सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गर्दैछः एमाले सचिव भट्टराई

नेपालभ्युज

सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गर्दैछः एमाले सचिव भट्टराई

हेटौंडा। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल मकवानपुरले शनिबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धनले चुनाव सार्ने बहानाको खोजी गरिरहेको आरोप लगाएका हुन्।

स्थानीय तहको चुनावको मिति नजिकिँदै गरेको सन्दर्भमा सर्वोच्चमा अझै मुद्दा रहेको स्मरण गराउँदै उनले सर्वोच्चले संवैधानिक व्यवस्था बाहिर गएर फैसला नगर्ने विश्वास व्यक्त गरे।

६ जेठभित्र स्थानीय तहमा नया जनप्रतिनिधिको सपथ ग्रहण भइसक्ने उनको विश्वास थियो। भट्टराईले एमालेले आन्तरिक रुपमा चुनावको तयारी अगाडि बढाइसकेको जानकारी दिए।

उनले भने, “वैशाख ९ गते एकैदिन देशभर घोषणापत्र सार्वजनिक गर्नेछौं।”

स्थानीय तहको निर्वाचनबाट एमालेलाई मधेशमा ठूलो सफलता मिल्ने उनको दाबी थियो। “पार्टी फुटको केही असर पक्कै परेको छ। अन्य पार्टी छोडेर एमालेमा आउने क्रम पनि त्यत्तिकै बढेको छ”, उनले भने, “छाडेर गएका भन्दा बेसी हाम्रो पार्टीमा आइसकेका छन्। मधेशमा हामी थप बलियो भएका छौं।”

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग नजिक हुन्छौं भनेर शेरबहादुर देउवालाई तर्साउने काम बन्द गर्न आग्रह गरे।

“कांग्रेस एमालेबीच तालमेल हुँदैन। प्रमुख शक्तिबीच प्रतिस्पर्धा आवश्यक छ”, उनले भने।

भट्टराईले आफ्नो पार्टीले घोषित रूपमै गठबन्धन नगर्ने र आवश्यकताअनुसार गर्ने अधिकार तल्लो तहलाई दिने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved