मोरङ औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ शुरु, उद्योगीहरू मारमा

मोरङ औद्योगिक क्षेत्रमा ‘लोडसेडिङ’ शुरु, उद्योगीहरू मारमा

विराटनगर। सुनसरी मोरङ औद्योगिक करिडोरमा पछिल्लो एकसातादेखि अनियमित विद्युत् आपूर्तिका कारण उत्पादनसँगै रोजगारी घुम्ने अवस्था आएको उद्योगीहरूले बताएका छन्। दैनिक १२ घण्टासम्म भइरहेको लोडसेडिङ औद्योगिक क्षेत्रले धान्न नसक्ने भन्दै उद्योगीहरूले सरकार र नेपाल विद्युत प्राधिकरणले यसको समाधान खोज्नुपर्ने माग गरेका हुन्।

उद्योगीहरूको छाता संस्था उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरेर औद्योगिक क्षेत्रमा हुने लोडसेडिङको सेड्यूल यकिन गरिनुपर्ने माग गरेका छन्।

भारतबाट महँगोमा विद्युत् खरीदका लागि बोलकबोल दररेट प्रस्ताव गर्दासमेत विद्युत् नपाएको भन्दै प्राधिकरणले एकसातादेखि करिडोर क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ गरिरहेको उद्योगीहरूको गुनासो छ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले कोभिडको महामारीबाट थला परेका उद्योग व्यवसाय क्षेत्रले केही महीनायता भोग्नु परेको वित्तीय संकट तथा बढ्दो ब्याजदरसँगै दैनिक १२ घण्टा लोडसेडिङको समस्यासँगै उद्योग सञ्चालन गर्न असजिलो स्थिति आएको बताए। तत्काल विद्युत आपूर्ति सुचारु गर्नेतर्फ सरकार गम्भीर नभए उद्योगहरू बन्द गर्न बाध्य स्थिति आउने अध्यक्ष प्याकुरेलको चेतावनी थियो।

सरकार र प्राधिकरणले प्रशस्त विद्युत् उपलब्ध गराउने आश्वासन दिएर अहिले भारतबाट विद्युत् नआउँदाको स्थिति भनाइ र व्यवहारमा मेल नखाएको अर्का उद्योगी पवन सारडाको भनाइ थियो। पत्रकार सम्मेलनमा सारडाले विद्युत् समस्या हुँदैन भनेर लगानी गर्न आग्रह गर्ने सरकार नै विद्युत्का कारण फेल हुने स्थिति आएको आरोप लगाए।

पत्रकार सम्मेलनमा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले सरकारले दैनिक १२ घण्टाको लोडसेडिङलाई औद्योगिक क्षेत्रमा ६ घण्टामा झार्नुपर्ने माग गरे। उनले दैनिक लोडसेडिङको यकिन तालिका निकालेर औद्योगिक क्षेत्रको आपूर्ति प्रणालीलाई स्थिर बनाउनुपर्ने माग गरे। विद्युत अभाव भएको कुरा उद्योगी–व्यवसायीले महसुश गरेका छौं,” अध्यक्ष रिजालले भने, “तर, कुनै सेड्युलबिना जथाभावी लाइन काट्ने कुरा रोकेर दैनिक निश्चित समय तोकिनुपर्दछ।

विद्युतको मूल्यवृद्धि भएको जानकारी गराएर कटौती गर्न नमिल्ने उद्योगीहरू बताउने गर्छन्। उद्योगलाई आवश्यक विद्युत् उपलब्ध गराउने दायित्व सरकारको भएको बताउँदै पिक आवरका लागि खरीद गरिएको विद्युत उद्योगीहरूले उपयोग नगर्ने उनीहरूको भनाइ छ।

सरकारले भारतबाट खरीद गर्ने विद्युत पिक आवरका बेलुका ८ बजेदेखि १२ बजेसम्मको मूल्य २० रुपैयाँ आईसी छ, उद्योग संगठनका अध्यक्ष प्याकुरेलले भने, “त्यो विद्युत उद्योगले उपयोग गर्दैनन् तर अन्य समयमा आवश्यक विद्युत् दिनुपर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved