प्रदेश १ मा चुनावी तालमेल- केन्द्रकै मोडेलमा अघि बढे गठबन्धनका दलहरू

केही दिनअघि काठमाडौंमा बसेको गठबन्धनका शीर्ष नेताहरूले चुनावी तालमेल गरेर जाने निर्णय गरेका थिए। सोही अनुसार जिल्ला जिल्लामा सर्कुलर गरेका थिए। लगतै प्रदेश १ मा पनि जिल्ला स्तरका नेताहरू चुनावी तालमेलमा जुटेका हुन्।

प्रदेश १ मा चुनावी तालमेल- केन्द्रकै मोडेलमा अघि बढे गठबन्धनका दलहरू

विराटनगर। प्रदेश नं. १ मा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलको बैठकले आगामी निर्वाचनमा वडा तहसम्मै सहमति गरेर जाने निर्णय गरेको छ। सुनसरीको इटहरीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

केही दिनअघि काठमाडौंमा बसेको गठबन्धनका शीर्ष नेताहरूले चुनावी तालमेल गरेर जाने निर्णय गरेका थिए। सोही अनुसार जिल्ला जिल्लामा सर्कुलर गरेका थिए। लगतै प्रदेश १ मा पनि जिल्ला स्तरका नेताहरू चुनावी तालमेलमा जुटेका हुन्।

बैठकले गठबन्धनलाई वडा तहसम्मै कार्यान्वयन गर्नका निम्ति निर्वाचन संयन्त्र बनाएर प्रभावकारी भूमिका खेल्ने र त्यसका लागि वातावरण सहज बनाउन प्रदेशमा कार्यदल गठन गर्ने सहमति समेत गरेको छ। कार्यदलमा सबै दलका प्रदेशस्तरीय शीर्ष नेता सहभागी गरिने सहमति जुटेको छ।

सबै जिल्लामा सम्मानजनक गठबन्धन र तालमेललाई विशेष जोड दिने, अन्य दलहरूसँग पनि गठबन्धनका लागि आव्हान र वार्ता गर्ने निर्णय बैठकले गरेको छ। गठबन्धन बाहेकका दलहरू राप्रपा र सङ्घीय लिम्बुवान राष्ट्रिय मञ्च लगायतसँग पनि तालमेलको लागि छलफल गर्ने सहमति भएको नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले नेपाल भ्यूजलाई बताए। उनले भने, ‘‘बैठकमा गठबन्धनको मोडल कस्तो हुने भन्ने विषयमा सुझाव दिन कार्यदल निर्माण गरिएको हो।’’

कार्यदलमा कांग्रेसबाट प्रदेश सभापति उद्धव थापा र महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी र उपाध्यक्ष धर्म निरौला तथा जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ र उपाध्यक्ष उमेश थापा छन्। बैठकले प्रदेशका प्रमुखहरू रहेको अधिकार सम्पन्न अनुगमन संयन्त्र पनि निर्माण गरेको छ। संयन्त्रले गठबन्धन भित्रका पार्टीहरूले गर्न सक्ने गठबन्धन विरोधी कार्य र उम्मेदवारी दर्ता पश्चात् त्यसको विरुद्धमा जानेहरूलाई नियन्त्रणको काम गर्ने जनाइएको छ।

सबै जिल्लामा छलफल शुरु

गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले कसरी तालमेल गर्ने, कहाँ कसले प्रमुख, उपप्रमुख, वडा कता लिने भन्ने कुराको विषयमा छलफल प्रारम्भ भएको बताए।

उनले १ नम्बर प्रदेशका सबै जिल्लामा पनि सोही हिसाबले छलफल सुरु भएको जानकारी दिए। केन्द्रको निर्णय अनुसार प्रदेश १ का सबै तहमा गठबन्धनको विकल्प नभएको उनको भनाइ थियो।

धनकुटामा संयन्त्र निर्माण

धनकुटामा भने गठबन्धनका ४ दलले जिल्लामा संयन्त्र निर्माण गरेर वडा सदस्यसम्मका उम्मेदवारकै नामावली एक हप्ताभित्र तयार पर्ने निर्णय गरेको छ। शुक्रबार धनकुटामा बसेका चार दलको बैठकले यस्तो निर्णय गरेको नेकपा माओवादी केन्द्रका नेता हेमराज भण्डारीले जानकारी दिए।

‘‘हामीले धनकुटामा वडा तहसम्मै गठबन्धन गरेर जाने निर्णय गरिसकेका छौँ,’’ भण्डारीले भने, ‘‘जिल्लाका दलका अध्यक्ष तथा सभापतिहरू सम्मिलित संयन्त्र निर्माण भएको छ, त्यसले एक हप्ताभित्रमा सबै पालिकाका उम्मेदवारको नाम लिस्ट बुझाउने छ।’’

मोरङमा ४ दलको बैठक

मोरङमा रहेका गठबन्धन दलमध्ये कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीबीच विराटनगरस्थित होटेल इष्टर्न स्टारमा शुक्रबार छलफल भएको छ। माथिको निर्णयलाई कसरी कार्यान्वयन गरेर जाने भन्ने विषयमा प्रारम्भिक छलफल भएको नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मीले जानकारी दिए।

बैठकमा कांग्रेसका तर्फबाट मोरङ सभापति डिकबहादुर लिम्बू, माओवादीबाट मोरङ संयोजक विजय विश्वास, सचिव प्रकाश पौडेल, नेकपा एकीकृत समाजवादीका तर्फबाट रेग्मीसहित मोरङका अध्यक्ष चन्द्रवीर राई तथा जनता समाजवादीका तर्फबाट मोरङका अध्यक्ष राजकुमार यादवलगायतको उपस्थिति थियो।

‘‘बैठकले छिट्टै अर्को बैठक बस्ने र सहमति गरेर निर्वाचनमा जाने विषयमा छलफल भएको छ,’’ नेकपा एकीकृत समाजवादीका नेता रेग्मीले भने, ‘‘मोरङमा चार दलीय गठबन्धन हुने निश्चित भयो।’’

छलफल झन्डै २ घण्टा चलेको थियो। बैठकमा बोल्ने दलका नेताहरूले गठबन्धन गर्ने विषयमा आ–आफ्ना पार्टीभित्र पनि छलफल गर्ने र सहमतिका साथ आउनुपर्ने बताएका थिए । सुनसरी जिल्लामा पनि गठबन्धन दलबीच छलफल शुरु भएको माओवादी नेता शिवकुमार डाँगीले बताए। झापामा पनि आज चार दलीय गठबन्धनमा छलफल हुँदै छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved