनामा रेल सञ्चालन गर्न सकिने महाप्रबन्धक झाले जानकारी दिए। ३५ किमीमा आठ ठाउँमा रेल रोक्न सकिने छ।

एउटा स्टेसनबाट चार पाँच किलोमिटरमा अर्को स्टेसन आउँछ। यसको डिजाइन स्पिड यात्रुवाहक गाडीमा एक सय किमी प्रतिघण्टा रहेको छ। मालवाहक गाडीमा भने ६५ किमी प्रतिघण्टा रहने उनले जानकारी दिए। उनले भने, ‘‘त्यही रेलमार्गमा यात्रु लैजाँदा चाँडो लैजान सक्ने भयो भने सामान लैजाँदा बढी समय लाग्दछ।’’

डेढ वर्ष पहिले आइपुगेको रेल विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन। कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो। अहिले सबै किसिमका तयारी सकिएकाले सञ्चालनका लागि बाटो खुलेको हो।

यता रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुर रेल सञ्चालनको बाटो खुलेको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेको थियो।

आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा

जयनगर–कुर्था रेल सेवा सञ्चालन भएसँगै मधेस प्रदेशमा आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। भारतीय रेल सञ्जालसँग जोडिएकाले भारतका विभिन्न शहरमा नेपालीको सहज पहुँच हुनुको साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताए।

रेल सेवा सञ्चालनसँगै नेपाली भारतको राजधानी दिल्ली, पटना, बनारस, कलकत्तालगायतका शहरसम्म सहज यात्रा गर्न सकिने छन्। दैनिक भारतीय पर्यटक नेपाल आउने अध्यक्ष महासेठले जनाए।

रेल सेवा सञ्चालनसँगै नेपाली भारतको राजधानी दिल्ली, पटना, बनारस, कलकत्तालगायत शहरसम्म सहज यात्रा गर्न सकिने छन्। दैनिक भारतीय पर्यटक नेपाल आउने अध्यक्ष महासेठले जनाए।

रेल्वे सञ्चालनसँगै भारतीय खाद्यान्न र सरसमानहरूको आयात सहज हुने र प्रतिकिलो खाद्यान्नको भाउमा करिब १० रुपैयाँले सस्तो हुने विश्वास संघका अध्यक्ष जितेन्द्र महासेठको छ। यात्रुसँगै सामान पनि ढुवानी गर्नुपर्ने उनको माग छ। अध्यक्ष महासेठ भन्छन्, ‘‘दक्षिण भारतबाट ट्रकमा चामल आयात गर्दा प्रतिकिलो १६ रुपैयाँ ढुवानी खर्च लाग्छ तर, रेल मार्गबाट ल्याउँदा प्रतिकिलो ५ वा ६ रुपैयाँ मात्र पर्छ।’’

यस्तो छ नेपालमा रेल्वेको इतिहास

विसं १९८४ (ई. १९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेलवे नेपालको पहिलो रेलवे सेवा हो। तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो।

उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे। उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो।

नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रूपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपूरासम्म ५२ किलोमिटर सञ्चालन भयो। दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो।

जयनगर–जनकपुर–बिजलपूरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो। उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो। यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रूपमा सञ्चालन हुन थाल्यो। शुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो।

८ वर्ष अघिसम्म धनुषाको पूर्वी दक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रूपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो।

तर, २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएपछि रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर) मा सीमित हुन पुग्यो। नेपाल–भारतबीच सन् २०१० मा भएको सम्झौता अनुसार जयनगर–जनकपुर–भंगहा–बर्दिबास रेल मार्ग निर्माण तथा विस्तार आयोजना सुरु भएपछि २०७० साल माघ १७ गतेदेखि रेल सेवा बन्द भयो।

अहिले रेलमार्ग सुधार गरी जाने नेपाल भारतबीचको समझदारीअनुसार ब्रोड गेजमा यो रेलमार्गको निर्माण भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved