केही सकारात्मक सन्देश दिएर फर्किए चिनियाँ विदेशमन्त्री वाङ

नेपालभ्युज

केही सकारात्मक सन्देश दिएर फर्किए चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं । चिनियाँ परराष्ट्रमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन्। दक्षिण एशियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै नेपाल भ्रमणमा आएक चिनियाँ परराष्ट्रमन्त्री नेपाल भ्रमणमा आंशिक सफल हुँदै स्वदेश फर्किका हुन्।

नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग उनले भेटवार्ता गरेका थिए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि उनले भेटवार्ता गरेका थिए।

नेपालमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएसँगै नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाल भ्रमणका क्रममा केही सकारात्मक सन्देश दिएका छन्।

नेपालले दुई देशबीचका केही स्थानमा सीमा मिचिएको दाबी गर्दै आएकोमा नेपालस्थित चिनियाँ दूतावासले त्यो अस्वीकार गर्दै आएको थियो। चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणका क्रममा उनका नेपाली समकक्षीसँगको भेटमा दुई देशबीचको सीमा अनुगमन गर्न उर्पयुक्त समयमा टोली गठन गर्न उनी सहमत भएका छन्। भने नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धतासँगै चिनियाँ परराष्ट्रमन्त्री यी स्वदेश फर्किएका छन्।

भूराजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले सीमा समस्या सम्बोधन हुनु नेपालका लागि सकारात्मक पक्ष भएको बताउँछन्। “यसअघि दुई देशबीच सीमा समस्या रहेको नेपालले मात्रै भन्दै आएको थियो,” भूराजनीतिक विश्लेषक वाग्ले भन्छन्, “चिनियाँ परराष्ट्रमन्त्रीले सीमा अनुगमन गर्न स्वीकार गर्नुलाई सकारात्मक मान्न सकिन्छ।”

नेपाल भ्रमणमा क्रममा चीनले अघि सारेको ‘शताब्दी’ को विकास योजना भनिएको बीआरआई सम्बन्धी भने खास प्रगति भएन। नेपाल सरकारले निर्वाचन नजिकिदै गएका कारण बीआरआईका विषयमा केही समयपछि छलफल गर्न चिनियाँ परराष्ट्रमन्त्री यीसँग कूटनीतिक तर्क गर्यो। नेपाल सरकारले उक्त प्रस्तावलाई चीनले स्वीकार गरेको देखिन्छ।

नेपाल सरकारले चीनसँग भएको बीआरआई सम्झौतालाई अगाडि बढाउन थप पहल नगरे पनि आइतबार चिनियाँ परराष्ट्रमन्त्री यीसँगको भेटमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टीका नेता ओली र दाहालले भने त्यस विषयमा आफ्नो पार्टीको प्रतिबद्धता व्यक्त गरे।

यस्तै नेपाल भ्रमणका क्रममा चिनियाँ परराष्ट्रमन्त्रीले नेपालका कम्युनिष्ट पार्टीको एकताका निम्ति भूमिका खेल्ने अनुमान पनि निस्तेज भएको छ। नेपालका भ्रमणका क्रममा औपचारिक रूपमा प्रस्तुत भएका चिनियाँ परराष्ट्रमन्त्री वाङको भ्रमणको समयमा त्यस्तो संकेत नमिलेको जानकार स्रोत बताउँछ। “कम्युनिष्ट पार्टीको एकतका लागि नेपालमा नै आउनुपर्ने आवश्यकता छैन, विभिन्न माध्यमबाट पनि छलफल गर्न सकिन्छ, चिनियाँ परराष्ट्रमन्त्रीको नेपाल भ्रमणका समयमा त्यस विषयमा छलफल भएन,” माओवादीनिकट एक नेताले भने।

यता कूटनीतिक विश्लेषकहरुको ठम्याई पनि त्यस्तै छ। चिनियाँ परराष्ट्रमन्त्री यीले नेपाल भ्रमणका समयमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष दाहाललाई भेट्दा हालै गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत अन्य नेतालाई भने भेट गरेनन्। त्यसले पनि उनको यो भ्रमणमा कम्युनिष्ट पार्टीबीचको एकताको प्रयास छैन भन्ने आधार मिलेको कूटनीतिक क्षेत्रका एक जानकार बताउँछन्।

यता चीनका लागि नेपालका पूर्वराजदूत निरञ्जन थापा चीनले नेपालको मुख्य शक्तिसँग मात्रै सम्बन्ध विस्तार गर्ने चाहना राखेको संकेतका रूपमा यसलाई बुझ्नुपर्ने बताउँछन्। “यसअघिको नेपाल भ्रमणका समयमा पनि उनले प्रधानमन्त्री, सत्तारुढ दलका प्रमुख नेता र प्रमुख प्रतिपक्ष दलका नेतासँग मात्रै भेटेका थिए,” पूर्वराजदूत थापा भन्छन्, “यो पटकको भ्रमणमा पनि उनले अन्य दलका नेतालाई भेट नगरेर त्यही सन्देश दिन खोजेको रूपमा बुझ्नुपर्छ।”

चिनियाँ परराष्ट्रमन्त्री यी नेपाल भ्रमणमा आउनुअघि भारतमा थिए। भारतमा रहँदा उनले आफ्ना भारतीय समकक्षीसँगको भेटघाटमा चीन भारत प्लस वान अवधारणाका विषयमा छलफल गरेका थिए। सन् २०१७ मा चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको उहानमा भएको सम्मेलनबाट आएको यो अवधारणालाई पुनः अघि बढाउने इच्छा चीनले राखेको देखिन्छ।

भारतमा रहँदा चिनियाँ परराष्ट्रमन्त्री यीले “चीनले एक धुव्रीय एशिया चाहेको छैन,” भन्ने अभिव्यक्ति दिएका थिए। सँगै उनले भनेका थिए, “चीन भारतलाई यस क्षेत्रको परम्परागत शक्तिका रूपमा स्वीकार गर्छ।” नेपालमा कम्युनिष्ट पार्टीको एकताका निम्ति यीको भ्रमणले भूमिका खेल्ने चर्चा चल्दै गर्दा त्यस विषयमा ठोस कुरा नहुनुका पछाडि पनि चीन-भारत ‘प्लस वान’ अवधारणाले काम गरेको विश्वास चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्य व्यक्त गर्छन्।

चिनियाँ परराष्ट्रमन्त्री यीको नेपाल भ्रमणको अर्को प्रमुख विषय भनेको चीनको सुरक्षाको चासो थियो। नेपालको संसद्ले एमसीसी पारित गर्दा त्यसलाई चीनले आफ्नो सुरक्षामाथिको खतराका रूपमा बुझेको थियो। नेपालमा एमसीसी पारित गर्न अन्तिम रस्साकस्सी चल्दै गर्दा चीनको परराष्ट्र मन्त्रालयबाट दुई पटकसम्म एमसीसी लक्षित अभिव्यक्तिलाई पनि त्यही रूपमा व्याख्या गरिएको थियो।

एमसीसी पारित भएसँगै चीनविरुद्ध नेपालमा बढेको प्रदर्शनपछि पनि चीन संशकित भएको देखिन्छ। यस्तो अवस्थामा नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री यीले आफ्नो देशको सुरक्षाको प्रत्याभूति भने नेपाल भ्रमणका समयमा जुटाउन सफल भएका छन्।

नेपालका प्रधानमन्त्रीदेखी सत्तारुढ दलका एउटा नेता र प्रमुख प्रतिपक्षी दलका नेताबाट चीनले सुरक्षाका प्रत्याभूति गरेको छ। आफ्नो सुरक्षाप्रति चासो राख्दै चिनियाँ परराष्ट्रमन्त्री यीले शुक्रबार १२ चैतमा नेपालका परराष्ट्रमन्त्रीसँग भएको भेटवार्तामा नेपालमार्फत चीनको सुरक्षाका खलल पुर्‍याउन चाहने शक्तिविरुद्ध चीन उभिने प्रतिक्रिया दिएका थिए।

यस्तै आफ्ना नेपाली समकक्षीसँगको भेटमा उनले, ‘चीन नेपालको आन्तरिक मामिला नेपाली जनताले नै निर्णय गर्नुपर्छ भन्नेमा विश्वास गर्छ। नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र आन्तरिक मामिलामा खलल पार्ने कुनै पनि प्रयासको चीनले विरोध गर्छ। नेपालमा हुने भूराजनीतिक खेल विरुद्ध पनि चीन उभिन्छ, ’ भन्ने सम्मको प्रतिक्रिया दिएको चिनियाँ सरकारी समाचार संस्था हिन्ह्वाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved